कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काकाकुल चुरे

मोहन बुडाऐर

चुरे,कैलाली — मोहन्याल गाउँपालिका–६ बादेगौजाकी पार्वती घर्तिमगर नाउलोमा पानी भर्न लाम लागेकी थिइन् । पालो आउने बेलामा पानी नै सकियो । उनी रित्तो गाग्री र जर्किन लिएर घर फर्किन् । गाउँको एउटा खोल्सामा रसाएको सानो पानीको नाउलो बनाएका गाउँलेलाई पानी पुग्दैन । घर्तिमगर जसरी पालोमा पछाडि परेपछि खानका लागि पानी भर्न कसैले पाउँदैन । पानी भर्न नपाएको परिवारले पानी सापटी मागी खानुपर्छ ।

काकाकुल चुरे

मंगलबार नाउलोको पानी भर्न नपाउँदा रित्ता भाँडासहित घर फर्कंदै गरेकी पार्वतीले भनिन्, ‘हाम्रो गाउँमा त पानीको साह्रै दुःख छ ।’ उनका अनुसार हरेक दिन कोही न कोही परिवारले नाउलोको पानी भर्न पाएको हुँदैन । ‘जेठदेखि असार पानी नपर्दासम्म गाउँमा पानीको काकाकुल नै हुन्छ,’ गाउँका दिलबहादुर घर्तिमगरले भने, ‘नुहाउनु र लुगाकपडा धुनका लागि नाउलोबाट भरेको पानीको जोहो गर्न मुस्किल हुन्छ ।’ गाईगोरुलाई पानी खुवाउन दुई घन्टा तलको खोल्सामा लैजाने गरेको उनले बताए । एक जनाको ‘ड्युटी’ नै घरमा पानी भर्ने र पाल्तु जनावरलाई खोलामा लैजाने हुने गरेको उनले सुनाए ।

उनले बाजेगौजाको बासिन्दा अधिकांश पानीकै दुःखले चुरेफेद आमगैयामा बसाई सरेकको बताए । अहिले बाजेगौजामा १०/१५ परिवार मात्रै छन् । पानीका दुःखले बस्ती सर्दा सँगै बाजेगौजाका स्कुले बालबालिकाहरुको अध्ययन प्रभावित भएको मोहन्याल प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका घर्तिमगरले भने । ‘परिवार सँगै यहाँका स्कुुलका बालबालिकाहरु पनि सरे,’ घर्तिमगरले भने, ‘स्कुलमा पढने विद्यार्थीहरु नभएर, स्कुल नै तलतिर सार्नुपर्ने स्थिति छ ।’

उनका अनुसार जनजाति मगरहरुको एक्कल समुुदायको बादेगौजा पुरानो बस्ती हो । यहाँको प्रावि स्कुल पनि स्थापना भएको पनि पाँच दशक हुन थालेको छ । ‘स्कुलको आफ्नो ऐतिहासिकताले बाजेगौजाको बसाई सरेको नयाँ बस्ती आमगैयातिर स्कुल सार्न पनि सकिएको छैन,’ उनले भने, ‘यहाँबाट पानीका दुःखले बसाई रोक्न नसक्दा स्कुल विद्यार्थीहरु नभएर दरबन्दी कटानको डर छ ।’

दशक अघिसम्म बादेगौजामा संकट थिएन । ‘उहिले पनि नाउलोकै पानी खानु परे पनि मूलमा पानी पर्याप्त थियो,’ उनले भने, ‘पछिल्ला वर्षमा पानीको स्रोतमा कमि हुँदै आयो । अहिले जेठ, असारमा काकाकुलै पर्छ ।’

