२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्नुपर्ने हो भन्ने मेसो छैन : महामन्त्री थापा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफू किन प्रधानमन्त्री भएको हुँ भन्ने नै थाहा नभएको टिप्पणी गरेका छन् । 

जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्नुपर्ने हो भन्ने मेसो छैन : महामन्त्री थापा

शनिवार कांग्रेस नागार्जुन नगर कार्यसमितिले गरेको प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्री दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताए । उनले देशको राष्ट्रिय अर्थतन्त्रको अवस्था बेहाल भएको बेला समेत प्रधानमन्त्री दाहालले प्रधानमन्त्री नै बन्नेबाहेक अन्य काममा कुनै सक्रियता नदेखाएको आरोप लगाए ।

उनले भने, ‘देशको अर्थतन्त्रको हिसाव किताव बिग्रँदै गर्दा त्यसले राजनीतिलाई भारी बोकाउँछ र आगामी दिनमा यो थप बढ्दै जानेवाला छ । हामी प्रतिपक्षमा छौँ । माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन । किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन । के को लागि हुनुभएको हो ? के गर्ने हो ? उहाँ प्रधानमन्त्री नभए के हुन्छ अहिले ? केही पनि छैन ।'

उनले सरकारमा सहभागी दल नेकपा एमालेले सरकारले जुनियर मन्त्रीहरु पठाएर सरकारको जिम्मेवारीबाट पन्छिन खोजिरहेको आरोप लगाए । उनले भने, 'एमाले सरकारमा सामेल त छ । तर सरकारमा उसले जुनियर नेताहरुलाई मात्रै मन्त्री बनाएर पठाएको छ । हेर्दाखेरि मात्रै जुनियर मन्त्रीहरु पठाएको होइन । किनभने सरकारमा आफू बस्नेपनि । तर नागरिकको बीचमा गएर यो सरकार मेरो हो भनेर जिम्मा नलिने । बजेटमा कसरी पन्छियो ? तपाईहरुले देखिहाल्नुभयो ।सरकार आफ्नो छ । यो बजेट माओवादीको जस्तो देखियो । यो बजेटमा रातोरातो देखियो भनेर सर्लक्क पन्छिएको छ ।'

महामन्त्री थापाले पछिल्लो समय नेतृत्वले समस्याको समाधान दिनेभन्दा पनि बिहान उठेर सामाजिक सञ्जालमा के गर्दा २/४ जना फलोअर थपिन्छन् भन्ने सोचेर बोल्ने र फलोअर बढाउन चाहनेहरुको संख्या बढेर गएकोप्रति सजग हुनुपर्ने बताए । 'बिहान उठेपछि सोच्ने के हुन्छ भने देशको समस्या समाधान कसरी गर्ने भन्ने होइन ।के गर्दा लाइक बढ्छ? आज मैले के बोल्ने होला ? आज मैले कहाँ गएर के दिने होला ? कस्तो भिडियो बनाउने होला ? त्यो गरेपछि बेलुका सुत्ने बेलामा कम्तिमा चार जना बढीले टिकटिकमा हेर्छन् । जिम्मा लिएको छ, जिम्मेवारीमा बसेको छ । उपप्रधानमन्त्री भएको छ, मन्त्रीहरु भएको छ, तर देशको समस्या समाधान गर्ने भन्ने होइन कि चटक गर्ने प्रवृत्ति हाबी भएको छ,' उनले भने, 'समस्याको समाधान गर्ने होइन । खाली मानिसहरुको भावनासँग खेल्ने र सामाजिक सञ्जाल उपयोग गरेर त्यसको आधारमा मानिसहरुको दृष्टिकोण निर्माण गर्ने प्रयास गर्ने काम भइरहेको छ ।'

प्रकाशित : असार १, २०८१ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x