कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

एक वर्षमा एक्सको मूल्य ७२ प्रतिशतले घट्यो

एजेन्सी

काठमाडौँ — अमेरिकी अर्बपति इलन मस्कले निकै लामो विवाद र घटनाक्रमपछि सन् २०२२ को अक्टोबरमा एक्स (तत्कालीन ट्वीटर) को स्वामित्व खरिद गरेका थिए । त्यसयता चर्चित माइक्रोब्लगिङ प्लाटफर्म एक्सको बजार मूल्यमा झन्डै ७२ प्रतिशतले गिरावट आएको छ ।

एक वर्षमा एक्सको मूल्य ७२ प्रतिशतले घट्यो

लगानी तथा बजार मूल्यांकनसम्बन्धी काम गर्ने अमेरिकी कम्पनी फिडेलिटीको पछिल्लो प्रतिवेदनले एक्सको बजार मूल्य उल्लेख्य रूपले घटेको देखाएको हो । फिडेलिटीको नोभेम्बर २०२३ सम्मको आँकडालाई आधार मानेर सार्वजनिक प्रतिवेदनमा मस्कको कम्पनीको मूल्य नोभेम्बर एक महिनामै झन्डै १९ प्रतिशतले घटेको दाबी गरिएको छ । उक्त सामाजिक सञ्जाल किन्न मस्कलाई सघाएयता फिडेलिटीले हरेक महिना सो कम्पनीको मूल्यांकन गर्दै आएको छ । अनुमानहरूका अनुसार मस्कको कम्पनीमा फिडेलिटीको लगभग सााढे ५ अर्ब अमेरिकी डलर लगानीसमेत छ ।

गएको मेमै फिडेलिटीले ट्वीटर सुरुवाती मूल्यको एकतिहाइ अर्थात् लगभग १५ अर्ब अमेरिकी डलरमा झरिसकेको आँकडा सार्वजनिक गरेको थियो । झन्डै ४४ अर्ब अमेरिकी डलरमा सामाजिक सञ्जाल प्लाटफर्म खरिद गरेयता मस्कले अनेक विवाद र प्रयोगको शृंखला जारी राखेका छन् । एक महिनाअघि ‘न्युयोर्क टाइम्स’ सँगको एक स्टेज अन्तर्वार्तामा उनले आफ्नो कम्पनी बहिष्कार गरिरहेका विज्ञापनदाताहरूलाई अपशब्द बोलेर गाली गरेका थिए ।

मस्कको कन्टेन्ट मोडरेसनसम्बन्धी नीतिसँगै जातीय र धार्मिक घृणा फैलाउने किसिमका पोस्टका कारण विज्ञापनदाता भड्किएका थिए । विभेदकारी पोस्ट गर्ने व्यक्तिलाई निर्बाध आफ्नो प्लाटफर्म प्रयोग गर्न दिएको भन्दै एक्समा विज्ञापन दिन धेरै मुख्य कम्पनीले अनौपचारिक रूपमा बहिष्कार अभियान नै सुरु गरेका थिए । यसरी एक्समा विज्ञापन बहिष्कार गर्नेमा एप्पल, डिज्नी, कोकाकोला, वालमार्ट, आईबीएम, युनिलिभरलगायत प्रमुख कम्पनी छन् ।

यद्यपि ट्वीटरमा विज्ञापन घट्न सुरु भएको भने मस्कले कम्पनी लिनुभन्दा अघि नै हो । विविध कारणले सो कम्पनीको भविष्य अन्योल देखिन सुरु भएपछि सन् २०२१ को तुलनामा सन् २०२२ मा ट्वीटरको विज्ञापनमा झन्डै ५९ प्रतिशतको गिरावट आइसकेको थियो । मस्कले खरिद गरेर ट्वीटरका बहुसंख्यक वरिष्ठ र अन्य कर्मचारीलाई कामबाट निकालेपछि कम्पनीको विज्ञापन र आम्दानी झनै ओरालो लाग्यो । विश्वकै धनी अर्बपतिको पहिलो दुई महिनामै ३० मध्ये १४ ठूला विज्ञापनदाताले आफ्ना विज्ञापन रोके । अघिल्लो वर्षको तुलनामा आम्दानी ४२ प्रतिशतले घट्यो ।

पछिल्लो पटकको विज्ञापन बहिष्कारले सो प्लाटफर्मलाई सिध्याउने भन्दै मस्कले अभिव्यक्ति नै दिएका थिए । कम्पनीको आम्दानी उनले स्वामित्व लिएयता मात्रै ५५ प्रतिशतले कम भइसकेको विश्लेषणहरूले देखाएका छन् । सन् २०२१ मा वार्षिक लगभग ५ अर्ब डलर आसपास विज्ञापन आम्दानी रहेको ट्वीटर सन् २०२३ मा एक्स बन्दासम्म अढाई अर्ब अमेरिकी डलरभन्दा तल पुगेको अनुमान छ । एक्सको समस्या झनै गहिरिँदा पछिल्लो महिना प्रतिस्पर्धी कम्पनी मेटाको सेयर मूल्य भने झन्डै ५ प्रतिशतले बढेको छ । स्न्यापको सेयर मूल्य पनि झन्डै ३८ प्रतिशतले उकालो लागेको देखिन्छ ।

अन्य कम्पनीहरूसँगको समस्या र आम्दानीसँगै कम्पनीको मूल्यमा निरन्तर गिरावटले एक्स थप दबाबमा परेको प्रविधि विज्ञहरूको अनुमान छ । कम्पनी किनेयता मस्कले भेरिफिकेसन शुल्क लिनेजस्ता आयआर्जनका विविध प्रयास गर्दै आएका छन् ।

प्रकाशित : पुस २१, २०८० ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×