कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बस्तीमा दिनदहाडै वन्यजन्तुको त्रास

मेनुका ढुंगाना

अछाम — गत माघ १० गते रामारोशन गाउँपालिका–५ तडिगैराका दुई किशोरी भालुको आक्रमणबाट घाइते भए । स्थानीय सालिमकोट सामुदायिक वनमा घाँस काट्न गएका बेला १९ वर्षकी पार्वती शाह र २० वर्षकी किरण शाहको जंगली जनावर भालुले आक्रमण दुवै जनाको टाउको र शरीरका विभिन्न ठाउँमा गहिरो घाउ बनेको छ ।

बस्तीमा दिनदहाडै वन्यजन्तुको त्रास

जिल्लामा उपचार सम्भव नभएपछि सेनाको हेलिकप्टरबाट सुर्खेत पुर्‍याइएका उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भइरेहेको छ । ‘पार्वतीलाई अस्पतालबाट डिस्चार्ज गरे पनि नियमित सम्पर्कमा बस्नुपर्ने भएकाले सुर्खेतमै कोठा लिएर बसिरहेका छन्,’ उनीहरुकी छिमेकी गंगा कुवँरले भनिन्, ‘किरणको अवस्था गम्भीर छ । टाउकोमा गहिरो चोट छ । खुट्टाको घाउ पनि पाकिरहेको छ ।’

आर्थिक अवस्था कमजोर भएर खर्चको समस्या हुँदा सहयोगका लागि सबैलाई आग्रह गरेर उपचार भइरहेको कुवरँले बताइन् । ‘त्यो घटनापछि दिउँसै घरबाहिर जान पनि डराइरहेका छौं । जनजीवननै कष्ठकर बनिरहेको छौं,’ उनले भनिन् ।

मंगलसेन नगरपालिका–६ डाडाँगाउँकी २४ वर्षीया आरती भण्डारी गत माघ ८ गते दिउँसो नुहाउन धारा जान लागेका बेला एक्कासी भालुको आक्रमणमा परिन् । घरबाट १५ मिनेट टाढाको धारामा जाने बेला भालुले आक्रमण गरेपछि उनलाई नेपालगन्ज रेफर गरियो ।

त्यसको तीन दिनपछि सोही गाउँकी ७३ वर्षीया देउकला भण्डारीलाई पनि बँदेलले आक्रमण गर्‍यो । घाँस काट्न जाने बेला बाटोमा बँदेलले आक्रमण गरेको देखेपछि उनलाई स्थानीयले उद्धार गरे । अनुहार र शरीरमा गहिरो चोट लागेपछि उनलाई प्रादेशिक अस्पताल सुर्खेत रिफर गरियो ।

बस्तीको बीचमा आएर जंगली जनावरले आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका छन् । बँदेलले आक्रमण गर्न थालेपछि गाउँमा मेलापात गर्न पनि डर भइरहेको स्थानीय दिपा भण्डारीले बताइन् । ‘यसअघि दिनदहाडै जंगली जनावर गाउँमा आएर आक्रमण गरेको थाहा थिएन । लगातार घटना हुन थालेपछि सबै डराएका छन्,’ उनले भनिन्,‘बालबालिकालाई स्कुल पठाउन पनि गाउँमा सबै डराइरहेका छन् । मेलापात गर्न र गाईभैंसी चराउन समस्या हुने गरेको छ । हामीलाई ज्यान जोगाउन गाह्रो भएको छ ।’

गत जेठ २९ गते साँफेबगर नगरपालिका–१३ बाब्लाका ६१ वर्षीया धुलु सुनार भालुको आक्रमणबाट घाइते भए । जिल्ला प्रहरी कार्यालयका अनुसार बाब्लाको ओला जाने क्रममा गोडा खोला भन्ने जंगलमा भालुले आक्रमण गरेको थियो ।

भौगोलिक रूपमा विकट र घनाजंगल भएकोले घाइतेलाई घटनास्थलबाट दुई घण्टा हिँडेर बाब्ला पुर्‍याइएको थियो । घाइते सुनारको अनुहारमा गहिरो चोट लागेको छ ।

सोहीदिन कमलबजार नगरपालिका–६ गैरीटाडका ३८ वर्षीय शेरबहादुर शाही बाघको आक्रमणबाट घाइते भए । प्रहरीका अनुसार पाँचुली भन्ने जंगलमा बाख्रा चराउन गएका बेला शाहीलाई बाघले आक्रमण गरेको थियो । घाइते शाहीको अछाम जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

टाउको, गाला र खुट्टामा चोट लागेका उनी अझै उपचाररत छन् । गाउँमा जग्गाजमीन धेरै बाँझो हुन थालेपछि जंगली जनावर बस्तीसम्म आइरहेको मंगलसेन–६ का वडाध्यक्ष देवेन्द्र भण्डारीले बताउँछन् । ‘गाउँमा बाँझो जमीन धेरै हुन थाल्यो । पहिलेका खेत पनि जंगल जस्ता भएका छन् । गाउँमा मान्छेको चहलपहल पनि छैन,’ उनले भने,‘बस्तीमै पुगेर दिउँसै आक्रमणमा पर्न थालेपछि एक्लो हिँड्न समस्यानै छ ।’ उनले अहिलेसम्म १ सय ७ जनाले जंगली जनावरले खेती पूर्णरुपमा नष्ट गरेको भन्दै वडा र डिभिजन वन कार्यालयमा राहतका लागि निवेदन दिएको बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत र चालु आर्थिक वर्षमा जंगली जनावरले आक्रमण गरेका २८ घटना प्रहरीसम्म पुगेका छन् । जसमा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते छन् । प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र साउँदका अनुसार वन्यजन्तुको आक्रमणबाट दुई आर्थिक वर्षमा २७ घरेलु चौपायाको मरेका छन् ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी विमल चन्दले बस्तीमा जंगली जनावरको आक्रमणको त्रास भइरहेकाले सचेतनाका कार्यक्रम अघि सारेको बताए । ‘जंगली जनावरको आक्रमणबाट मृत्यु भएमा १० लाख र घाइतेको प्रकृति हेरेर २ लाखसम्म राहातको व्यवस्था हुन्छ । यस्ता घटानामा राहतका काम मात्रै हुने गरेका छन्,’ उनले भने,‘वन्यजन्तुबाट बच्न सचेतनामूलक गतिविधि पनि गरिरहेका छौं ।’

प्रकाशित : फाल्गुन ६, २०८० २२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×