कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

पानी नपर्दा खडेरीले खेत बाँझै

मेनुका ढुंगाना

अछाम — माथि खेत, त्यसको लगभग पाँच सय मिटर तल सेती नदी बग्छ । उहिले वैशाखको अन्तिमसम्ममा रोपाइँ सकिइसक्ने भए पनि यो वर्ष मंगलसेन नगरपालिका १३ का धेरै स्थानमा असार लाग्दा पनि खेत बाँझै छ ।

पानी नपर्दा खडेरीले खेत बाँझै

खडेरीले रोपाइँ धकेलिएपछि किसान आकासे झरी कुरेर बसेका छन् । अछाम जिल्लाकै बढी धान उत्पादन हुने यो क्षेत्रमा रोपाइँका लागि पर्याप्त पानी नपरेपछि स्थानीय चिन्तित बनेका छन् ।

स्थानीय धनवीर नेपालीका अनुसार बस्तीको आमाडालाका ५०, बडपिपलका ६, भावर खोलाका ३०, नवाडीका ७, बडीघाटका १०, कोसैनका २० र भिमलाका ४० गरी १६३ खेतमा अहिलेसम्म रोपाइँ हुन सकेको छैन । ‘कहिले पानी आउँछ र रोपाइँ गरौंला भनेर किसान जति सबै खेतमा रातभर जाग्राम बस्ने गरेका छन्,’ धनवीरले भने, ‘खेतमै त्रिपाल टाँगेर खेत रोपाइँका लागि बस्नुपरेको छ । २ वर्षअघि पनि यस्तै भएको थियो । नगरपालकाले सिँचाइका लागि पाइप दिन्छौं भनेर आश्वासन दिएको पनि धेरै भइसक्यो । अहिले कसैलाई मतलब छैन ।’

स्थानीयका अनुसार खेतीयोग्य जमिनमा सिँचाइ नहुँदा यहाँका किसानले खाद्यान्न अभाव झेल्नुपर्ने बाध्यता छ । वर्षामा अलि बढी पानी पर्दा आकासे पानीको मौका छोपी खेती गर्नुपर्ने उनीहरूको पुरानो चलन हो । खेतसँगै जोडिएको छ सेती नदी । तर छेउमै रहेको खेत हिउँदमा मात्र होइन, वर्षामा पनि सुक्खै रहन्छ । रोपाइँ गर्न आकाशे पानी पर्खिनुपर्छ । बेलामा पानी परेन भने खेत बाँझै रहने भएपछि यहाँका किसान वर्षभर खाने अन्न खोज्न तराईतिर जाने गरेको स्थानीय एकेन्द्र धामीले बताए । बिजुली पनि नपुगेको यस क्षेत्रमा पम्प र लिफ्ट गरी सिँचाइ गर्न पनि असम्भव रहेको उनले बताए । भएको खेतमा पानी नलाग्दा गाउँका धेरै जग्गा बाँझै छन् ।

‘एक पटक जोत्नुपर्ने खेत ३ पटक जोतियो तर रोपाइँ नै हुन सकेको छैन,’ धामीले भने, ‘बीउँ पनि ब्याडमै सुकिसक्यो अब पानी परे पनि उब्जनी हुने देखिँदैन ।’ उनका अनुसार सेती नदीको किनारमा रहेको हजारौं रोपनी खेत लोभलाग्दो गरी पाटा मिलेको छ  । तर खोलाको पानी खेतसम्म ल्याउन नसक्दा रोपाइँमा व्यस्त हुनुपर्ने किसान पनि फुर्सदिला छन् ।

‘जेठ सकिँदा समेत पानी नपर्दा खेती लगाउन नपाइएला कि भन्ने चिन्ताले यहाँका किसानलाई पिरोलेको छ,’ स्थानीय रमेश धामीले भने, ‘यी खेतमा सिँचाइ सुविधा भए वर्षको दुईपटक धान उत्पादन गर्न सकिन्छ । प्रशस्त मौसमी तथा बेमौसमी तरकारी उत्पादनको सम्भावना छ तर पानी नै नभएपछि थोरै खेतमा मात्र किसानले वर्षाको पानीको भरमा धान रोप्ने गरेका छन् ।’ उनका अनुसार खेतीमा लगाउने पानी भए यहाँ उत्पादन नहुने केही छैन ।

स्थानीयका अनुसार खेतमा कुलो लाग्दैन, खोलामा समेत पानी छैन । आकासे पानीको भर परेपछि खेत बाँझै छ  । खेतमा धानको बीउ राखेको दुई महिनाभन्दा बढी भइसक्यो, धान रोप्नका लागि पानी छैन । ‘आकासे पानीको भरमा रोपाइ गर्थ्यौं, यसपालि पानी परेन खेत बाँझै छ,’ बस्तीका परे धामीले भने । सिँचाइका लागि अन्य कुनै विकल्प नभएको उनले बताए । ‘यो वर्ष त भोकमरी नै पर्छ कि भन्ने चिन्ता लागेको छ,’ उनले भने ।

जिल्लामा १६ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ । समयमा नै मनसुन सक्रिय नभएका कारण धान रोपाइँ समयमा सुरु हुन नसकेको कार्यालयले जनाएको छ ।

प्रकाशित : असार २, २०८० १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×