कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

जिम्मेवार दलले मिसन ८४ भन्दा देशको चिन्ता गर्नुपर्छ : महामन्त्री शर्मा

मेनुका ढुंगाना

अछाम — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नै गृह जिल्ला झापाका पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चार वर्षपछि हुने निर्वाचनलाई लक्षित गरेर जनतालाई झुक्याउने काम गरिरहेको आरोप लगाएका छन् ।

जिम्मेवार दलले मिसन ८४ भन्दा देशको चिन्ता गर्नुपर्छ : महामन्त्री शर्मा

शनिबार अछामको मंगलसेनमा आयोजना भएको नेकपा एमालेको जनसभालाई सम्बोधन गर्दै ओलीले ०८४ लाई लक्षित गरेर यात्रा गरिरहेको बताएका थिए । सोमबार सोही ठाउँमा नेपाली कांग्रेस अछामले आयोजना गरेको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्न आएका महामन्त्री शर्माले एमालेलाई देशको भन्दा निर्वाचनको चिन्ता बढी भएको बताए ।

‘तपाईंहरूलाई बडा रमाइलो भयो कि नरमाइलो भयो, मेरै जिल्लाबासी एकजना बडेबडे झापाली दुई तीन दिन अगाडि आउनु भएको थियो । आज फेरि अर्को झापाली तपाईंको जिल्लामा आएर उभिएको छ,’ उनले कांग्रेसको जिल्ला सम्मेलनबाट ओलीलाई लक्षित गर्दै भने, ‘बडेबडे झापाली आउनुभयो, यहाँ उभिनु भयो र कयौं ठाउँमा भनिरहनुभएको छ यात्राको लागि आएको। तर जे भने पनि मूल लक्ष्य मिसन ०८४ छ ।’

पछिल्लो समयमा खुलेका नयाँ पार्टीले पनि मिसन ०८४ नै भनेर हिँडेकोमा शर्माले आपत्ति जनाएका छन् ।‘एउटा नयाँ पार्टी खुलेको छ । उर्जा छ, उत्साह छ । संसद्मा राम्रै भूमिका गरिरहनुभएको छ । हामी आलोचना गर्दैनौं, नराम्रो कुरा मात्रै गर्दैनौं । राम्रोलाई राम्रो पनि देख्छौं,’ उनले भने,‘रवि लामिछानेजीको नेतृत्वमा संसद्मा नयाँ पार्टी उभिएको छ । त्यो पार्टीले पनि मिसन ०८४ मात्रै भनिरहेको छ ।’

नयाँ र पुराना भनिएका पार्टीले ०८४ सालको निर्वाचन जित्नलाई मात्रै कार्यक्रम लक्षित गरे जसरी कांग्रेसले चुनाव जित्नका लागि मात्रै अभियान नगर्ने उनले बताए ।

‘मिसन ०८४ भनेको के हो ? के सात सालको जस्तो राणा शासन अन्त्य गरेर स्वतन्त्रता दिने हो ? हिंसाबाट देशलाई शान्तितर्फ लैजाने हो ? संघीयताको रेखांकन गर्ने हो ? यो देशमा संविधान छैन र संविधान बन्ने हो ?’ उनले जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘के हो त मिसन ८४ भन्दा न ७ सालको क्रान्ति, न हिंसाबाट शान्ति, न संविधान लेखन । मिसन ८४ भनेको त चुनाव पो रहेछ । त्यो चुनाव हुने के ठूलो कुरा हो र ! ओली र लामिछानेजीलाई हाम्रो शुभकामना छ । चुनावभन्दा देशको चिन्ता पनि गर्नुस् ।’ देशको राजनैतिक अस्थिरताका कारण देशले पटकपटक हारिरहेको उनले बताए ।

प्रकाशित : मंसिर १८, २०८० २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×