बजेट सुनिश्चितताको मागसहित सुदूरपश्चिम सरकारको टोली काठमाडौंमा

विपक्षी दलका नेता र सभामुख पनि टोलीमा सहभागी
सुदूरपश्चिमलाई क्षतिपूर्तिसहित विशेष प्राथमिकताको माग
अर्जुन शाह

धनगढी — कुनै पनि अनुदान रकम कटौती नगर्न र सूचकहरु निर्धारण गरेर निश्चित केही वर्ष आर्थिक स्रोतमाथि सुदूरपश्चिमलाई क्षतिपूर्तिसहित विशेषाधिकारको माग गर्दै सभामुख, प्रमुख प्रतिपक्षी दलका नेतासहित सुदूरपश्चिम सरकारको सिंगो टोली काठमाडौं पुगेको छ ।

संघीय सरकारले चालु आर्थिक वर्षकै समानीकरण अनुदानको अन्तिम किस्ताको रकम भुक्तानी रोक्ने पत्र पठाएपछि दबाब परेको सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट पनि कटौती हुने बताइएपछि झस्किएको छ । सुदूरपश्चिमलाई विकास सूचकका आधारमा विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न भन्दै अर्थमन्त्री प्रकाशशरण महतसहित शीर्ष नेताहरुलाई भेट्न प्रदेश सरकारको टोली काठमाडौं पुगेको हो ।

‘मंगलबार अर्थ मन्त्रीलाई भेटेर सुदूरपश्चिमलाई उपलब्ध हुने कुनै पनि अनुदान कटौती नगर्न र आगामी दिनमा कम्तिमा पनि निश्चित केही वर्ष केही सूचक निर्धारण गरेर आर्थिक स्रोतमाथि सुदूरपश्चिमलाई विशेषाधिकार प्रदान गर्न अनुरोध गरेका छौं,’ आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले भने, ‘सुदूरपश्चिम उपेक्षित भयो, बहिष्करणमा पारियो, स्रोतको पहुँचमा कमजोर बनाइयो र समग्र विकास सूचकांकमा पछाडि भयो । यसर्थ, संघीय सरकारले हाम्रो प्रदेशलाई विशेष प्राथमिकता र स्रोत वितरणमा क्षतिपूर्ति दिनुपर्छ भन्ने हाम्रो माग हो ।’ संघीय सरकारका नजरमा सुदूरपश्चिमको समग्र विकास अन्य प्रदेशभन्दा कमजोर हुनु हाम्रो मात्रै दोष होइन, यो समग्र राज्य व्यवस्थाको विभेदकारी नीति र कार्यक्रमको उपज भएको मन्त्री शाहीको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश सभाको जेठ ६ गतेको बैठकले समेत समानीकरण अनुदान कटौती नगर्न र आगामी दिनमा कम्तीमा पनि निश्चित केही वर्ष वा केही सूचक निर्धारण गरेर त्यसअनुसार स्रोतमाथि सुदूरको विशेषाधिकार प्रदान सर्वसम्मत निर्णय गरेको थियो ।

मन्त्री शाहीले प्रधानमन्त्री, योजना आयोगका उपाध्याक्षलगायत प्रमुख दलका शीर्ष नेताहरुलाई पनि भेट्ने कार्यक्रम रहेको बताए । ‘विकासका सवालमा सिंगो सुदूरपश्चिम एक ढिक्का छ भन्ने सन्देशसहित प्रमुख प्रतिपक्षी दलका नेता, सभामुखलगायत सिंगो सरकारको टोली उपस्थित भएर अनुरोध गरेका हौं,’ उनले भने ।

मुख्यमन्त्री कमलबहादुर शाहको अगुवाइमा सभामुख भीमबहादुर भण्डारी, निवर्तमान मुख्यमन्त्रीसमेत रहेका प्रदेशसभामा प्रमुख विपक्षी दलका राजेन्द्रसिंह रावललगायत सबै मन्त्रीहरु टोलीमा सहभागी छन् ।

प्रकाशित : जेष्ठ ९, २०८० १२:१७
प्रतिक्रिया
पठाउनुहोस्

कछुवाकै चालमा कछुवा अध्ययन

कछुवा पाल्न कानुनीरूपमा वर्जित छ भन्ने थाहा नहुँदा सामाजिक सञ्जालमा रमाइला भिडियो र फोटो हाल्नेहरूले प्रश्न उठ्नेबित्तिकै सुटुक्क प्राकृतिक बासमा लगेर छाडेका छन्
कछुवाले आफ्नो बच्चाको रेखदेख गर्दैन, एकपटक अन्डाबाट निस्किएपछि बच्चाले बााच्नका लागि आफैं संघर्ष गर्नुपर्छ
गोविन्द पोखरेल

