कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सुदूरपश्चिममै छैन खेल्नयोग्य क्रिकेट मैदान

फाप्ला खेलग्राम निर्माणमा लागि आवश्यक बजेट सहयोग गर्ने भारत सरकारको प्रतिबद्धता कार्यान्वयनमा ल्याउन सके ड्रिम फाप्लाको सपना पूरा हुने आशा
मोहन बुडाऐर

धनगढी — नेपालको जुनियर होस् वा राष्ट्रिय– महिला र पुरुष क्रिकेट टोलीमा सुदूरपश्चिमका खेलाडीको बाक्लो उपस्थिति रहँदै आएको छ । अहिलेमात्र होइन, जहिलेदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता सुरु भयो, त्यतिबेलैदेखि यो क्रम सुरु भएको हो । विश्व क्रिकेटमा नेपाली क्रिकेट र क्रिकेटरको पहिचान खुलेको अवस्थामा सुदूरपश्चिम नेपाली क्रिकेटमा एक ‘फ्याक्टर’ बन्दै आएको छ ।

सुदूरपश्चिममै छैन खेल्नयोग्य क्रिकेट मैदान

क्रिकेट जगतमै अन्तर्राष्ट्रिय कीर्तिमान राख्न सफल कञ्चनपुरका दीपेन्द्रसिंह ऐरीमात्रै नभएर राष्ट्रिय टोलीमा राम्रै योगदान दिइरहेका सन्दीप जोरा, विनोद भण्डारी, सुनील धमला, राजु रिजाल, भुवन कार्की, दिलीप नाथ, भीम सार्की सुदूरपश्चिमकै उत्पादन हुन् । कुनै बेला राष्ट्रिय टोलीमा राम्रै योगदान दिएका प्रदीप ऐरी, नरेश बुढाऐर, चन्द्र साउदले क्रिकेट सिकेको पनि सुदूरपश्चिमकै भूमिमा हो ।

महिला टोलीमा पनि सुदूरपश्चिमेलीको दबदबा छ । तर, सुदूरपश्चिममा क्रिकेटर उत्पादन गर्ने गतिलो खेल मैदानसम्म छैन । बिनाप्रशिक्षण र मैदान अभावमा आफ्नै बलबुताबाट माथि उठेर नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सुदूरपश्चिमका खेलाडीको महत्त्वपूर्ण योगदानलाई नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द पनि स्वीकार्छन् ।

महिला राष्ट्रिय टोलीकी ईश्वरी विष्ट गृहनगर आउँदा नियमित अभ्यास गर्न पाउँदिनन् । घर आउँदा पूर्वाधार अभावले आफूले गर्नुपर्ने नियमित अभ्यास पनि गर्न नसकिरहेको उनको गुनासो छ । ईश्वरीजस्तै उदीयमान खेलाडी कविता कुँवर, रुवि पोदारलगायतलाई पनि गृहनगरमा रहँदा नियमित प्रशिक्षण गर्न पूर्वाधार अभाव खट्किन्छ । प्रतिभाशाली राष्ट्रिय स्तरका क्रिकेटर जन्माउने सुदूरपश्चिममा एउटा गतिलो क्रिकेट मैदान नहुनु बिडम्वना नै रहेको क्रिकेटप्रेमी यज्ञराज जोशी बताउँछन् ।

‘क्रिकेटका क्षेत्रमा सुदूरपश्चिममा राज्यको लगानी नै भएको छैन,’ उनले भने, ‘यहाँ एउटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानसमेत छैन ।’ सुदूरका पहाडी जिल्लाबाट समेत नेपालको राष्ट्रिय टोलीका लागि क्रिकेटर जन्मिरहेको बताउँदै उनले भने, ‘भिरालो जमिनमा समेत उनीहरू दाउरा र कपडाको बल बनाएर क्रिकेट सिक्दै राष्ट्रिय स्तरका खेलाडीका रूपमा निस्केका छन् । बिनापूर्वाधार र प्रशिक्षण पनि नेपालका राष्ट्रिय क्रिकेटर जन्माइरहेको सुदूरपश्चिममा राज्यको लगानी आवश्यक छ ।’ राज्यबाट यहाँको क्रिकेट विकासमा केही लगानी भएन भनिरहँदा सुदूरपश्चिमेली क्रिकेट मोहले ‘ड्रिम फाप्ला’ जन्माएको उनको तर्क छ ।

