कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

असहायलाई अस्थायी आवास

एक मनकारीले बझाङका भूकम्पपीडितलाई दुई महिनामै बनाइदिए २२ टहरा
वसन्तप्रताप सिंह

बझाङ — गत असोज १६ गते आएको भूकम्पले छबिसपाथीभेरा गाउँपालिका–१, सुँगालाकी लछु गिरीको घर भत्कियो । उनी बिरामी श्रीमान्‌सहित ६ छोरी लिएर खोला किनारमा त्रिपालमुनि बस्न थालिन् । पालमुनि बस्दा चिसो लागेर उनका श्रीमान् राम गिरीको कात्तिक ११ गते मृत्यु भयो ।

असहायलाई अस्थायी आवास

जन्डिस भएका श्रीमान्‌लाई त्रिपालभित्रै गुमाएकी लछुलाई पतिवियोगको पीडासँगै नाबालिका ६ छोरीलाई कसरी जोगाउने भन्ने चिन्ताले पिरोल्न थालेका बेला विष्णु ऐडी भेटिए । भूकम्पले घरबारविहीन भएकी लछु जस्तै असहाय खोज्दै उनको गाउँ पुगेका ऐडीको समूहले केही दिनमै टिनको नयाँ टहरो निर्माण गरेर गएको लक्ष्मीपूजाको दिन उनीहरूलाई हस्तान्तरण गर्‍यो ।

‘श्रीमान्‌लाई पनि खासै ठूलो बिराम थिएन । घरभित्रै भैदिएको भए यति चाँडै हामीलाई छोड्ने थिएनन्जस्तो लाग्छ,’ लछुले भनिन्, ‘उहाँ बितेपछि अब छोरीलाई पनि बचाउन सक्दिनँ जस्तो लागेको थियो । विष्णु दाइ भगवान् भएर आए । अहिले टाउको लुकाउन सजिलो भएको छ ।’

त्रिपालमा बस्दा दुई, तीन र पाँच वर्षका छोरी पनि बिरामी हुन थालेको र अहिले टिनको अस्थायी आवास बनाइदिएपछि आफूहरूलाई राहत भएको उनले बताइन् । ‘श्रीमान्‌लाई बचाउन औषधि किन्न नसक्ने मैले आफैंले टिनको टहरो बनाउन सक्ने थिइनँ । उहाँ नभेटिएको भए अहिलेसम्म छोरीहरू पनि बाँच्थे कि बाँच्थेनन्,’ उनले भनिन्, ‘उहाँले सहयोग गरेर हाम्रो जीवन बचाइदिनुभयो ।’

मस्टा गाउँपालिका–१, लेकी गाउँकी चाखुडी रोकायाको हालत पनि उस्तै थियो । केही वर्ष पहिले नै श्रीमान् गुमाएकी उनको घर भूकम्पले पूर्ण रूपमा भत्काएपछि दुई छोरी र एक छोरासहित त्रिपालमा रात काटिरहेकी थिइन् । उनको अवस्था थाहा पाएर विष्णुको समूहले टिनको नयाँ टहरो बनाएर दियो । ‘हामीलाई सहयोग गर्ने कोही थिएनन् । आफ्नै खर्चले बनाउन सक्ने क्षमता थिएन,’ चाखुडीले भनिन्, ‘भूकम्पले घर ढलाएपछि अब जिन्दगी पालमै बित्ने भो भन्ने सोचेकी थिएँ । भगवान्ले हाम्रो दुःख देखेछ क्यारे !’ टिनको अस्थायी टहरामा बस्न थालेपछि आफ्नो परिवार जाडो कसरी कटाउँला भन्ने चिन्ताबाट मुक्त भएको उनले बताइन् ।


छबिसपाथीभेरा गाउँपालिका–२, मुम्लाका स्थानीय विष्णु ऐडीको सहयोगले लछु र चाखुडीजस्तै बझाङका २२ जना भूकम्प प्रभावित असहाय परिवारले अस्थायी आवास पाइसकेका छन् । ऐडीले अस्थायी आवास बनाउन नसक्ने भूकम्प प्रभावित एकल महिला, अनाथ, असहाय र विपन्नलाई टहरा बनाउँदै हस्तान्तरण गर्दै आएका छन् ।

