कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कमलबजार नगरमा विवाद समाधान गर्न ९ बुँदे सहमति

मेनुका ढुंगाना

अछाम — जिल्लाको कमलबजार नगरपालिकाको विवाद समाधान गर्न ९ बुँदे सहमति भएको छ । आन्दोलनरत कर्मचारी, नगर प्रमुख र उपप्रमुखबीच बुधबार छलफलपछि सहमति गरिएको हो ।

कमलबजार नगरमा विवाद समाधान गर्न ९ बुँदे सहमति

सहमतिपछि नगर प्रमुख यज्ञप्रसाद ढकाल, नगर उपप्रमुख शारदा विष्ट कुँवर, निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्गबहादुर विष्ट र करार कर्मचारी संघर्ष समिति संयोजक देवेन्द्र बहादुर शाहीले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिअनुसार हटाइएका करारका कर्मचारीलाई म्याद थप गरेर काममा फर्काउने, मंसिर २४ गते नगरसभा बैठक आयोजना गर्ने, कात्तिक मसान्तसम्मको सम्पूर्ण कर्मचारी र शिक्षकको पारिश्रमिक भुक्तानी प्रक्रिया अघि बढाउने, कात्तिक मसान्तसम्म मासिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुको पारिश्रमिक यही मंसिर मसान्तसम्म भुक्तानी गर्नेलगायत बुँदा छन् ।

यस्तै करारसेवामा पदपूर्तिसम्बन्धी कार्यविधि तर्जुमा गरी २०८० कात्तिक मसान्त करार सेवा/मासिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई आन्तरिक सीमित प्रतिस्पर्धाबाट पदपूर्तिको प्रक्रिया अगाडि बढाउन नगरसभामा पेस गर्ने, कार्यालयको रिक्त दरबन्दीमा करार सेवामा कार्यरत कर्मचारीहरुको करार सम्झौता थप सम्बन्धमा आगामी दिनमा कुनै विवाद नगर्ने, कात्तिक मसान्तसम्म रिक्त रहेको स्वीकृत दरबन्दीमा करारसेवामा पदपूर्तिसम्बन्धी कार्यविधिबमोजिम खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति प्रक्रिया अगाडि बढाउने विषय संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकाको कार्यालय र वडा कार्यालयमा लगाएको ताला खोल्ने, मंसिर १४ गते बिहीबारबाट पालिकाका सबै विद्यालयमा शिक्षण क्रियाकलाव सञ्चालन गर्न/गराउन नेपाल शिक्षक महासंघ कमलबजारलाई अनुरोध गर्ने सहमति भएको छ ।

नगर प्रमुख यज्ञप्रसाद ढकाल करार कर्मचारी हटाउन नहुने र उपप्रमुख विष्ट कुँवर हटाउनु पर्ने पक्षमा उभिएपछि लामो समयदेखि नै विवाद थियो । कांग्रेसबाट निर्वाचित मेयर ढकाल कार्यपालिकामा अल्पमतमा र एमालेबाट निर्वाचत उपमेयर कुँवर बहुमतमा छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित मेयर, उपमेयरलगायतको कार्यपालिकाले राखेका कर्मचारी हटाउनु पर्नेमा उपमेयर ढकालको जोड थियो । तर, त्यसको विपक्षमा मेयर देखिएपछि अहिलेसम्म नगरले बजेट नै ल्याउन सकेको छैन । नगरसभा पनि हुन सकेको छैन ।

कात्तिक २१ गते बसेको कमलबजार नगरको कार्यपालिका बैठकले ८२ जना करारका कर्मचारी हटाउने निर्णय गरेको थियो । उक्त निर्णयको चर्को विरोध भएपछि मेयर ढकालले मंसिर ५ गते प्रेस विज्ञप्ति जारी गर्दै हटाइएका सबै कर्मचारीलाई काममा फर्कन भनेका थिए । कार्यपालिका बैठकको निर्णयले कर्मचारी हटाएकाले काममा फर्किन पनि कार्यपालिका बैठकको निर्णय निर्णय चाहिने अडानमा हटाइएका करारका कर्मचारी थिए ।

कर्मचारीको विवाद चलिरहेको बेला कमलबजार नगरपालिका शिक्षक महासंघले पनि साउनदेखिको तलबभत्ता माग्दै आइतबारदेखि नगरभित्रका विद्यालय बन्द गरे आन्दोलन थालेपछि सहमतिका लागि मेयर र उपमेयर पक्षलाई दबाब बढेको थियो । नगरभित्र ४६ विद्यालय र ३ सय ७८ जना शिक्षक छन् ।


प्रकाशित : मंसिर १३, २०८० २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×