कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पहिलो कप्तान नेरीको संन्यास

करिब १७ वर्षको क्रिकेट करियरमा नेरी थापाले नेपाललाई महत्त्वपूर्ण उपाधिहरू दिलाएकी छन्
रुपा गहतराज

नेपालगन्ज — राष्ट्रिय महिला क्रिकेट टोलीकी पहिलो अन्तर्राष्ट्रिय कप्तान नेरी थापाले खेलजीवनबाट सोमबार संन्यास लिएकी छन् । नेरीले अघिल्लो दिने फेसबुकमार्फत अन्तर्राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट संन्यास लिएको घोषणा गरेकी थिइन् । करिब १७ वर्षको क्रिकेट करियरमा उनले नेपाललाई महत्त्वपूर्ण उपाधिसमेत दिलाएकी थिइन् ।

पहिलो कप्तान नेरीको संन्यास

नेपालले २००७ मा मलेसियामा गएर एसीसी वुमन्स कप खेलेको थियो, जुन नेपाली महिला क्रिकेट टोलीको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । यस ऐतिहासिक नेपाली महिला क्रिकेट टोलीको नेतृत्व नेरीले गरेकी थिइन् । नेपाललाई उपविजेता बनाउनेक्रममा उनले ५ खेलमा २.७५ को औसतमा १२ विकेट लिएकी थिइन् ।

उनको यही प्रदर्शनका कारण एसियाली क्रिकेट परिषद् (एसीसी) ले सन् २००७ मा नेरीलाई वर्षको उत्कृष्ट महिला इमर्जिङ खेलाडीको उपाधि दिएको थियो । नेरीले पाकिस्तान गएर त्यो अवार्ड लिएकी थिइन् ।

सन् २०१९ यता दुई देशबीचको ट्वान्टी–२० खेललाई आईसीसीले अन्तर्राष्ट्रिय मान्यता दिएको थियो । नेरीले बैंककमा चीनविरुद्ध थाइल्यान्ड महिला स्म्यासबाट आफ्नो पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेकी थिइन् । त्यसको अर्को महिना थाइल्यान्डमै महिला ट्वान्टी–२० विश्वकपको एसिया क्षेत्रको छनोटमा कुवेतविरुद्धको खेल उनको अन्तिम अन्तर्राष्ट्रिय खेल बन्यो ।

सोही प्रतियोगितामा उनले हङकङविरुद्ध ४ ओभरमा ८ रन खर्चेर ६ विकेट लिएकी थिइन्, जुन नेपाली खेलाडीको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा दोस्रो र विश्वको नवौं उत्कृष्ट प्रदर्शन हो । अञ्जली चन्दले सन् २०१९ मा पोखरामा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा माल्दिभ्सविरुद्ध २.१ ओभरमा कुनै रन नखर्ची ६ विकेट लिएकी थिइन् ।

सन् २००९ मा खराब अनुशासनको कारण देखाएर नेरीलाई मलेसियामा भएको एसीसी वुमन्स ट्वान्टी–२० मा कप्तानीबाट हटाएर रितु कनौजियालाई नेपालको नेतृत्व दिइएको थियो । त्यसको दुई वर्षपछि नेरीको पुनः कप्तानीमा पुनरागमन भए पनि लामो टिकेन र रुबिना क्षेत्रीले नेपालको जिम्मेवारी लिएकी थिइन् । नेरीको कप्तानीमा नेपालले २००८ र २०१० मा एसीसी यू–१९ वुमन्स च्याम्पियनसिपको उपाधि जितेको थियो । पछिल्लो समय नेरीले एपीएफ क्लबबाट घरेलु क्रिकेट खेल्दै आएकी थिइन् । देव्रेहाते मध्यम गतिको बलिङ नेरीको विशेषता थियो । उनले यही माध्यमबाट ११ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा १७ विकेट लिइन् । पछि उनले चोटका कारण स्पिन बलिङ गर्न लागेकी थिइन् । यही चोटका कारण उनी मंगलबार आफ्नो खेल जीवन टुंग्याउन बाध्य रहिन् ।

