भारतले बन्देज नहटाउँदा पर्यटकलाई गड्डाचौकीबाट आवागमनमा झमेला

कोरोना संक्रमणका बेला भारतले विदेशी नागरिक प्रवेशमा लगाएको रोक अझै हटाएन‚ नेपाल पस्न पाइने फर्कन नपाइने
भवानी भट्ट

कञ्चनपुर — बेल्जियमकी लुसिया एक साता दिल्ली घुमेर गड्डाचौकी नाका हुँदै महेन्द्रनगर पुगिन् । विगतमा झैं गड्डाचौकी नाकाबाटै फर्किने योजनासहित उनले एक साताका लागि होटल तथा घुमफिरको कार्यक्रम ट्राभल एजेन्सीबाट बुक गरेकी थिइन् । तर गड्डाचौकी नाकाबाटै फर्किन नपाउने भएपछि उनले पूर्व निर्धारित भ्रमणको योजना छोट्याइन् ।

भारतले बन्देज नहटाउँदा पर्यटकलाई गड्डाचौकीबाट आवागमनमा झमेला

दुई दिनमात्रै महेन्द्रनगर क्षेत्रमा घुमेर भैरहवा नाकाबाट भारत पसिन् । लुसिया २०१६ देखि नियमित नेपाल आइरहेकी छन् । कोरोना संक्रमणका बेला रोकिएको उनको घुमफिर फेरि सुरु भएको हो । सुदूरपश्चिमका अधिकांश जिल्ला घुमिसकेकी उनी खप्तडमा समेत पुगेकी छन् । उनले यस्ता यात्रामा साथीभाइलाई समेत घुम्न ल्याउने गरेकी छन् ।

भारत हुँदै नेपालको सुदूरपश्चिममा घुम्ने र यहीँको बाटो दिल्ली फर्कने उनको योजना थियो । कोरोना संक्रमणका बेलादेखि भारतले विदेशी नागरिक प्रवेशमा लगाएको रोक नखोल्दा निकै समस्या भयो । महेन्द्रनगरबाट साढे ३ सय किलोमिटर दुरीमा रहेको दिल्ली पुग्न भैरहवाबाट झण्डै १ हजार किलोमिटर हाराहारी बढी यात्रा गर्नुपर्‍यो । जसका कारण समयसॅंगै खर्च पनि बढ्यो ।

‘हामीले त यहीँ घुमेर एक हप्तामा फर्किने योजना बनाएका थियौं । त्यहीअनुसार होटल पनि बुक गरेका थियौं,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेवैको शुक्लाफाँटा जंगल कटेजमा भेटिएकी लुसियाले भनिन्, ‘तर यहाँबाट भारत फर्किन नपाइने रहेछ । भारतबाट नेपाल आउन मात्रै पाइने रहेछ ।’ उनको टोली एक हप्ता घुम्ने योजना दुई दिनमै छोट्याएर भैरहवा नाकाबाट फर्किएको छ ।

लुसिया लेखिका हुन् । त्यही भएर बेला-बेलामा घुम्न निस्कन्छिन् । सुदूरपश्चिमका अधिकांश जिल्ला घुमिसकेकी उनी यही क्षेत्रमा रमाउँछिन् । ‘यहाँको वातावरण निकै रमाइलो छ, घुम्ने ठाउँहरु प्रशस्त छन्,’ उनले भनिन्, ‘जति घुमे पनि धित मर्दैन ।’

बेल्जियमका ४ र नेदरल्याण्डका २ जनासहित भारतको दिल्लीका एक जना ट्राभल एजेन्सीका कर्मचारीसमेत गरि ७ जनाको टोली गत साता महेन्द्रनगर पुगेको हो । उनीहरुले महाकालीमा निर्मित झोलुंगे पुल, वेदकोट ताल, ब्रम्हृदेव क्षेत्र घुमफिर गरे । असोज १ बाट शुक्लाफाँटामा निकुञ्जभित्र सफारी खुल्ने जानकारी पाएका उनीहरु त्यसको आनन्द लिने योजनामा पनि थिए । तर गड्डाचौकी नाकाबाटै फर्किन नपाउने भएपछि उनीहरु भ्रमण अवधि छोट्याएर फर्किएका हुन् ।

