कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

गाँजा बनाउने ठाउँमा प्रहरीको छापा, ९१ केजी गाँजा र कच्चा पदार्थ बरामद

तीन जना पक्राउ 
वसन्तप्रताप सिंह

बझाङ — गाँजा बनाउने उद्योगबाट प्रहरीले ठूलो परिमाणमा कच्चा पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ । खप्तड छान्ना गाउँपालिका ७ गोर्खालीबाट गाँजा, गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थ र गाँजा बनाउन प्रयोग हुने भाँडाकुँडासहित तीन जनालाई पक्राउ गरिएको छ । 

गाँजा बनाउने ठाउँमा प्रहरीको छापा, ९१ केजी गाँजा र कच्चा पदार्थ बरामद

गोर्खाली गाउँका स्थानीय खडकबहादुर खड्काको घरमा लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा खानतलासी गर्दा तयारी गाँजा १४ किलो २१० ग्राम, गाँजाको दाना र पातसहितको कच्चा पदार्थ ७७ किलो ३०५ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ६४ वर्षीय घरबेटी खड्कासहित गाँजा बनाउने काममा संलग्न गोरखा अजिरकोट गाउँपालिका २ खरिबोटका ३८ वर्षीय सन्तोष गुरुङ र पर्सा जिल्ला सुकौली पटौली गाउँपालिका ३ का ५५ वर्षीय राम गुरुङलाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट गाँजा बनाउने काममा प्रयोग हुने प्लाष्टिकका बाटा ५ वटा, डिजिटल तराजु, कैंचीं, ब्लेड, कार्टुनटेप, रबरका पोका, गाँजा छान्न प्रयोग गरिने कपडा र प्याकिङ गर्न प्रयोग हुने प्लाष्टिक समेत बरामद भएको प्रहरीले पत्रकार सम्मेलन मार्फत् जानकारी दिएको छ ।

पक्राउ परेका व्यक्तिले गाँजा बनाउने उद्योग नै चलाएर बाहिर पठाउनका लागि काम गरिरहेको बुझिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी भरत शाहले बताए । ‘गाँजाको बढी कारोबार हुने पर्सा जिल्लाका मानिस पनि पक्राउ परेकोले गाँजा बनाउने यस्ता उद्योगहरू अन्त सञ्चालन भएका हुन सक्छन् भन्ने शंका छ,' शाहले भने, ‘यो कामको कामको पछाडि ठूलो नेटर्वक हुन सक्छ भन्ने लागेर अरु जिल्लालाई पनि सचेत गराएका छौं ।'

उनले एक जना स्थानीयले गुरुङद्वयलाई ल्याएको भन्ने सूचना प्राप्त भएको र उक्त व्यक्तिको पनि खोजी भइरहेको बताए । यो कारोबारमा संलग्न अरुको बारेमा अनुसन्धान पछि मात्रै भन्न सकिने उनको भनाइ छ ।

प्रकाशित : मंसिर ११, २०८० १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×