कर्णालीमा विपद् न्यूनिकरण अभ्यास 

अर्जुन शाह

धनगढी — वर्षात्‌को बेला हुनसक्ने जल प्रकोपसम्बन्धी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले कैलालीको चिसापानी क्षेत्रमा पर्ने कर्णाली नदीमा शुक्रबार नेपाली सेनाले ‘विपद् न्यूनिकरण संयुक्त कृत्रिम अभ्यास’ गरेको छ ।

नेपाली सेना सुदूरपश्चिम पृतना हेडक्वाटरको नेतृत्वमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतको संयुक्त टोलीले कर्णालीमा कृत्रिम अभ्यास गरेको हो । अभ्यासमा सेनाले बाढी तथा डुबानको समयमा फसेका व्यक्तिहरुलाई खोज तथा उद्धार, खोचमा फसेका व्यक्तिहरुलाई क्याराविनको सहायताबाट कर्णाली पुलबाट झरेर उद्धार अभ्यास गरेको थियो । सशस्त्र प्रहरीले गोताखोरबाट नदीमा बेपत्ताहरुको खोज तथा उद्धारको अभ्यास गर्नुका साथै घाइतेलाई उपचार प्रदर्शन गरेको सुदूरपश्चिम पृतनाले जनाएको छ ।

सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापालगायत सुरक्षा निकायका प्रमुखहरुको प्रत्यक्ष निरीक्षणमा सञ्चालन गरिएको अभ्यासले विपदमा एकीकृत रुपमा परिचालन भई खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन सहयोग पुग्ने देबीदल गण तेघरीका गणपती रवि केसीले बताए ।


प्रकाशित : जेष्ठ १२, २०८० २१:३६
प्रतिक्रिया
पठाउनुहोस्

जेठ १६ देखि मण्डलामा 'बुद्ध र भिखारी'

कान्तिपुर संवाददाता

काठमाडौँ — रंगकर्मी अनिल सुब्बा निर्देशित 'बुद्ध र भिखारी' जेठ १६ देखि मण्डला नाटकघरमा मञ्चन हुने भएको । चुलाचुली थिएटरको प्रस्तुति यस नाटक नेपाली लोककथामा आधारित छ ।

नाटकलाई छाया(स्याडो)को माध्यबाट प्रस्तुत गर्ने तयारी भइरहेको निर्देशक सुब्बाले बताए । यसअघि अन्तर्राष्ट्रिय थिएटर फेस्टिभलमा यो नाटक मञ्चन भएको थियो । त्यसबेला एक पटक मात्र नाटक मञ्चन भयो । तर अब भने दर्शकका लागि जेठ १६ देखि ३२ सम्म यो नाटक मञ्चन हुँदैछ ।

चेतन आङथुपोले नाटकको परिकल्पना गरेका हुन् । नाटकमा बेदना राई, प्रतिना राई, रमिता राई, रुपेश लामा, सन्जिव योगी, मोहन राई, नवीन चन्द्र अर्याल, प्रवीन मगर, सुनिल तामाङ, सौजन सेनेहाङलगायतको अभिनय छ ।

यसअघि 'चोरको स्वर'को निर्देशन गरेका अनिल रंगमञ्चका अब्बल कलाकारमध्येका मानिन्छन् । अनिलले केही फिल्ममा पनि अभिनय र निर्देशन गरिसकेका छन् ।

प्रकाशित : जेष्ठ १२, २०८० २१:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×