कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

हरिद्वारमा फेरि नेपाली लुटिए

भवानी भट्ट

कञ्चनपुर — भारतबाट मजदुरी गरेर घर फर्किन लागेका एक नेपाली कामदार फेरि बाटोमै लुटिएका छन् । भारत उत्तराखण्डको हरिद्वारमा लुटिएपछि अलपत्र परेका उनी मंगलबार गड्डाचौकी नाकामा पुगेका हुन् ।

हरिद्वारमा फेरि नेपाली लुटिए

भारतको कर्णप्रयागमा ज्याला मजदुरी गर्ने सुर्खेतको बराहताल गाउँपालिका–६ का ३७ वर्षीय विष्णु विक हरिद्वारमा लुटिएका हुन् ।

मंसिर ३० मा कर्णप्रयागबाट घर हिँडेका उनी सोही दिन पुस १ गते हरिद्वार पुगेका थिए । बसपार्कमा झर्ने बित्तिकै ३ जना सुर्खेत घर बताउने नेपालीले नै बेहोस बनाएर लुटेको विक बताउँछन् ।

‘बसर्पाकमा झर्ने बित्तिकै तीन जना नेपाली आए, हाम्रो घर पनि सुर्खेत नै हो, सँगै जाउला भने,’ मंगलबार बिहान गड्डाचौकी पुगेका विकले भने, ‘चिसो पिउँ भनेर ड्यु ल्याए, चारैले सँगै पियौं, म त एकै छिनमा बेहोस भएछु ।’ दोस्रो दिन होसमा आउँदा मोबाइल, झोला र पैसा केही नभेटिएको उनले बताए ।

कर्णप्रयागमा ज्याला मजदुरी गरेर कमाएका २५ हजार भारु लुटिएको उनले बताए । एक थान मोबाइल र लुगाकपडा सबै लुटेको उनले बताए । हरिद्वार बसपार्कमा प्रहरीसँग सहयोग मागेर बनबासासम्म आएको उनले बताए ।

मंगलबार बिहान गड्डाचौकी पुगेका विकलाई सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको नागरिक सहायता कक्षले घरसम्म पुग्ने व्यवस्था गरेका छन् । उनलाई बाटो खर्च र टिकट दिएर घर पठाएको हो ।

दसैंयता भारतबाट घर फर्किने क्रममा लुटिएका ११ जना नागरिक सहायता कक्षको सम्पर्कमा आएका छन् । जसमध्ये १० जना हरिद्वारमै लुटिएका छन् ।

प्रकाशित : पुस ३, २०८० १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×