कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नेपालले दियो माल्दिभ्सलाई २२८ रनको विशाल लक्ष्य

नेपालबाट महिला क्रिकेटमा शतक हान्ने पहिलो खेलाडी बनिन् रुविना क्षेत्री
कान्तिपुर संवाददाता

काठमाडौँ — मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपाली टिमले माल्दिभ्सलाई २२७ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनायो । रुविना क्षेत्रीको शतक र पूजा महतोको अर्धशतकको मद्दतले नेपालले माल्दिभ्सविरुद्ध विशाल स्कोर बनाएको हो । 

नेपालले दियो माल्दिभ्सलाई २२८ रनको विशाल लक्ष्य

रुबिनाले ५८ बलमा ११८ रन बनाइन् । उनले ५ छक्का र १० चौका प्रहार गरिन् । रुविनाले ५४ बलमा शतक पूरा गर्दै दुर्लभ इतिहास रचेकी हुन् । उनी नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् । यसअघि सन् २०२१ मा सीता रानामगरले कतारविरुद्धको खेलमा ८२ रन प्रहार गरेकी थिइन् ।

यस्तै ३६ बलमा ५९ रन बनाएकी महतोले १ छक्का र ५ चौका प्रहार गरिन् । कविता कुँवरले १० बलमा १३, सीता रानामगरले ११ बलमा १५ र डली भट्टले ४ बलमा ६ रन बनाइन् । कप्तान इन्दु बर्मा भने पहिलो बलमै आउट हुन पुगिन् ।

माल्दिभ्सको तर्फबाट सम्मा अलीले ४ ओभरमा ४४ रन खर्चिँदै ३ विकेट लिइन् भने नबा बिन्थु नसिमको नाममा १ विकेट रह्यो । उनले ४ ओभरमा ४५ रन खर्च गरिन् ।

नेपालले यसअघिको दुवै खेल जितिसकेको छ । समूह ‘डी’ को खेलमा नेपालले लगातार दोस्रो जित निकाल्दै चार अंकका साथ क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले पराजित गरेको थियो । माल्दिभ्स भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

प्रकाशित : फाल्गुन १, २०८० १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×