कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भारतमा ग्याँस दुर्घटना, घाइते प्रेमजलाको पनि मृत्यू, दुइको अवस्था गम्भीर 

बझाङ — भारतको बैग्लुरुमा भएको खाना पकाउने ग्याँस लिक हुँदा जलेर घाइते भएकी प्रेमजला बोहराको मृत्यू भएको छ । कर्नाटका राज्यको एहलंका भन्ने ठाउँमा भएको उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । 

उक्त दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका वडा नं ११, सुइलका एकै परिवारका पाँच जना जलेर घाइते भएका थिए । ३० वर्षीया प्रेमजलाको शनिवार साँझ मृत्यू भएको हो । यस अघि उनका आठ वर्षीया छोरी अनिता र साढे चार वर्षका छोरा प्रशान्तको सोही दुर्घटनामा परी मृत्यू भैसकेको छ भने मृतक प्रेमजलाका श्रीमान मदन र जेठी छोरी निरुताको स्थानीय भिक्टोरीया अस्पतालमा उपचार भैरहेको छ ।

गत बुधबार राति ११ बजेतिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा एक्कासी ग्याँस बिस्फोट भएको थियो । घटना लगतै घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो । झ्याल नभएको कोठामा बसिरहेका उनिहरुको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगलागीबाट बोहरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए ।

न्युन आर्थिक अवस्थाका ३२ वर्षीिय मदन गाउँमा जीविका चलाउन गाह्रो भएपछि विगत ६ वर्षदेखि परिवार सहित भारतमा बस्दै आएका थिए । मदन बेङलुरुको एउटा अपार्टमेन्टमा चौकीदारको काम गरिरहेका थिए भने उनकी श्रीमतीले स्थानीयको घरमा सरसफाईको काम गर्दै छोराछोरीहरुलाई त्यहीको स्थानीय विद्यालयमा पढाइरहेका थिए ।

घाइतेहरुको अवस्था पनि गम्भीर रहेको र उपचार खर्च अभावमा सुविधा सम्पन्न अस्पतालमा भर्ना गर्न नसकेको उनीहरुको परिवारलाई उपचारमा सहयोग गदै आइरहेकी बेग्लुरुमा रहकी जमुना पौडेलले बताइन् । ‘राम्रो अस्पतालमा भर्ना गर्नको लागि बढी पैसा चाहिन्छ । त्यो रकम उहाँहरु सँग छैन । अहिले पनि हामी यहाँ रहेका नेपालीहरुले चन्दा उठाएर उपचार गरिरहेका छौँ,' पौडेलले भनिन्, ‘बाँकी रहेका दुवै जना घाइतेको अवस्था पनि गम्भिर छ।'

प्रकाशित : जेष्ठ २०, २०८१ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×