२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सडकमाथि अड्किएका ढुंगाले ‘धराप’

लाँगाबगर, जालेबगर, तमैल, माल्लाभीर, कचाली खोलालगायतका ठाउँमा पहिरोले बगाएर ल्याई अड्किएका ठूल्ठूला ढुंगा जुनसुकै बेला पनि खस्न सक्ने जोखिम

बझाङ — छविसपाथीभेरा गाउँपालिका–१ जालेबगर कटेपछि जिप चालक सिद्धराज जोशीका आँखा थप चनाखो हुन्छन् । जयपृथ्वी नगरपालिकाको सुवेडा नपुगेसम्म उनी घरी सडक त, घरी सडकभित्ता हेर्दै गाडी कुदाउँछन् ।

सडकमाथि अड्किएका ढुंगाले ‘धराप’

‘हेर्नुस् न, ठाउँ ठाउँमा धराप छन् । केही गरी एउटा ढुंगा खसिहाल्यो भने गाडी त अचार भैहाल्छ नि,’ सडकको माथि खस्लाझैं गरी अड्किएका बडेमानका ढुंगा देखाउँदै उनले भने, ‘यो बाटोमा गाडी चलाउँदा कुन बेला के पो हुने हो भनेर डराइडराइ चलाउनु पर्छ ।’

जालेबगरदेखि सुवेडासम्मको १४ किलोमिटर सडकमा दर्जनौं ठाउँमा रहेका यस्ता धरापमा हरेक गाडी चालक र यात्रुले जोखिम उठाएर हिँड्नु परेको छ । लाँगाबगर, जालेबगर, तमैल, माल्लाभीर, कचाली खोलालगायतका ठाउँमा पहिरोले बगाएर ल्याई अड्किएका ठूल्ठूला ढुंगा जुनसुकै बेला पनि खस्न सक्ने जोखिम भएकाले यो बाटोमा डराइडराइ यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुहरू बताउँछन् ।

‘अजंगका ढुंगा हेर्दाहेर्दै खस्ला जसरी अड्किएका छन्,’ खप्तडछान्नाका यात्रु मंगलबहादुर खड्काले भने, ‘यो बाटोमा त जोखिम नै जोखिम छ । जुनसुकै बेला पनि दुर्घटना हुन सक्छ ।’ उनले बर्खामा जोखिम झन् बढ्ने बताए ।

तीन वर्षअघि यही बाटोमा पर्ने कचाली खोलामा सडकमाथि अड्किएको ढुंगा खस्दा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै ज्यान गएको थियो भने एक जना गम्भीर घाइते भएका थिए ।

‘सुख्खा मौसममा पनि ढुंगा झरेकै हुन्छन् । कहिले गाडीको सिसा फुट्ने, कहिले अरु भागमा लाग्ने त धेरै पटक भएको छ,’ अर्का जीप चालक यज्ञ पाण्डेले भने, ‘अहिले त भूकम्पले हल्लाएर यहाँको जमिन कमजोर बनाएको छ । बर्खामा झन् डर हुनेवाला छ ।’ उनले सडकको माथि रहेका बडेमानका ढुंगा जुनसुकै बेला पनि खस्न सक्ने भएकाले समयमै हटाउन पाए दुर्घटनाको जोखिम घट्ने बताए ।


जयपृथ्वी राजमार्गमा मात्रै होइन, सेती लोकमार्गका विभिन्न ठाउँमा पनि यस्ता धराप छन् । गत वैशाखमा खप्तडछान्ना गाउँपालिकाको खैराडामा निर्माण भइरहेको पक्की पुलको ठेकेदार कम्पनीको जीपमा खप्तडछान्ना–१ मा ढुंगा खस्दा दुई जना घाइते भएका थिए भने जीप पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो ।

‘बढी यात्रु भएको भए त्यो दिन पनि ठूलो क्षति हुने वाला थियो,’ खप्तडछान्ना गाउँकार्यपालिका सदस्य शमशेर रोकायाले भने, ‘सडकका दर्जनौं ठाउँमा ढुंगा अड्किएर जोखिम भए पनि हटाउन कसैको चासो छैन ।’

सेती लोकमार्ग उत्तरखण्ड चैनपुर ताक्लाकोट सडक कार्यालयका इन्जिनियर पंकज धामीले जोखिम भएको ठाउँमा मान्छे वा मेसिन लगाएर ढुंगा हटाउन सकिने र कुनै ठाउँमा पर्खाल लगाएर पनि जोखिम कम गर्न सकिने अवस्था रहेको बताए ।

‘तमैल सेक्सन ढुंगा धेरै खसिरहने ठाउँ हो । ढुंगाकै कारण त्यहाँ जोखिम पनि धेरै छ । तर यो सडक हाम्रो मातहतमा छैन,’ उनले भने, ‘डिभिजन सडक कार्यालय बैतडी मातहतको सडक भएकाले उतैबाट यसका लागि पहल हुनुपर्छ ।’

यता डिभिजन सडक कार्यालय बैतडीका इन्जिनियर असिम रसाइलीले सुरक्षण पर्खाल लगाउनका लागि बजेटको अभाव भए पनि बढी जोखिम भएको ठाउँका ढुंगा हटाउने विषयमा छलफल भैरहेको बताए । ‘प्रोटेक्सन वाल लगाउनका लागि बजेटको अभाव छ तर जोखिमयुक्त ठाउँमा रहेका ढुंगा मेसिनले हटाउन सकिन्छ । यो विषयमा हामी छलफल गर्छौं,’ उनले भने ।

प्रकाशित : असार १, २०८१ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x