बादेगौजा मात्रै नभएर साबिकको सुगरखाल अर्न्तगतका सल्लेरी, भत्कुरी, पल्लीखेत, चैतेपानी नारंगे, सतीखोर लगायतका दर्जन बस्तीमा पानीको संकट छ । भैरवमाला मावी सुगरखालका शिक्षक अर्जुन जैसीले गाउँमा पहिल्यैदेखिका नाउलो र पँधेरोको पानी पिउँदै आएको बताए । ‘पछिल्लो समयमा नाउलो र पँधेरो मूलको पानी घटदै गएकोले संकट बढ्दै गएको छ,’ उनले भने, ‘स्थानीय, प्रदेश र संघ सरकारबाट पनि खानेपानीका ठूला योजना नपर्दा स्थानीयले पानीको दुःख भोग्दै आएका छन् ।’

मोहन्याल गाउँपालिका–३ सुगरखालको बस्तीको माथि शिरको मूलमा टंकी बनाएर बस्तीको छेउसम्म पुर्‍याइएको पानी भर्न लामबद्ध स्थानिय । उक्त पानी सकिएपछि पुनः टंकी भरिएपछि मात्रै पानी निकाल् मिल्छ । गाईगोरु र मान्छे सबैका लागि एउटै टंकीको पानी अपुग भइरहन्छ । तस्बिर : मोहन बुडाऐर/कान्तिपुर

चुरे गाउँपालिकाको उधर्मपानीका जयसिंह धामी पानीको समस्याले गर्दा बसाई सराइ गर्ने सोचाइमा छन् । २१ वर्षअघि उनी बैतडीको पुर्चौडी क्षेत्रबाट बसाई सरेर धर्मपानीमा पुगेका हुन् । यहाँको पवित्र पानीको लोभमा बैतडीको पुर्खौली थलो छोडेका जयसिंहलाई कालन्तरमा यही ठाउँमा पानीकै दुःख सहनु पर्ला भन्ने कल्पना समेत गरेका थिएनन् ।

४ घन्टामा तराई पुगिने, बाख्रा पालनका लागि उपयुक्त जंगल, लालाबाला बोकेर उनी आफन्तको सहयोगमा दुई रोपनी जग्गा किनेर बसोबास गर्न थालेका हुन् । पाँच वर्ष अघिदेखि उनको गाउँ छेउबाट सडक खन्न सुरु भयो । सडकसँगै अतिक्रमण पनि बढ्यो, मानव बस्ती पनि बढ्न थाले अनि सुरु भयो पानी संकट । एक मात्र धर्मपानीको मूल विस्तारै सुक्न थाल्यो । गत वर्षदेखि त पानी आउनै छोड्यो । अहिले डेढ घन्टा परको कुयापानीको मूलबाट पानी पिउँछन् ।

चुरेका डोजरले सडकको ट्रयाक खोल्दा एउटा गाउँको परम्परागत कुलो सुक्यो, अर्को गाउँका बासिन्दा पिउने पानीको दुःखले बसाई सर्ने सोचमा पुगेका हुन् जयसिंह । उनले गाउँका दर्जन बढी परिवार पानीका दुःखले गाउँ छोडेको बताए ।

कुनै बेला सिञ्चित हुने चुरेका खेतको परम्परागत कुलो सुकेर बाह्रैमास सिञ्चित खेत पाखोमा परिणत भएको छन् । मोहन्याल–७ धनाडी गाउँको नाम नै धान बढी फल्ने भएकोले रहेको थियो । अहिले त्यो खेत बाझै छ ।

‘चुरेको टुप्पामा रहेको धनाडीका खेतमा तराईको भन्दा बढी धान फल्थ्यो,’ स्थानीय वीरबहादुर थापामगरले भने, ‘वरपरका बस्तीका बासिन्दा रहरले पनि धनाडीमा रोपाइँ मनाउन आउँथे । अहिले न रोपाइँ हुन्छ । धान फल्ने खेत नै रह्यो ।’ धनाडीका खेत पाखोमा परिणत भएको छ । केही परिवारले आफ्नो खेत बाझो छोडिदिएको छ । केहीले मकै /कोदो जस्ता पाखोबाली लगाउने गरेको उनले बताए ।

