२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

शुक्लाफाँटाको मध्यवर्ती क्षेत्रमा चिनियाँ बकुल्ला

भवानी भट्ट

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बेलडाँडी गाउँपालिकाको झिलमिला क्षेत्रमा चिनियाँ बकुल्ला (चाइनिज पण्ड हिरन) भेटिएका छन् । नेपालका लागि फिरन्ते चराको रुपमा रहेका यी बकुल्ला सुदूरपश्चिममा पहिलो पटक देखिएको विशेषज्ञहरूले बताएका छन् ।

शुक्लाफाँटाको मध्यवर्ती क्षेत्रमा चिनियाँ बकुल्ला

आइतबार तोप चरा गणनाका क्रममा झिलमिला क्षेत्रको खेतमा उक्त बकुल्ला देखिएको नेपाल पंक्षी संरक्षण संघका हिरुलाल डगौंराले बताए । उनका अनुसार यसअघि उक्त बकुल्ला गत वर्ष चितवनमा र एक महिनाअघि मात्रै जेठ ६ मा पोखरामा देखिएको थियो ।

‘नेपालका लागि यो फिरन्ते चरा हो,’ डगौंराले भने, ‘चितवनयता पहिलो पटक देखिएको हो ।’ उनका अनुसार चीन, दक्षिण कोरिया र जापानका लागि भने यो रैथाने चरा हो । बसाइ सर्ने क्रममा यसले नेपालको बाटो प्रयोग गर्ने गरेको उनले बताए ।

अन्य बकुल्ला जस्तै भए पनि यसको टाउको, घाँटी र छातीमा हुने कटुस रंगले यसलाई पहिचान गर्न सकिने डगौंराले बताए । आसकोटे, वस्तु, मझौला सेतो र सानो सेता बकुल्लासँगै यी बकुल्ला धानबारीमा आहारा खोजिरहेको अवस्थामा चिनियाँ बकुल्ला देखिएका हुन् ।

चिनियाँ बकुल्ला देखिएसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराको संख्या ४६१ पुगेको निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए । उनले सुदूरपश्चिममा यो प्रजातिको अभिलेख पहिलो पटक गरिएको बताए ।

एक महिनाअघि मात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नेपालकै लागि नयाँ प्रजातिको लेसर ग्रे स्राईक नामको चरा भेटिएको थियो । चरा अनुगमनकै क्रममा निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने सुनवन नदी तटीय क्षेत्रका कालापानी क्षेत्रमा उक्त चरा देखिएको थियो ।

प्रकाशित : असार १८, २०८० १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?