कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

डोटीको बालसुधार गृह स्थानान्तर गरिने

मोहन शाही

डोटी — कैदीबन्दीको दैनिक जनजीवन कष्टकर बन्दै गएपछि सिलगढीमा रहेको बाल सुधार गृहलाई स्थानान्तर गरिने भएको छ ।

डोटीको बालसुधार गृह स्थानान्तर गरिने

सदरमुकाम सिलगढीमा ३५८१.१७४ वर्गमिटर क्षेत्रफलमा बनेको बाल सुधार गृहमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको गुनासो व्यापक उठेपछि अहिले शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय बस्दै आएको भवनमा स्थानान्तरण गर्न पहल भइरहेको छ । अहिले बनेको बाल सुधार गृह साविकको महिला तथा बालबालिका विकास कार्यालयको भवन हो ।

गत साउन २६ गते नै जिल्ला बाल न्याय समिति डोटीको बैठकले अहिले रहेको बालसुधार गृहको संरचनामा खेलकुद, मनोरञ्जन तथा सीपयुक्त कार्यक्रम संचालन गर्न साँघुरो भएको भन्दै स्थानान्तरणका लागि निर्णयसहित केन्द्रीय बाल न्याय समितिलाई परिपत्र गरिसकेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई कार्यालय डोटीको सिलगढीस्थित ६१२६.८५८ वर्गमिटर क्षेत्रफल रहेको जमिनमा स्थानान्तरण गरिन लागेको हो ।

सुदूरपश्चिम प्रदेशभरिका लागि स्थापना गरिएको बालसुधार गृहमा २५ कैदीबन्दी बस्न मिल्ने क्षमताको भए पनि हाल ५६ जना रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण उनीहरुलाई दैनिक कार्यमा समस्या हुँदै आएको छ । खान, बस्न, शौचालय प्रयोग गर्न, लुगा धुन, नुहाउन समस्या झेल्नु परिरहेको बाल मनोविज्ञ एवं जिल्ला बार एशोसिएसनका अध्यक्ष कैलाश साउँदले बताए ।

‘अहिलेको बालसुधार गृह पोल्ट्री फर्ममा कुखुरा राखे झैं भएको छ’, साउादले भने, ‘मैले पटकपटक सम्बन्धित ठाउँमा यसबारे कुरा उठाउँदै आएको छु । तत्कालै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बालसुधार गृह बनाउनुपर्छ ।’


साविकको महिला तथा बालबालिका विकास कार्यालयको भवनमा २०७५ भदौ महिनामा बालसुधार गृह स्थापना गरिएको थियो ।

३ तले भवनमा १२ कोठा रहेको बालसुधार गृह प्रमुख सानुमाया लिम्बुले बताइन् । ‘४ कोठामा ४९ कैदीबन्दी राख्नुपर्ने बाध्यता छ’ , प्रमुख लिम्बुले भनिन्, ‘बाँकी कोठामा प्रहरी सुत्ने कोठा, भान्सा, पुस्तकालय र टीभी हल बनाइएको छ ।’ २ वटा कोठामा भने साविकको महिला तथा बालबालिका बिकास कार्यालयका कागजात र सामाग्री थन्काइएको लिम्बुले जानकारी दिइन् ।

खानेपानीको हटलाइन जडान गरिएको भएपनि बेलाबेला धारामा पानी नआउँदा गाडी प्रयोग गरेर पानी ओसार्नुपर्ने बाध्यता छ । त्यहाँ ६ वटा शौचालय भएपनि सरसफाइ र पानीको अभावले प्रयोग गर्न नसकिने अवस्था छ । ४ वटा शौचालय भवन बाहिर र २ वटा भित्रै रहेका छन् । शौचालय जान समेत लाइन लाग्नु पर्ने बाध्यता रहेको केआइसिंह गाउँपालिकाका एक बालकले गुनासो पोखे । प्रहरी समेत तिनै शौचालय प्रयोग गर्दै आएका छन् ।

बिहीबार केन्द्रीय बाल न्याय समितिका सदस्य सचिव एवम् सर्वोच्च अदालतका रजिष्टार नारायणप्रसाद पन्थी सहितको टोली सुधार गृहका बालबालिकाहरुका लागि आवश्यक पर्ने, एयर कुलर, टीभी तथा कम्प्यूटर लगायतका सामाग्री हस्तान्तरणका लागि आएको थियो । सो टोलीले बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी ५ थान एयर कुलर, ४ थान टीभी , ६ थान कम्प्यूटर लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको थियो । बालसुधारका कैदीहरुले भवनमा खुला ठाउँ र कोठा नहुँदा ती उपकरणहरुको उपयोग गर्ने वातावरण नरहेकाले मापदण्ड अनुसारको संचरना यथाशीघ्र व्यवस्था गर्न आग्रह गरे ।

सदस्य सचिव पन्थीले बालसुधारसम्बन्धी कानुन आउने बित्तिक्कै भौत्तिक संरचना निर्माण गर्न केही कठिनाइ भएकाले तत्कालका लागि केही समस्या भए पनि विस्तारै मापदण्ड अनुसारका संरचना निर्माण हुँदै जाने आश्वासन दिए । उनले अहिले रहेको बालसुधार गृहलाई अन्यत्र खुला ठाउामा स्थानान्तरण गर्ने विषयमा आफू सकरात्मक रहेको बताउँदै पन्थीले स्थानीय जनप्रतिनिधीहरुलाइ समेत सहयोगका लागि अपील गरे ।

जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले शिक्षा विकास तथा समन्वय इकाइको कार्यालयमा बालसुधार गृह सार्ने विषयमा छलफल गरेर टुंगो लगाउने बताए । जनशक्ति र कामको चाप नभएकाले अहिले रहेको बालसुधार गृहको भवन शिक्षा विकास तथा समन्वय इकाइका लागि प्रयाप्त हुने तथा बालसुधार गृहका लागि शिक्षा विकास तथा समन्वय इकाइको भवन उपयुक्त हुने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजीसिंह खड्काले बताए । उनले बालसुधार गृह प्रदेशभित्र एउटामात्र भएकाले सोको बारेमा प्रदेश सरकार र डोटीका ९ वटै पालिकाले लगानी गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : फाल्गुन १८, २०८० १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×