कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

दुई बालिकामाथि सामूहिक बलात्कारको आरोपमा ३ जनाविरुद्ध मुद्दा दर्ता 

वसन्तप्रताप सिंह

बझाङ — बझाङको मष्टा गाउँपालिकामा दुई जना बालिकामाथि सामूहिक बलात्कार भएको छ । मष्टा गाउँपालिकामा दुई जना बालिकालाई ३ जनाले बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ । 

आरोपित तीनै जनाको उमेर नखुलेको र उनीहरू घटनास्थलबाटै फरार रहेको प्रहरीले जनाएको छ । पीडित १२ र १३ वर्षका बालिका अहिले जिल्ला प्रहरी कार्यालयको महिला सेलमा छन् ।

गत भदौ १४ गते साँझ ६ बजेतिर पसल हिँडेका बालिकालाई आरोपितले स्थानीय सरस्वती मावि हातामा बोलाएको र नजिकैको जंगलमा लगेर बलात्कार गरेको बालिकाका आफन्तले बताएका छन् ।

‘साँझ ६ बजे गाउँनजिकैको पसलमा कापी किन्न भान्जीसँग पसल गएकी हो । त्यहीँनेर स्कुलमा खेलिरहेका तीन जनाले मेरी छोरी र भान्जीलाई बोलाएर चाउचाउ बिस्कुट खुवाएछन् । त्यहाँबाट आसीकारन्या जंगलमा लगेर बलात्कार गरेर भागेछन्,’ एक पीडित बालिकाकी आमाले भनिन्, ‘मध्यरातमा छोरी र भान्जी भेटायौं । त्यतिबेला दुवै जना होसमा थिएनन् ।’

पीडितका आफन्तलाई पीडकका आफन्तले धम्क्याइरहेको पनि उनले बताइन् । ‘उनीहरूका आफन्तले हामीलाई त्यत्तिकै आरोप लगाउने ? खुकुरी हान्दिछौं भनेर उल्टै थर्काइरहेका छन् ।’

जिल्ला प्रहरी कार्यालय बझाङले भने आरोपितहरुको खोजी भइरहेको बताइरहेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दीपेश चौधरीले भने, ‘स्वास्थ्य जाँच गर्दा बालिकामाथि करणी गरेको प्रमाणित भइसकेको छ । मुद्दा दर्ता गरेर अभियुक्तको खोजी भइरहेको छ ।’ उनले अभियुक्तहरूको उमेर प्रमाणित गर्नका लागि वडालाई पत्र लेखिएको र अदालतबाट पक्राउ पुर्जी लिएर खोजी कार्य भइरहेको बताए ।

प्रकाशित : भाद्र २९, २०८० १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×