कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कर्मचारी हटाउने विषयमा कमलबजारका मेयर उपमेयरबीच विवाद चर्कंदो

मेनुका ढुंगाना

अछाम — लामो समयदेखि करारका कर्मचारीको विषयलाई लिएर सुरु भएको विवादले कमलबजार नगरपालिकामा फेरि तालाबन्दी भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित मेयर यज्ञप्रसाद ढकालले करारका कर्मचारीलाई हटाउन नहुने र र नेकपा एमालेबाट निर्वाचित उपमेयर शारदा विष्ट कुँवरले जसरी भएपनि हटाउनु पर्ने विषयलाई लिएर विवाद कायम रहेको छ ।

कर्मचारी हटाउने विषयमा कमलबजारका मेयर उपमेयरबीच विवाद चर्कंदो

कार्यपालिकामा अल्पमतमा रहेका मेयर र बहुमतमा रहेकी उपमेयरबीचको विवादले नगरले अहिलेसम्म बजेट ल्याउन सकेको छैन भने नगरसभा पनि पनि हुन सकेको छैन ।

दुई दलको विवादका कारण जनताले दुःख पाएको भन्दै अन्य राजनीतिक दलले असोजमा नै नगरमा तालाबन्दी गरेका थिए । तत्काल विवाद समाधान गर्ने र बजेट ल्याउनेगरी विवादित पक्षले सहमति गरेपछि ताला खोलिएको थियो । समस्या समाधान गर्ने भनेर निर्णय गर्ने तर कार्यान्वयन नगरेपछि कर्मचारी र शिक्षक महासंघले कमलबजार नगरपालिकामा पुनः तालाबन्दी गरेको छ ।

कात्तिक २१ गते बसेको कमलबजार नगरपालिकाको कार्यपालिका बैठकले ८२ जना करारका कर्मचारी हटाउने निर्णय गरेको थियो । उक्त निर्णयको चौतर्फी विरोध र आलोचना भएपछि मेयर ढकालले मंसिर ५ गते प्रेस विज्ञप्ति जारी गर्दै हटाइएका सबै कर्मचारीलाई काममा फर्कन भनेका थिए । तर कार्यपालिकाले भने अहिलेसम्म हटाइएका कर्मचारीलाई पुनः राख्न निर्णय गरेको छैन । ‘मंसिर ५ गते नै मेयरले हटाएका सबै करार कर्मचारीलाई काममा आउनुस् भन्नु भएको छ । तर कार्यपालिकाले निर्णय गरेको छैन । न त साउनदेखि अहिलेसम्मको तलब पाएका छौं,’ पशु सेवा शाखा प्रमुखको जिम्मेवारीमा रहेका करार कर्मचारी देबेन्द्र शाहले भने,‘कार्यपालिका बैठकबाट जसरी हामीलाई हटाउने निर्णय गर्‍यो त्यसरी नै म्याद थपेर काममा फर्किने वातावरण नभएसम्म हामी तालाबन्दी गरिरहन्छौं । कानुनी रूपमा पनि अघि बढ्छौं ।’ करार सेवाबाट हटाएका ८२ जना कर्मचारी आन्दोलनमा रहेको र मंसिर ५ गतेबाट नै नगरमा तालाबन्दी गरेको उनले बताए ।

साउनदेखि अहिलेसम्मको पारिश्रामिक नपाएको भन्दै कमबजार नगरपालिकाको शिक्षक महासंघले पनि आइतबारदेखि नगरभित्रका सबै विद्यालय बन्द गरेर आन्दोलन सुरु गरेको छ । नगरभित्र रहेका ४६ विद्यालय आइतबारदेखि बन्द गरेर ३ सय ७८ जना शिक्षक आन्दोलनमा गएको शिक्षक तपेन्द्र बहादुर शाहीले बताए । ‘यसअघि पनि पटक–पटक हाम्रो तलबभत्ता निकास गरिदिन भनेर नगरपालिकाका जिम्मेवार पदाधिकारीलाई जानकारी गरायौं । कात्तिक १२ गते तलब दिन्छौं २४ गते दिन्छौं भनेर टार्ने काम भयो,’ उनले भने, ‘अहिलेसम्म तलब नपाउँदा गाह्रो भएको छ । आन्दोलन नगरी सोझो तरिकाले हाम्रो तलबभत्ता नआउने देखियो ।’ उनका अनुसार आन्दोलनका कारण नगरका ८ हजार विद्यार्थी पढाइबाट वञ्चित भएका छन् । तलब आउने सुनिश्चित हुनेबित्तिकै शिक्षकहरू विद्यालय खोल्न तयार भएको उनले बताए ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका मेयर र उपमेयरसहितको कार्यपालिकाले राखेका ८२ जना करारका कर्मचारीलाई हटाएर नयाँ कर्मचारी राख्नु पर्ने उपमेयर शारदा विष्ट कुवँरको अडान रहेको छ । मेयर ढकालले करारका पुराना कर्मचारीको म्याद थपेर उनीहरूलाई नै राख्नु पर्ने अडान राखेकाले विवाद चर्किएको छ । गत वर्ष पनि यही विषयमा विवाद भएपछि असोज ४ गते मात्रै कमलबजार नगरपालिकाले बजेट ल्याएको थियो ।

कांग्रेस र एमालेबीचको विवादले नगरपालिकाको नियमित काम नै प्रभावित भएको छ । पटक–पटक कांगेस र एमालेका प्रतिनिधिबीच विवाद समाधानका लागि बैठक बस्ने र सहमति गर्ने गरे पनि हालसम्म गरेका सहमति कार्यान्वयन हुन सकेका छैनन् ।

प्रकाशित : मंसिर १३, २०८० १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×