‘ड्रिम फाप्ला’ का अभियन्ता सुवास शाही भने अब छिट्टै सुदूरपश्चिममा क्रिकेट मैदानसहित खेलग्राम बन्नेमा विश्वस्त छन् । सुदूरको कुनाबाट नेपाली क्रिकेटलाई एउटा उचाइमा पुर्‍याउनेमा महत्त्वपूर्ण योगदान दिँदै आएका शाही अहिले आफैं फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष पनि छन् । धनगढी बोराडाँडीस्थित गौचरन मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको सपना देखेर ‘ड्रिम फाप्ला’ जन्मेको शाहीको भनाइ छ ।

यस मैदानमा शाहीकै पहलमा धनगढी प्रिमियर लिग (डीपीएल) को माध्यमबाट नेपालमा पहिलोपल्ट अक्सन र फ्रेन्चाइज क्रिकेट सुरु भएको थियो । तीन संस्करण पूरा गरेको डीपीएलको पछिल्लो संस्करण फाप्ला मैदानमै आयोजना हुनुको प्रमुख उद्देश्य ‘ड्रिम फाप्ला’ अभियानलाई साथ दिन गरिएको शाहीले बताए । ‘धनगढीमा फाप्लालाई भेट्टाएपछि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ड्रिम फाप्लाको नारा अघि बढाएका हौं,’ उनले भने, ‘डीपीएलअघि नेपाल प्रिमियर लिग (एनपीएल) यही मैदानमा आयोजना भयो ।’

अहिले पनि सुदूरपश्चिममा हुने सानाठूला सबैखाले प्रतियोगिता यही मैदानमा हुँदै आएका छन् । उनका अनुसार ड्रिम फाप्लाको नारालाई साकार रूप दिन एक प्राइभेट पब्लिक पाटर्नरसिप (पीपीपी) मोडलका रूपमा ड्रिम फाप्लालाई ‘प्रोजेक्ट वर्क’ मा निरन्तर अघि बढाइएको छ ।

‘सुरुमा पीपीपी मोडलबाट अर्बौं लगानीको अन्तर्राष्ट्रिय स्तरको खेल मैदान कसरी निर्माण पूरा गर्न सकिन्छ र भविष्यमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने कुरा सरकारी एवं गैरसरकारी तह र तप्कालाई बुझाउनै गाह्रो भयो,’ उनले भने, ‘ल्यापटपमा ड्रिम फाप्लाको प्रोजेक्ट बोक्दै मैदानका खेलाडी, क्रिकेट संघ, राष्ट्रिय खेलकुद परिषद्, दल र नेता, सरकारको सरोकारवाला पक्ष कर्मचारी, मन्त्रीदेखि सबै जसो शक्तिकेन्द्रलाई बुझाउनमा लामो समय बित्यो ।’

लामो समयपछि ड्रिम फाप्लाको अभियानलाई सरकारको नीतिगत निर्णयमा प्रवेश गराउन सफल भएको पनि शाहीले बताए । सन् २०१५ मा सुरु भएको ड्रिम फाप्ला अभियानले सरकारी नीतिमा प्रवेश पाउन १० वर्षजस्तै लाग्यो । आर्थिक वर्ष २०७२/७३ को बजेटमा फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने कुरा बजेट वक्तव्यमै उल्लेखसमेत भएको उनले सुनाए । ‘नीतिगतमा यो पहिलोपल्ट सरकारी बजेटमा ड्रिम फाप्ला अभियानले प्रवेश पाएको मान्न सकिन्छ,’ शाहीले भने, ‘त्यसपछि ठूलो चुनौती खेल मैदानका लागि सबैभन्दा पहिला फाप्ला मैदानको जग्गा प्राप्त गर्नुपर्ने कार्य थियो ।’