खेलाडीले निश्चित समयपछि अवकाश लिनैपर्छ । आफूमा भएको क्षमता र सीप हस्तान्तरण गर्नुपर्छ । आफ्नो जीवनको उर्जावान समय मैदानमा बिताएका खेलाडीले सधैंका लागि खेल्न छोड्नु भने सामान्य होइन ।उनको संन्यासको खबर बाँकेवासीका लागि भने नमीठो बनेको छ । महिला क्रिकेटलाई उचाइसम्म पुर्‍याएकी नेरीले अझै मैदान नछोड्नुपर्ने उनका गुरु तथा राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ प्रशिक्षक दीपेन्द्रप्रताप सिंहको भनाइ छ । ‘एउटा खेलाडी सरदर खेल्ने भने २२ वर्षसम्म हो । नेरी अझै ५/७ वर्ष राम्रो खेल्न सक्थिन्,’ उनले भने, ‘घाइते भएपछि उनले आफूलाई रिकोभर गर्न सकिनन्, जसले गर्दा उनी खेलमा फर्कन चाहिनन् ।’

प्रशिक्षक सिंहले नेरी महिला क्रिकेटकी उदाहरणीय खेलाडी भएको दाबी गरे । ‘उनको जस्तो खेल कौशल अहिलेसम्म कुनै खेलाडीमा देखीएको छैन, उनको क्रिकेटमा लामो करियर थियो,’ सिंहले थपे, ‘नेरीले महिला क्रिकेटलाई मात्र होइन, नेपाली क्रिकेटलाई नै विश्वसामु चिनाएकी थिइन् ।’

लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य नरेन्द्र थापा नेरीले अब आफ्नो क्षमतालाई फरक ढंगले प्रस्तुत गर्नुपर्ने बताउँछन् । ‘एउटा खेलाडीको खेल्ने एउटा अवधि हुन्छ । अब नेरीले आफूमा भएको सीप क्षमतालाई निर्णायक, कमेन्टेटर, प्रशिक्षकको रूपमा सदुपयोग गर्नुपर्छ । नयाँ खेलाडी उत्पादनमा भूमिका खेल्नुपर्छ,’ थापाले भने, ‘त्यसका लागि परिषद, खेलकुद मन्त्रालय, स्थानीय तहले उनका लागि त्यो वातावरण बनाइदिनुपर्छ ।’

जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दीपजंग शाहले नेरीले खेलजीवनबाट लिएको संन्यास राज्यले एउटा खेलाडीलाई संरक्षण गर्न नसक्दाको परिणाम भएको गुनासो गरे । ‘क्रिकेटबाट नेपाललाई चिनाउने खेलाडीलाई राज्यले संरक्षण गर्न सकेन, यो ठूलो बिडम्बना हो । हामीले पनि उनको क्षमताको सम्मान गर्न सकेनौं । जिल्ला खेलकुद विकास समिति एउटा क्लबजस्तै भयो । न बजेट न त कुनै कार्यक्रम छ, हामी मूकदर्शक भएका छौं,’ उनले भने । गृहजिल्ला बाँकेले पनि नेरीको ब्रान्ड चिन्न र सदुपयोग गर्न नसकेको उनले सुनाए । ‘आफ्नो उर्जावान समय क्रिकेटमा खर्चिएकी खेलाडीले हार खाएर खेलजीवनबाट संन्यास लिनु दुर्भाग्य हो,’ शाहले भने ।

नेरीकै कप्तानीमा २०७७ सालमा बाँकेले लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिता उपाधि महिला क्रिकेट जितेको थियो । फाइनलमा रूपन्देहीलाई हराउँदा नेरी प्लेयर अफ द म्याच, प्लेयर अफ द सिरिजका साथै वेस्ट ब्याटर बनेकी थिइन् । २०७९ सालमा पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा पनि एपीएफ क्लबबाट खेल्दा उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द सिरिज चुनिएकी थिइन् । नेरीले प्रतियोगिताका ६ खेलमा ११ विकेट लिएकी थिइन् । एपीएफले रजत पदक जितेको थियो ।

सन् २००७ मा नेपाल पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा १४ मध्ये नेरीसहित ७ खेलाडी बाँकेका थिए । त्यसमध्ये एक थिइन् विकेटकिपर ममता थापा । राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान रहिसकेकी ममताले एउटा खेलाडीले बन्द कोठाभित्र संन्यास लिनु खेलजगतका लागि लज्जाको विषय भएको बताइन् ।

‘राज्य, सम्बन्धित संघले खेलाडीलाई संरक्षण गर्नुपर्छ भन्ने हो । एउटा आइडल खेलाडीले बन्द कोठाबाट संन्यास लिनु आफैंमा राम्रो होइन । यसपछाडि उहाँका आफ्नै पीडा होलान्, तर त्यो तरिका ठीक होइन,’ ममताले भनिन्, ‘आउने पुस्तालाई यसले हतोत्साहित बनाउन सक्छ ।’

प्रकाशित : चैत्र ७, २०८० ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×