‘यहीँका क्षेत्र घुम्ने तराई र पहाड सबै ठाउँ घुम्ने योजना थियो,’ अर्की बेल्जियम नागरिक निकोलीले भनिन्, ‘हामी पहिलो पटक नेपाल आएका हौं तर यहाँ घुम्न नपाइ हतार हतारमा जानुपर्‍यो ।’ उनीहरुलाई दिल्लीमै गड्डाचौकीबाट विदेशी नागरिकलाई भारत प्रवेशमा रोक लगाएको जानकारी थिएन । उनीहरुले विगत झैं यहीँबाट फर्किने योजनाअनुसार घुमफिर कार्यक्रम तय गरेका थिए ।

गड्डाचौकीस्थित अध्यागमन कार्यालयमा पुगेपछि मात्रै उनीहरुले यही नाकाबाट फर्किन नपाइने जानकारी पाए । त्यसपछि उनीहरुले आफ्नो पूर्वनिर्धारित कार्यक्रम परिवर्तन गरे । ‘झोलुंगे पुल, वेदकोट ताल र लिंगा क्षेत्र निकै रमाइलो रहेछ,’ श्रीमान विलिसँगै यहाँ पुगेकी निकोलीले भनिन्, ‘अझै धेरै ठाउँ घुम्ने योजना थियो, त्यो सबै स्थगित भयो ।’

‘हामीले महेन्द्रनगरसम्मको घुमफिर योजना बनाएका थियौं, त्यहीअनुसार खर्चको इष्टिमेट पनि गरेका थियौं,’ पर्यटक घुमाउन महेन्द्रनगर पुगेका दिल्लीको इण्डिया इण्डिभिजुअल ट्राभल्सका रतनसिंहले भने, ‘हामीले भैरहवाबाट घुमेर जाँदा दोब्बर यात्रा गर्नुपर्छ, त्यसका लागि खर्च र समय पनि बढी लाग्छ ।’ वर्षमा ३/४ पटक विदेशी पर्यटकको टोली लिएर उनी नेपाल आउने गरेका छन् । कोरोना संक्रमणपछि पहिलो पटक गड्डाचौकी नाकाबाट प्रवेश गरेका उनलाई यो नाकाबाट विदेशी नागरिक प्रवेशमा भारतले लगाएको रोकबारे जानकारी नभएको बताए ।

२०१९ सम्म गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भारत प्रवेश गर्न पाउथे । कोरोना संक्रमणका बेला भारतले विदेशी नागरिक प्रवेशमा लगाएको रोक अझै खोलेको छैन । नेपालका केही सीमित प्रमुख नाकाबाट मात्र विदेशी नागरिक प्रवेश गर्न पाउने भए पनि पश्चिम नेपालको कञ्चनपुरमा पर्ने गड्डाचौकी नाकामा भने अझै रोक लगाइएको छ । जसका कारण भारतको दिल्ली, हिमाञ्चल र उत्तराखण्डका विभिन्न क्षेत्र घुमेर केही दिन यहाँको गड्डाचौकी नाका हुँदै नेपाल भित्रिने विदेशी पर्यटकलाई भारततिर फर्कन समस्या भएको छ । उनीहरु यही नाकाबाट फर्किन नपाउने भएका कारण यहाँ आउन नसकेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

‘दिल्ली, नैनीताल, देहरादुन, बद्रीकेदार र केदारनाथ लगायतका क्षेत्रमा घुम्न आउने पर्यटक यहाँ आउन चाहन्छन् । विगतमा आउथे पनि,’ पर्यटन व्यवसायी परमानन्द भण्डारीले भने, ‘तर यहीँबाट फर्किन नपाउने भएपछि उनीहरु आउन छाडेका छन् ।’ उनका अनुसार होटेल र स्पामा काम गर्ने विदेशी नागरिकले निश्चित अवधिका लागि भारत छाडनुपर्ने हुन्छ । त्यसका लागि दिल्ली, उत्तराखण्ड र हिमाञ्चलमा कार्यरतहरुका लागि गड्डाचौकी नाका निकै उपयुक्त मानिन्छ । तर उनीहरु फर्किन नपाउने भएपछि समस्या भएको छ ।

गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अनुसार सन २०२३ को हालसम्म यो नाकाबाट ५४१ जना विदेशी पर्यटक भित्रिएका छन् । तर उनीहरु फर्किदा भने अन्य नाका प्रयोग गर्नु पर्ने बाध्यतामा छन् । ‘यही नाकाबाट फर्किन पाउने भए अझै धेरै पर्यटक भित्रिन सक्थे,’ अध्यागमन कार्यालयका प्रमुख पदमराज भट्टले भने, ‘कोरोना संक्रमणका बेला प्रवेश रोक लगाएको अझै खुलेको छैन, जसका कारण पर्यटकहरुलाई समस्या छ ।’

प्रकाशित : आश्विन ४, २०८० १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?