कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

काठमाडौँ — नेपालमा कोरोना भाइरसको ‘डबल म्युटेन्ट भेरिएन्ट’ भेटिएको छ । मुलुकमै पहिलो पटक कोरोनाको डबल म्युटेन्ट भेरएन्ट भेटिएको हो ।

नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

ललितपुरबाट संकलन गरिएको नमुनामा कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’ फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए ।

बुधबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा नयाँ भेरिएन्टको अवस्थाका बारेमा जानकारी दिँदै निर्देशक पौडेलले भने, ‘भारतमा पत्ता लागेको र भारतले भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा नगरिसकेको डबल म्युटेन्ट भेरियन्ट ललितपुरबाट संकलन गरिएको नमुनामा पुष्टि भएको छ । पछिल्लो समयमा नेपालमा संक्रमणमा वृद्धि हुनुमा पनि बेलायतमा पत्ता लागेको नाम गरिएको भेरियन्ट मुख्य रुपमा जिम्मेवार रहेको छ ।’

एउटै भाइरस परिवर्तन भएर दुई प्रकारको स्वरूप देखिनुलाई डबल म्युटेन्ट भेरिएन्ट भएको भनिन्छ ।तीव्र गतिले फैलिने र कडा रूपमा देखिन सक्ने नयाँ प्रजातिको जोखिममा पछिल्लो समय स्कुले बालबालिका उल्लेख्य संख्यामा देखिएको पौडेलले बताए । तिनै बालबालिकाबाट अभिभावक र समुदायमा संक्रमण सार्न सक्ने जोखिम पनि देखिएको छ ।

निर्देशक पौडेलका अनुसार एसजिन नेगेटिभ भएका १० र एसजिन पोजिटिभ भएका ५ वटा नमुनाको जिनोम सिक्वेन्सिङका लागि हङकङस्थित विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त प्रयोगशालामा पठाइएको बताए । तीमध्ये २१ देखि ५९ वर्ष उमेर समूहका ९ जनामा यूके भेरिएन्ट (बी.१.१.७) देखिएको पौडेलले जनाकारी दिए । ती ९ जनामध्ये कास्कीका २ जना, काठमाडौंका ४ जना, भक्तपुरमा २ जना र नुवाकोटका १ जना छन् । त्यस्तै दार्चुलाबाट संकलन गरिएको एउटा नमुनामा भने ‘भेरिएन्ट अफ नन कन्सर्न’ देखिएको उनले बताए ।

नयाँ भेरिएन्ट देखिएका संक्रमितको विवरणका अनुसार कन्ट्याक्ट ट्रेसिङको काम सुरु भएको पनि निर्देशक पौडेलले बताए । उनका अनुसार हङकङ पठाइएका नमुनामा अहिलेसम्म अफ्रिका (बी.१.३५१) र ब्राजिल (पी.१) को भेरिएन्ट भने पाइएको छैन ।

काठमाडौंमा संकलित ७६ नमुनामा ४८ जनामा यूके भेरिएन्ट पाइएको पनि निर्देशक पौडेलले जानकारी दिएका छन् । यूके भेरिएन्ट देखिनेमा ४ वर्षमुनिका २ जना, ५–९ वर्षका १ जना, १०–१४ वर्षका ३ र १६–१९ वर्षका ४ जना छन् ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ४ हजार २८९ पीसीआर परीक्षणमा ५ सय ८० जनामा संक्रमण देखिएको जनाए । उनका अनुसार सोही अवधिमा एन्टिजेन विधिबाट गरिएको ४ सय ५१ परीक्षणमा २३ जना संक्रमित देखिएका छन् । पीसीआर र एन्टिजेनबाट गरिएको परीक्षणबाट २४ घण्टामा ६ सय ३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : वैशाख १, २०७८ २३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?