मंसिर महिनाभित्रै सहाराविहीन थप १० परिवारलाई अस्थायी आवास बनाउने लक्ष्य सहित उनी नेतृत्वको टोली अहिले पनि जिल्लाका विभिन्न भूकम्प प्रभावित क्षेत्रमा काम गरिरहेको छ । जयपृथ्वी नगरपालिकामा दुई, मस्टा गाउँपालिकामा ११ र छबिसपाथिभेरा र खप्तड छान्ना गाउँपालिकामा चार/चार एवं थलारा गाउँ पालिकामा एक असहाय परिवारका लागि अस्थायी आवास निर्माण गरेर दिइसकेका छन् । उनीहरू सबै असहाय र एकल महिला हुन् ।

‘सक्नेहरूले त आफ्नै खर्चले अस्थायी आवास वा पक्की घर नै बनाउलान् । विपन्न र असहाय त सरकारी आश्वासन कुर्दाकुर्दा मर्छन् जस्तो लाग्यो,’ विष्णुले भने, ‘उनीहरूका लागि केही गर्नुपर्छ भन्ने सोचेर काठमाडौं गएर चिनजानका एक हार्डवेयर व्यापारीबाट टिन उधारोमा ल्याएर अस्थायी आवास निर्माण गर्न सुरु गरेको हुँ ।’

आफूसँगै पढेका साथीभाइसँग चार–पाँच हजार रुपैयाँका दरले सहयोग जुटाएर असहायका लागि टहरा बनाएको उनले बताए । ‘विदेशबाट छोराले पनि ४० हजार रुपैयाँ पठाइदियो,’ उनले भने, ‘अहिले त थप सहयोगीहरू पनि जुटिरहेका छन् ।’ असहायका लागि अस्थायी आवास निर्माणको काम थालेको देखेर क्याम्पस पढ्दाका आफ्ना सहपाठी बझाङकै स्थानीय सयल सिंहले साथीहरूसँग उठाएर एकमुष्ट २ लाख ८७ हजार रुपैयाँ पठाएको उनले बताए । ‘सक्नेले आफैं बनाइरहेका छन् । नसक्नेलाई मात्रै हामीले सहयोग गर्ने हो,’ विष्णुले भने, ‘हिउँ पर्नुअगाडि नै त्रिपालमा बसेका सबैलाई टिनको टहरोमा सार्न सकिन्छ कि भनेर कोसिस गरिरहेका छौं ।


उनले सुरु गरेको असहायका लागि टहरा बनाउने काममा स्थानीय युवाहरूले पनि सहयोग गरिरहेका छन् । २०/२५ जना युवाले निरन्तर स्वयंसेवकका रूपमा काम गरिरहेका छन् भने दक्ष मिस्त्री पनि अहोरात्र खटेकाले यति छिट्टै धेरै टहरा बनाउन सम्भव भएको उनले बताए । ‘हामी १५ जनाको टोली चैनपुरबाट आएका हौं । हामी जहाँ जान्छौं, त्यहींका स्थानीय युवा पनि सहयोग गर्न आउनुहुन्छ,’ विष्णुको टोलीमा स्वयंसेवकको काम गरिरहेका राजन रोकायाले भने, ‘कलेज बिदा भएका बेला बेसहारालाई सहयोग हुन्छ भने किन काम नगर्ने भन्ने सोचेर उहाँकै टोलीसँग हिँडिरहेको छु ।’ उनले जाडो महिनामा त्रिपालभित्र बसिरहेकाहरू अस्थायी टहरो पाउँदा खुसी भएको र उनीहरूको खुसी देख्दा आफूहरूलाई पनि औधि सन्तुष्टि मिलेको बताए ।

भूकम्पको केही दिनपछि बझाङ आएका प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितका लागि अस्थायी आवास बनाउन तत्काल ५० हजार रुपैयाँ दिन घोषणा गरेका थिए । यद्यपि, दुई महिना बितिसक्दा पनि जिल्लामा कुनै पनि पीडितले सो रकम पाएका छैनन् । भूकम्प प्रभावितमध्ये कतिपयले आफ्नै लगानीमा नयाँ घर या अस्थायी आवास बनाइरहेका छन् भने न्यून आर्थिक अवस्था भएकाहरू अहिले पनि त्रिपालभित्रै सकसपूर्ण ढंगले बसिरहेका छन् । असोज १६ गतेको भूकम्पले बझाङमा १२ हजारभन्दा बढी घरमा क्षति गरेको थियो भने ८ हजार बढी घर बस्न नमिल्ने गरी भत्किएका थिए । अहिले पनि जिल्लामा १ हजारभन्दा बढी परिवार त्रिपालभित्रै बसिरहेको पालिकाहरूले जनाएका छन् ।

प्रकाशित : मंसिर २२, २०८० २२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×