२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मलिएको छः महासचिव चन्द

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको टिप्पणी गरेका छन् । 

अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मलिएको छः महासचिव चन्द

शनिबार जनश्रम कृषि सहकारी संस्था लिमिटेडले गरेको कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली विषयक अन्तरसंवादमा बोल्दै महासचिव चन्दले आर्थिक दृष्टिकोण र आर्थिक निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको बताएका हुन् । ‘अर्थतन्त्रको कुरा गर्नेबित्तिकै आर्थिक दृष्टिकोण, आर्थिक निर्माण, पुँजी निर्माणको कुरा गर्नेबित्तिकै दुईवटा कुरा हो । एउटा, राज्यको कुरा हो । एउटा, संस्था र नागरिकको कुरा हो । राज्य अल्मलिएको देख्छौं हामी । राज्यले गरिराखेको छ तर अल्मलिएको देख्छौं हामी । बजेट आयो । बजेटको बारेमा यति धेरै विवादास्पद कुराहरु छन् अहिले । राम्रा पनि छन् त्यहाँ,' उनले भने, 'तर सरकारमै बसिरहेका पार्टीहरु, उनकै नेताहरु, नेताहरु पनि कस्तो भन्नुहुन्छ भने निर्णायक प्रभाव पार्ने खालका नेताहरुले आलोचना गरिरहेका छन् । आलोचना पनि निराशापूर्ण छ । अल्मलिएको छ ।'

उनले आगामी आर्थिक वर्षको बजेटको सरकारमा सहभागी दलका प्रभावशाली नेताहरुले नै आलोचना गरिरहेको भन्दै नागरिकले बजेटबाट के आशा राख्ने भनी प्रश्न गरे । उनले १२ खर्बको राजस्व र १८ खर्बको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्ने खालको नदेखिएको बताए । 'बजेटमाथि यति ठूलो आक्रमण छ कि अहिले । बजेटले केही पनि गर्दैन भन्दाभन्दै बेकारको, वाहियात, हावादारी भन्नेसम्म गइसक्यो । सरकारमै बसेका नेताहरु, मन्त्री भएकै मान्छेहरुले यो बजेट काम छैन भन्न थालेपछि अब नागरिकले के आशा राख्ने आर्थिक क्षेत्रमा ? सरकारको नेतृत्व गरेका र प्रतिपक्ष सबैका ट्रेन्ड हेर्नुभयो भने आर्थिक परिचालन गरेर १२ खर्बको राजस्व र १८ खर्बको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्नेखालको देखिँदैन । धेरै ठूलो विचलन हुने देखिन्छ अहिलेको तर्कहरु हेर्दा ।'

उनले सरकारमा सहभागी मान्छेहरुको कुरा सुन्दा केही समयपछि सरकार भताभुंग हुने हो कि भन्ने देखिएको बताए । आफूहरु सरकारसँग मिलेर काम गर्न चाहेको भन्दै सरकारले मद्दत गरेमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने र परिणाम आउने गरी कृषि क्षेत्रबाट योगदान गर्ने उनको भनाइ थियो ।

प्रकाशित : असार १, २०८१ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x