खेत पाखो बन्नुको कारण परम्परागत कुलोमा बग्ने पानीको मूल सुकेर भएको हो । आफैं मूल सुकेको पनि हैन । तीन वर्षअघि स्थानीय सरकारले गाउँपालिकाको केन्द्र खिमडी जोड्ने सडक लैजान डोजरले चुरे फोडेर सडकको ट्रयाक खोल्यो । बर्खामा गएको पहिरोले सडकको तल्तिरको पानीको मूल पुरिएको अर्का स्थानीय दिनेश घर्तिमगरले बताए ।

‘सडक डोजरले खन्दा पहिरो गई कुलोको मूल पुरियो,’ उनले भने, ‘त्यो ठूलो पहिरो सफा गर्न सकिएन, अहिले खेत बाझै पाखोमा परिणत भएको छ ।’ उनका अनुसार स्थानीयले गाउँकै शिरमा फुटेको मूलको पानीलाई पिउने, खेत सिञ्चित गर्ने र गाउँमा कुटाइपिसाइको सुविधाका लागि ‘पानीघट्ट’ चलाएका थिए । मूलको संरक्षण बिनाको विकासले प्राकृतिक मूल भासिएको उनको कथन छ ।

पानीकै दुःखले मोहन्याल र चुरे गाउँपालिका अर्न्तगतका दर्जन बढी बस्तीको उठिबास भइ सकेको मोहन्यालका वीरेन्द्र बमले बताए । उनले दुवै गाउँपालिका प्रायः सबै वडाका बस्तीमा खानेपानीको संकट छ । उनले चुरेको जंगल तथा पानीको मूल संरक्षणतर्फ कसैको ध्यान नजाँदा बस्ती काकाकुल बन्दै गएको बताए ।

बस्ती बस्तीलाई जोडने सडक योजनाले पानीको स्रोत सुकाएको उनको कथन छ । ‘सडक पहुँच र बिस्तार बिना चुरेका बासिन्दाको विकास सम्भव छैन,’ उनले भने, ‘तर पनि पानीको मूल संरक्षण गरेर सडक सञ्जाल बिस्तार गर्न सकिएको भए अहिले चुरेका बस्ती काकाकुल हुँदैनथे । त्यसैले विकासले चुरेको प्राकृतिक स्रोतमा कम क्षती पुगाउँदै काम गर्नु पर्छ । जसले गर्दा यहाँका पानीको स्रोत पनि बच्छ । वनजंगल र चुरे पनि बच्छ ।’

मोहन्याल गाउँपालिका उपाध्यक्ष कमल साउँदले मोहन्याल गाउँपालिकाले खानेपानीको समस्या टार्नका लागि गुरुयोजना नै तयार पारेर प्राथमिकताका अधारमा योजना छनोट र कार्यन्वयन गर्दै आएको बताए । ‘कर्णाली जल परियोजनाले समेत मोहन्याल गाउँपालिकामा यो वर्ष ७ वटा खानेपानीका परियोजना सञ्चालन गरेको छ,’ उनले भने, ‘पाँच वर्षसम्म रहने कर्णाली परियोजनाले हरेक वर्ष ५ देखि ७ वटा खानेपानी योजना सुरु गर्दै सम्पन्न गर्दै जाने छ ।’ उनले कर्णाली परियोजनाका खानेपानी योजना सँगै पालिकाले आफ्नो स्तरबाट समेत केही खानेपानी योजना सञ्चालन गरेको बताए । उनले ४/५ वर्षमा कर्णाली जल परियोजना, पालिकाको, प्रदेश र संघ सरकारबाट प्राप्त खानेपानी योजनाको निर्माण सम्पन्न सँगै खानेपानी समस्या टर्ने उनले दाबी गरे ।

प्रकाशित : जेष्ठ २७, २०८० १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?