कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०५

रोपाइँको तयारीमा पश्चिम तराईका किसान

मोहन बुडाऐर

धनगढी — आकाशे पानीको पखाईमा बसेका किसान मनसुन सक्रिय हुन थालेको देखेर खुसी हुँदै रोपाइँको तयारीमा व्यस्त हुन थालेका छन् ।

रोपाइँको तयारीमा पश्चिम तराईका किसान

पुरुषहरु धान रोपाइँका लागि खेतको आली बनाउन र दोहोरो जोताइ गर्न बिहानैदेखि खेतमा व्यस्त हुन थालेका छन् । महिलाहरु धानको बेर्ना उखेल्नमा लागेका छन् । रोपाइँका लागि अझै पर्याप्त पानी भने परेको छैन । तर आकाशमा मडारिरहेको कालो बादलले रोपाइँको लागि किसानलाई तम्तयार पारिरहेको छ ।

धनगढी उपमहानगरपालिका हसनपुरका पुरुन चौधरी शनिबार बिहानै खेतमा फरुवा समातेर खेतको आली हाल्न सुरु गरे । उनकी पत्नी धानको बेर्ना निकाल्न थालेकी छन् । ‘आकाशमा कालो बादल मडारिएको देखेर रोपाइँको सुरसारमा छौं,’ उनले भने, ‘भरे बेलुका वा रातिसम्ममा पनि पानी परे भोलि बिहान रोपाइँ गर्न पाइन्छ कि भन्ने लागेको छ । तर भर छैन । बादल मडारिएको दुई दिन भइसक्यो ।’

त्यस्तै, खेतको आली मिलाउँदै गरेका सुमन चौधरीले जतिबेला पानी पर्छ उतिबेलै रोपाइँ गर्न सकियोस् भनेर खेत सम्याएर र आली बनाएर तयार पार्न लागेको बताए । आकाशे पानीको भरमा खेती गर्ने किसान पानी पर्ने जस्तो भएपछि पानी बग्न नदिन माटोको आली गरामा लगाउने गर्छन् । रोपाइँका लागि पर्याप्त पानी भएपछि रोपाइँ गर्छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका हसनपुरका किसानहरु धान रोपाइँको तयारीमा । तस्बिर : मोहन बुढाऐर

‘आकाशमा बादल मडारिन सुरु भएकोले पानी पर्लाजस्तो लागेको छ,’ सुमनले भने, 'पहिलो वर्षाको पानीमा रोपाइँ गर्न भ्याएमा धानको बेर्ना बुढो हुनबाट जोगिन्थ्यो ।’ चापाकलमा मोटर जोडेर निकालिएको पानीबाट उनले जेठको पहिलो सातामै धानको बेर्ना लगाइसकेका थिए । मनसुनी भरमा बस्ने उनी मात्रै होइनन्, अधिकांशले चापाकलबाट निकालेको पानीबाट धानको ब्याड राख्ने गरेका छन् ।

धनगढी उपमहानगरपालिका ११ का देवीदत्त जोशीले आकासे पानीकै भरमा रोपाइँ गर्दा कहिले समयमै रोपाइँ हुन्छ, कहिले बेर्ना बुढो भएपछि रोप्नु पर्ने अवस्था आउने बताए । तर उनले यसपटक पानी समयमा पर्ला जस्तो गरेर मनसुन सक्रिय हुन थालेको बताए ।

पश्चिम तराईमा बिहीबारदेखि मनसुन सक्रिय हुन थालेको छ । कैलाली र कञ्चनपुरमा बिहीबारदेखि सामान्य वर्षा र चिसो हावा चलेको छ । आकाश मनसुनी बादलले मडारिएकोले प्रचण्ड गर्मीमा शितलता छाएको छ ।

सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी धान उत्पादन हुने कैलाली जिल्लामा ७२ हजार हेक्टर क्षेत्रफलमा धानबाली लगाइन्छ । जसमध्ये ६० प्रतिशतभन्दा बढी किसान अझै आकाशे पानीकै भरमा रोपाइँ गर्छन् । डिपबोरिङ र नहरको सुविधा भएका किसानहरुको भने रोपाइँ सुरु भइसकेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्र शर्माले जिल्लामा अधिकांश किसान आकाशे पानीकै भरमा रोपाइँ गर्ने भएकोले असारको अन्तिमतिर मात्रै कैलाली जिल्लामा रोपाइँ सकिन्छ । अहिले नहरको सुविधा भएका किसानले रोपाइँ गर्न थालेका छन् ।

प्रकाशित : असार १०, २०८० १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?