पहिलो पटक देखियो ‘डबल म्युटेन्ट भेरिएन्ट’

अतुल मिश्र

काठमाडौँ — ललितपुरमा संकलन गरिएको नमुनामा कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’ फेला परेको छ । मुलुकमै पहिलो पटक यस्तो भेरिएन्ट भेटिएको हो । यो संक्रमणको विकास नेपालबाटै भएको हो वा भारतसँग सम्बन्धित छ भनेर स्वास्थ्य मन्त्रालयले अनुसन्धान सुरु गरेको छ । मन्त्रालयका अनुसार नमुना प्रमाणित गर्न हङकङ पठाइएको थियो ।

पहिलो पटक देखियो ‘डबल म्युटेन्ट भेरिएन्ट’

‘डबल भेरिएन्ट पाइएका व्यक्तिको यात्रा इतिहास, कन्ट्याक्ट ट्रेसिङलगायत विस्तृत जानकारी लिएर संक्रमणको विकास स्थलबारे खोजी गर्दै छौं,’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने, ‘विदेश पठाइएको नमुनामा हालसम्म अफ्रिका (बी.१.३५१) र ब्राजिल (पी.१) को भेरिएन्ट भने पाइएको छैन ।’

डबल म्युटेन्ट भेरिएन्ट भनेको एकै भाइरस परिवर्तन भई दुई प्रकारको स्वरूप देखिनु हो । भाइरसले आफूलाई लामो समयसम्म प्रभावकारी बनाउन आफ्नो जेनेटिक संरचनामा परिवर्तन गरिरहन्छ । आफू जीवित रहिरहन स्वरूप फेरेर बलियो बनाउँदै जान्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार नेपालसहित १३२ देशमा कोरोनाको यूके भेरिएन्ट (बी.१.१.७) देखिइसकेको छ । यो भेरिएन्टबाट संक्रमितमा जटिलता देखिने, अस्पताल भर्ना हुने र मृत्युदर बढ्ने जोखिम रहेको डब्लूएचओले जनाएको छ । नेपालमा एउटा नमुनामा डबल म्युटेन्ट भेरिएन्ट देखिनुले अन्यमा पनि यस्तो संक्रमण छ भनेर बुझ्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हालसम्म काठमाडौंमा संकलित ७६ नमुनामा ४८ जनामा यूके भेरिएन्ट पाइएको छ । यसको संक्रमण बालबालिकामा समेत उल्लेख्य छ । यूके भेरिएन्ट देखिनेहरू ४ वर्षमुनिका २ जना, ५ देखि ९ वर्षका १ जना, १० देखि १४ वर्षका ३ र १६ देखि १९ वर्षका ४ जना छन् । यस्तै, पोखरामा संकलिन १७४ नमुनामध्ये १०५ नमुनामा यूके भेरिएन्ट पाइएको छ । त्यहाँ भने यो भेरिएन्ट देखिएकामध्ये ५१ जना १० देखि १४ वर्षका छन् । नयाँ भेरिएन्टबाट संक्रमितहरू ४० वर्षभन्दा मुनिका रहेकाले समयमै सतर्कता नअपनाए रोगको जटिलताले अस्पतालले थेग्नै नसक्ने अवस्था आउन सक्ने ईडीसीडीका निर्देशक डा. पौडेलले बताए । आईसीयू र भेन्टिलेटरमा उपचार गराउनेमध्ये आधाजति ५० वर्षभन्दा मुनिका छन् । बुधबारसम्म सघन उपचारमा रहेकाको संख्या १०५ पुगेको छ, जसमध्ये ८० जना आईसीयू र २५ जना भेन्टिलेटरमा छन् ।

हाल वाग्मती र लुम्बिनी प्रदेशमा सघन उपचार गराउनेहरूको संख्यामा वृद्धि भएको छ । वाग्मतीमा बुधबार ४१ जना आईसीयू र १८ जना भेन्टिलेटर गरी कुल ५९ जना सघन उपचारमा छन् । लुम्बिनीमा ३६ जना आईसीयू र ५ जना भेन्टिलेटर गरी ४१ जना सघन उपचारमा छन् । यसैबीच, पछिल्लो समय संक्रमितमा नयाँनयाँ भेरिएन्ट देखिएसँगै नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘नेपालमा कोभिडको दोस्रो लहर सुरु भइसकेको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले भने, ‘सरदर ४ हजार नमुनामा ५–६ सय पोजिटिभ केस देखिन थाल्यो, यो दोस्रो लहर सुरु भइसकेको संकेत हो ।’ प्रायःजसो मुलुकमा पहिलो लहरको दाँजोमा दोस्रो लहर बढी खतरनाक देखिएको विज्ञहरूको भनाइ छ ।

मुलुकमा बुधबार तीन जनाको मृत्यु हुनुका साथै ४ हजार २ सय ९९ नमुनाको पीसीआर परीक्षण गर्दा १३.४९ प्रतिशत अर्थात् ५ सय ८० नमुनामा संक्रमण देखिएको छ । यसअघि मंगलबार १०.४८ प्रतिशत, सोमबार ११.३२, आइतबार ९.६९ र शनिबार ९.५४ प्रतिशत संक्रमण दर थियो । संक्रमण उल्लेख्य रूपमा बढेको भन्दै डा. गौतमले १०–१५ दिनमा काठमाडौंको अवस्था धेरै अप्ठ्यारो हुने चेतावनीसमेत दिए । हाल कोभिड संक्रमण भएर बूढापाका मात्र नभई युवा र बच्चाहरूसमेत आईसीयूमा भर्ना भएका छन् । ‘स्वास्थ्य मन्त्रालयले सरकारलाई कोभिडको बढ्दो संक्रमणबारे जानकारी गराइसकेको छ,’ उनले भने, ‘तुरुन्त स्कुल बन्द गर्नुपर्छ । ढिलो भयो । ज्यानका अगाडि व्यापारको कुरा गरिनु दुःखद हो ।’

प्रकाशित : वैशाख २, २०७८ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?