कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

मह शिकार : अग्ला भीरमा जोखिमको खेल 

आश गुरुङ

लमजुङ — लमजुङको बेंसीसहर नगरपालिका–१ उदिपुरदेखि दोर्दी गाउँपालिका केन्द्र नौथर शेरा हुँदै करिब २२ किलोमिटरको यात्रामा पुगिन्छ दोर्दी गाउँपालिका-८ को टापगाउँ । 

मह शिकार : अग्ला भीरमा जोखिमको खेल 

गाउँबाट करिब ५ किलोमिटर दूरीमा रहेको पिर्क्वे चे र त्यसपछि २० मिनेटमा हिँडेर पुगिने छौंदी कोइरो (महभीर) मा टापगाउँका बासिन्दाले भीरको मह काढ्छन् ।

समुद्री सतहदेखि २ हजार मिटर उचाईको उक्त कोइरो वरपर अन्य ठाउँमा पनि भीरमौरी छन् । टापगाउँमा ९१ घरधुरी छन् । धेरै वैदेशिक रोजगारीमा रहेपनि केही युवा गाउँमै छन् ।

टाउको नै रिङ्ग्याउने करिब डेढसय मिटर अग्लो भीरको सिरानबाट प्रों (चोया बाटेर बनाइएको डोरी) च्याप्दै झरेका २५ वर्षीय डिलबहादुर गुरुङलाई खासै डर लागेन । उनी बेला–बेला सुरक्षाका लागि बाँधिएका ‘हार्नेस बेल्ट’ हेर्दै थिए ।

मौरीलाई हटाउँदै ठूलो निगालोको टुप्पोमा राखिएको पेरुङ्गु (चोयाबाट निर्मित कुनै वस्तु राख्ने भाँडा)लाई महनेर पुर्‍याउँदै अर्को निगालोको टुप्पोले घोचेर उनले मह खसाले । डोरीमा बाँधिएको पेरुङ्गो जब भूइँसम्म छोडियो तब, मह हेर्नेको घुइँचो लाग्यो ।

मह काढ्ने बेला आफ्नो आवाजलाई डोरी छोड्ने, तल खोला किनारमा बस्नेले नसुन्ने र ईशारा नबुझ्दा भने समस्या हुने गर्छ । उनले छौंदी कोइरोमा ६ घण्टा झुण्डिएरै भीर मह काढे । भीरदेखि डर लाग्नेहरु मह काढ्दा तल हेर्दैनन्, किनकी टाउको रिङ्ग्याउँछ । मह काढ्दा मौरी र भीरदेखि डर लाग्नेहरु भीर चढ्न सक्दैनन् ।

विशेषगरी असोज–कात्तिक र वैशाख–जेठमा वर्षको २ पटक भीरमह काढिन्छ । यो महको माग धेरै छ । पछिल्लो समय विदेश निर्यात समेत भइरहेको छ ।

भीरमह काढ्दा स्थानीयले सिमेभूमि (वनदेवी) को पूजा गर्छन् । यसो गर्नाले प्रकृतिले कुनै घटना–दुर्घटना हुन नदिने उनीहरुको विश्वास छ । गुरुङ पुरोहितहरुका अनुसार गुरुङ जातिको पौराणिक ‘क्हार्ब पे’ कथामा गुरुङ र भीरमौरीको साइनो र सम्बन्धका बारेमा ब्याख्या गरिएको पाइन्छ ।

यस विषयमा आख्यानकार तीर्थ गुरुङले ‘आपा क्हार्प’ नामक पुस्तक लेखिसकेका छन् । भीरमह स्वास्थ्यबर्द्धक र चिसोका लागि अचुक औषधिको रुपमा लिइन्छ । मह धेरै खाँदा लाग्ने भएकाले एकपटकमा आधा चम्चामात्रै खान गाउँले सुझाव दिन्छन् ।

प्रकाशित : श्रावण ७, २०८१ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×