कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

विपन्नलाई प्रभावकारी 'कपडा बैंक' 

मोहन बुडाऐर

धनगढी — जाडो बढेपछि धनगढीको शिवपुरी धामस्थित 'कपडा बैंक'मा न्यानो लुगा लागि धाउनेहरुको संख्या बढेको छ । किन्न सक्ने क्षमता नभएका विपन्नहरुलाई कपडा बैंकमा नि:शुल्क वितरण हुन्छ ।

विपन्नलाई प्रभावकारी 'कपडा बैंक' 

धनगढी उप महानगरपालिका मेयर गोपाल हमाल र उनका दुइ भाई श्याम र देवेन्द्र हमालले परोपकारी उद्देश्यका साथ कपडा बैंक खोलेका हुन । यो बैक हमाल दाजुभाइले २०७६ सालमा स्थापना गरेका हुन ।

परिवारका सदस्यलाई एकसरो लुगा समेत हाल्न नसक्नेले यहाँबाट सित्तैमा पुनः प्रयोग गर्न सकिने पुराना कपडा लैजान पाउछन् । जाडोको मौसममा न्यानो लुगाको खाँचो भईरहेको विपन्न परिवारका लागि यो बैंक एक प्रकारले सहारा भएको छ ।

धनगढी उपमहानगरपलिका- ७ मनेहरा मुक्त शिविरका बुद्धिराम चौधरी पनि आइतबार कपडा बैंकमा भेट्टिए । ‘जाडो बढेपछि बच्चाहरूलाई लगाउने न्यायो लुगा पनि थिएन,’ उनले भने,‘बजारबाट नयाँ लुगा किन्न सक्ने क्षमता भएन । बजार पनि चहारेँ १/२ जोर सुइटर र जाकेट किन्दा ५/७ हजार लाग्ने भयो । त्यसैले यता कपडा बैंकमा आए ।’

उनले यहाँ पनि परिवारलाई चाहिने जति लुगा त पाउएनन् तर बच्चाका लागि दुई थान सुइटर र आफनोका लागि ज्याकेट र एक थान पाइन्ट भट्टाएको बताए । उनी दिउँसो ज्यालादारी मजदुरी गरि परिवारको खर्च धान्छन् ।

शिविरकै विक्रम डगौराले पनि आफ्ना र बच्चाका लागि ५ थान न्यायो लुगा लिएको बताए । उनले कपडा बैंकमा न्यानो लुगाको कमी रहेको बताए । ‘गरिबका लागि यो बैंक साहारा भएको छ,’उनले भने,‘जाडो मौसममा थरथर कामिरहेका बालबालिकाको जिउलाई ढाक्ने न्यानो लुगा कहाँबाट ल्याएर दिउँ भन्ने लाग्थ्यो । यो बैंक खुलेपछि फोटो पुरानो जस्तो भएपनि बच्चालाई जाडोबाट बचाउनका लागि त कपडा पाउने घर बनेको छ यो बैंक ।’

बिहिबार उनीहरु जस्तै अरु ४/५ जना पनि आफू र आफ्नो परिवारका लागि न्यानो लुगा छान्दै थिए । कपडा बैंकमा कार्यरत कर्मचारी खगेन्द्र केसीकाअनुसार अहिले हरेक दिन १०/१५ जना बिपन्न परिवारले यहाँबाट कपडा लिएर जाने गरेका छन् । उनले धनगढी उपमहानगरपालिका धुर्जन्ना , पुरानो एयरपोर्ट , फुलबारी बरकट्टा लगायतका मुक्त कमैया, सुकम्वासी बस्ती तथा बजारक्षेत्र भित्रका अब्यवस्थित विपन्न परिवारले बढी जसो कपडा बैंकबाट लुगा लिएको बताए । धनगढी भन्दा बाहिर महेन्द्रनगर कञ्चनपुर लगायतका सुकम्वासी, मुक्त कमैयाका विपन्न परिवारले समेत यस बैंकबाट नि:शुल्क लग्ने गरेको उनले जानकारी दिए ।

उनकाअनुसार मंसिर महिनाको २४ गते सम्म मात्रै ७ सय ५ जनाले कपडा लिएर गएका छन् । ‘जाडो महिना सुरु भएकोले यो मंसिरमा कपडा लैजाने विपन्न परिवारको संख्या हरेक दिन बढदै गएको छ’ उनले भने,‘तर यो सिजनमा न्यानो लुगाको अभाव छ ।’ उनले दाताहरुलाई न्यानो लुगाका आग्रह गर्दै आएको बताए ।

‘कसैले पनि पुनः प्रयोगमा ल्याउन सकिने लगाउने रेडिमेड र ओछ्याउने विछ्याउने लुगा बैंकले नि:शुल्क दानका रुपमा लिने गर्छ’उनले भने,‘निशुल्क दानकै रुपमा बिपन्न परिवारलाई दिने गरेको छ ।’ उनले लुगा दान गर्ने सहरिया परिवारको संख्या पनि बढ्दै गएको बताए । साता दिनमा ८/१० जनाले घरको पुरानो लुगा धुलाई गरि सफा लुगा दान गर्न आउने गरेको बताए । उनले जाडो मौसममा न्यानो लुगा बढी लैजाने गरेकाले कमी आएको बताए । उनले कपडा लैजानेले आफ्नो नाम र ठेगना भने टिपाउनु पर्ने बताए ।

परोपकारी उद्देश्यले स्थापना भएको यस बैंकको सञ्चालन खर्च समेत हमाल ब्रर्दशले ब्यहोर्ने गरेको छ । हमाल ब्रर्दशले शिवपुरी धाममा बैंक स्थापनाका लागि तिन कोठे एक तले पक्की भवन निर्माण गरि दिएका हुन् ।

‘सहरिया संम्भ्रात परिवारलाई एक पटक प्रयोग गरेको कपडा कहाँ हाल्ने भन्ने समस्या हुन्छ’ मेयर हमालले भने,‘विपन्न परिवारलाइ जिउ छोप्न/ढाक्ने कपडाको आवश्यकता हुन्छ ।'

प्रकाशित : मंसिर २५, २०८० १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?