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा फाप्ला क्रिकेट मैदान निर्माणका लागि ३८ बिघा जग्गा दिनेबारे मन्त्रिपरिषद्ले निर्णय गरेको उनले जानकारी दिए । २०७८ माघमा मन्त्रिपरिषद् बैठकले फाप्ला अन्तर्राष्ट्रिय रंगशाला तथा खेलग्राम पूर्वाधार विकास समितिलाई उक्त जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । ड्रिम फाप्लाको प्रोजेक्टका लागि यो एउटा कोसेढुंगा बनेको उनले बताए । २०७९ वैशाखमा सरकारले ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश–२०७९’ राजपत्रमा प्रकाशित गरेपछि सरकारले अपनत्व ग्रहण गर्दै फाप्लामा रंगशाला निर्माणको काम अघि बढाएको हो ।

क्रिकेट मैदान तथा खेलग्राम निर्माणका लागि ९ सदस्यीय विकास समिति गठन गरिने व्यवस्था अनुसार अघिल्लो वर्षको जेठ अन्त्यमा मन्त्रिपरिषद्द्वारा विकास समितिको अध्यक्षमा आफूलाई मनोनीत गरिएको शाहीले बताए ।

पदेन सदस्य धनगढी उपमहानगरपालिका र कृष्णपुर नगरपालिकाका नगर प्रमुख, सुदूरपश्चिम प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ कैलालीका प्रमुख, उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष सदस्य रहने व्यवस्था छ ।

फाप्लामा क्रिकेट मैदानमात्रै निर्माण गर्ने सपना नभएर धनगढीलाई नै अर्को लेभलमा लैजाने चाहनास्वरूप यस अभियानको थालनी गरिएको शाहीले बताए । ‘आफैंलाई निर्माणको जिम्मेवारी सरकारबाट प्राप्त हुँदा अब खेलग्राम बन्नेमा अरूलाई ढुक्क पार्नुपर्ने ठाउँमा बसेजस्तो लागेको छ,’ उनले भने, ‘यो महत्त्वाकांक्षी योजना सुचारुको चरणमा प्रवेश त गराएका छौं । निर्माणको प्रक्रिया सुरु गर्न डीपीआरदेखि केही अन्य प्राविधिक र सरकारको बजेट निकासाको ढिलाइले काममा सुस्तता सिर्जना गरेको छ ।’

उनका अनुसार विकास समितिलाई क्रिकेट मैदान तथा खेलग्राम निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी स्वीकृत गर्ने, संरचना निर्माण गर्दा प्रचलित कानुनबमोजिम गर्नुपर्ने प्रारम्भिक वातावरणीय परीक्षण वा प्रभाव मूल्यांकन, संरचना निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने र निर्माण सम्पन्नपछि सञ्चालन र व्यवस्थापनको खाकासहित सरकारलाई हस्तान्तरण गर्नुपर्ने मुख्य जिम्मेवारी दिएको छ । त्यसमध्येको पहिलो डीपीआर निर्माणको काम अघि बढाउने निर्णय गरेको शाहीले बताए । चालु वर्षमा सरकारले बजेटको व्यवस्थासमेत गरेको छ । ‘तर, बजेट निकासामा ढिलाइ हुँदा डीपीआरको ग्लोबल टेण्डर हुन सकेको छैन, अब ग्लोबल टेण्डर खोल्ने तयारीमा छौ,’ शाहीले भने ।

उनले गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा फाप्ला खेलग्राम निर्माणमा ठूलो ‘ब्रेक थ्रु’ भएको पनि बताए । ‘दुई देशका प्रधानमन्त्रीको भेटमा भारतले डीपीआरपछि फाप्ला खेलग्राम निर्माणका लागि आवश्यक पर्ने बजेट सहयोग गर्ने प्रतिबद्धता जनाएको छ,’ उनले भने, ‘यो प्रतिबद्धताअनुसार नेपालले भारत सरकारसँग चाँडो सहयोग मागेर फाप्ला क्रिकेट मैदान तथा खेलग्राम निर्माण गर्न सक्छौं ।’ फाप्ला खेलग्राम निर्माण गर्न सके सुदूरपश्चिममा समृद्धि पनि क्रिकेटले नै ल्याउने उनले बताए ।

प्रकाशित : पुस १२, २०८० १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?