कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अछामका चार पालिका बल्ल पुगे बिजुलीको सहज पहुँचमा

मेनुका ढुंगाना

अछाम — अछामको पूर्वी क्षेत्र कमलबजारमा नेपाल विद्युत् प्राधिकरणले ३३/११ केभी सबस्टेसन शुक्रबारदेखि सञ्चालनमा ल्याएपछि चार स्थानीय तह सहज पहुँचमा पुगेका छन् । यसअघि सोही क्षमता बराबरको सबस्टेसन साँफेबगरमा मात्रै थियो ।

अछामका चार पालिका बल्ल पुगे बिजुलीको सहज पहुँचमा

जिल्लाका १० स्थानीय तहका सबै ठाउँमा साँफेबगरबाट बिजुली आपूर्ति हुँदै आएकोमा अब पूर्वी क्षेत्रका कमबलजार, पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाँद, ढकारी गाउँपालिका र मंगलसेन नगपालिकाको केही क्षेत्रमा कमलबजारबाट विद्युत् आपूर्ति हुनेछ । यसका साथै कर्णाली प्रदेशको दैलेख र कालीकोटमा पनि कमलबजारबाट बिजुली लैजान सकिनेछ ।

भौगोलिक हिसाबले र सुदूरपश्चिमको पहाडी जिल्लामा यसअघि विद्युत् आपूर्ति सहज हुन नसकेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय सुदूरपश्चिम प्रमुख जंगबहादुर चन्दले बताए । अछाम जिल्लालाई पूर्ण विद्युतीकरण जिल्ला बनाउने योजनाअनुसार गुणस्तरीय विद्युत् आपूर्तिका लागि कमलबजारमा सबस्टेसन राखेको उनले बताए ।

‘यसअघि अछामभर साँफेबगरमा भएको सबस्टेसनबाट मात्रै विद्युत् आपूर्ति हुँदै आएको थियो । मंगलसेन, साँफेबगरलगायतका केही क्षेत्रमा मात्रै गुणस्तरीय विद्युत् सञ्चालनमा थियो,’ उनले भने, ‘एकमात्र सबस्टेसनबाट विद्युत् आपूर्ति हुने हुँदा कमलबजार, ढकारी, विनायक तुर्माखाँदमा भोल्टेज पुगिरहेको थिएन । पटकपटक समस्या पनि भइरहेको थियो । अब त्यो समस्या हटेको छ ।’

चालु आर्थिक वर्षमा संघीय सरकाले अछामलाई पूर्ण विद्युतीकरण जिल्ला बनाउनका लागि १ अर्बभन्दा बढी बजेट विनियोजन गरेको चन्दले बताए । उनका अनुसार ठेक्का पनि भइसकेको छ भने अब निर्माण कम्पनीसँग सम्झौताको काम मात्रै बाँकी रहेको छ । ‘फिल्डमा गएरै काम गराउने, नापजाँच गर्ने, समन्वय गर्ने र निर्माण कम्पनीले समयमा काम सम्पन्न गरेन र लापरबाही गर्‍यो भने ठेक्का तोड्नेसम्मको अधिकार प्रदेश कार्यालयलाई छ,’ चन्दले भने ।

पञ्चदेवल विनायक नगरपालिकाका ५ वडा , ढकारी गाउँपालिकाका ५ वडा,र तुर्माखाँद गाउँपालिकाका ५ वडा गरी १५ वडा अहिलेसम्म विद्युत्को पहुँचमा पुग्न नसकेकोमा अब सहज हुने उनले बताए ।

अछामको दुर्गम मानिएका यी वडामा कतै पोल गाडिएका छन् भने कतै विद्युत् जडानको प्रक्रिया नै अगाडि नबढेको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बीसीले बताए । ‘हाम्रो गाउँपालिकाको भुलु र रहफलाई केन्द्रीय विद्युत् प्रसारण लाइनसँग कर्णाली प्रदेशको दैलेख जिल्लाबाट जोड्ने काम अन्तिम चरणमा पुगेको छ । अन्त पनि पोल आइरहेका छन् । गाउँपालिकाले पनि बजेट छुट्याएको छ,’ उनले भने ,‘यसअघि विद्युत् पुगेको ठाउँमा पनि राम्ररी काम गरेको थिएन । अब कमलबजारको सवस्टेसनले सहज हुने देखिन्छ ।’

प्रकाशित : मंसिर २३, २०८० १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×