पूर्व र सुदूरका दुई उपमहानगरले यसपटक सामाजिक अभियानको अगुवाइ गरेर जनप्रतिनिधिको काम गराइमा प्रश्न गर्दै आएकालाई नगरप्रमुख निर्वाचित गरेको छ । स्वतन्त्रबाट उम्मेदवारी दिएका हर्कराज साम्पाङ राई धरानमा र गोपाल हमाल धनगढीमा दलहरूका उम्मेदवारलाई पछि पार्दै विजयी भएका हुन् । दुवैको जितले राजनीतिक दल र तिनका जनप्रतिनिधिको परम्परागत कार्यशैलीमा मतदाता सुधार चाहन्छन् भन्ने सन्देश दिएको विश्लेषण भइरहेको छ ।
कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा युवा महिला नेतृ विजयी भएका छन् । नगरप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार सुशीला शाही निर्वाचित भएकी छन् । उपप्रमुखमा एमालेकी जुना चौधरी विजयी भएकी छन् ।
कैलालीको घोडाघोडीमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका उम्मेदवार खडकबहादुर रावत विजयी भएका छन् । उनले एमालेका ममताप्रसाद चौधरीलाई फराकिलो मतान्तरमा पराजित गरेका छन् ।
कैलालीको टिकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डगौरा थारु विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी कांग्रेसका नवराज रावललाई तीन हजार मत अन्तरले पराजित गरेका हुन् ।
कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी विजयी भएका छन् । उनले ४ हजार ९ सय ३ मत प्राप्त गरी नेपाली कांग्रेसका बन्सराम बडायकलाई १ हजार ५ सय ३५ को मतान्तरमा विजयी भएका छन् ।
सत्तासाझेदार गठबन्धनको कारबाहीमा परेका नेपाली कांग्रेसका उम्मेदवार राजसमझ चौधरी कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । उनले गठबन्धनका आधिकारिक उम्मेदवार निर्वतमान गाउँपालिका अध्यक्ष माओवादीका लाजुराम चौधरीलाई ४ हजार बढीको मतान्तरले पराजित गरेका हुन् ।
कैलालीको पहाडी क्षेत्रमा पर्ने मोहन्या गाउँपालिकामा माओवादी केन्द्रका देवीदत्त उपाध्याय विजयी भएका छन् । उनले ४ सय १९ को मतान्तरमा एमालेका धरबहादुर थापालाई पाराजित गरे । उपाध्यायले ३ हजार १ सय ३४ मत प्राप्त गरे ।