काठमाडौँ — गत पुसमा काठमाडौंको गोकर्णेश्वर–५ बाट १९ वर्षीय एक युवक कछुवासहित पक्राउ परे । एमबीबीएसको परीक्षा तयारी गरिरहेका उनी सामाजिक सञ्जालमा कछुवाको तस्बिर राखेर बेच्न खोज्दै थिए । एक्वायरियम पसलबाट किनेर ल्याइएको कछुवा पाल्न मन नलागेर बेच्न खोज्दा पक्राउ परेका उनी धरौटीमा छुटे । 

गत भदौ तेस्रो साता बौद्धबाट २२ वटा कछुवासहित ३ जना पक्राउ परे । डिभिजन वन कार्यालय काठमाडौंकी अधिकृत धनमाया सुनुवारका अनुसार २१ वर्षका उनीहरू पनि धरौटी रकम बुझाएर छुटे । सामाजिक सञ्जालमार्फत नेपालमा कछुवाको खरिदबिक्रीका घटना बढ्दै छ । ५ वर्षयता काठमाडौं उपत्यकामा मात्रै अवैध बिक्रीवितरणका क्रममा १ सय ५२ वटा कछुवा सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । भारतीय सुन कछुवा, रातो काने कछुवा, थोप्ले कछुवा, धुरी कछुवा र अति संकटापन्न पहेंलो कछुवाका प्रजाति बढी ओसारपसार भएको पाइएका छन् । नेपालमा पहेंलो र धुरी प्रजाति मात्रै पाइने कछुवामा विद्यावारिधि शोधार्थी तपिलप्रकाश राई बताउँछन् । अवैध बिक्रीवितरण भइरहेको भेटेर सुरक्षाकर्मीले नियन्त्रणमा लिएका कछुवा सदर चिडियाखानामा राखिएका छन् ।

डिभिजन वन कार्यालय काठमाडौंको रेकर्डमा तीन वर्षमा कछुवाको अवैध बिक्रीवितरण गर्ने २१ जना पक्राउ परेका छन् । उनीहरूबाट ४७ वटा कछुवा बरामद भए । प्रहरीले कछुवासहित मानिसलाई नियन्त्रणमा लिएर कारबाहीका लागि वन कार्यालयमा बुझाउने गरेको छ । आरोपीमध्ये दुई जना अझै थुनामा रहेको उपसचिव सुनुवारले बताइन् । वन कार्यालय आफैंले अनुगमन भने गरेको छैन ।

भारत हुँदै नेपालका विभिन्न जिल्लामा एक्वारियममा राख्न र खानका लागि कछुवाको अवैध किनबेच हुने गरेको छ । नियामक निकायले यसबारे खासै चासो दिएको देखिँदैन छन् । अनुसन्धान गरिरहेकी अस्मिता श्रेष्ठ भन्छिन्, ‘मेरो अध्ययनमा कछुवाको संरक्षण गर्नुपर्छ भनेर वन कार्यालय र सरकारी कर्मचारीलाई ज्ञान छैन । अनि कसरी यो जीव जोगाउनुपर्छ भन्ने चासो हुनु ।’ सामाजिक सञ्जालका विभिन्न पेजमार्फत कछुवाको बिक्रीवितरण हुने गरेको देखिएको उनले बताइन् । कछुवाका प्रजातिबारे अध्ययन गर्दै रहेकी उनी यी जीवको महत्त्व धेरैले नबुझेको बताउँछिन् ।

नेपालमा १७ प्रजाति

शोधार्थी टपिलप्रकाशका अनुसार नेपालमा हालसम्म १७ प्रजातिका १९ खालका कछुवा पाइएको रेकर्ड छ । ४ प्रजाति अति संकटापन्न छन् भने ७ संकटापन्न अवस्थामा छन् । नेपालमा धेरैजसो भारतीय सुन कछुवा, रातो काने, थोप्ले, धुरी र पहेंलो कछुवा ओसारपसार र किनबेच हुने गरेको छ । रातो काने कछुवा मिचाहा प्रजातिको हो, उक्त यो नेपालमा पाइँदैन । यस्तै, पोखरी थोप्ले कछुवासमेत पाइँदैन । तर, यो प्रजातिको अवैध बिक्रीवितरण हुने गरेको छ । नेपालमा कछुवाको प्रजनन गराइँदैन । अवैध ओसारपसारबाट भित्रिन्छ । ‘मेचीदेखि महाकालीसम्मको अध्ययनमा कछुवालाई नेपालभित्रै ब्रिडिङ गराएको कतै पाइएन । अवैध रूपमा भित्र्याइन्छ । नेपालमै पाइने प्रजातिको किनबेच कम पाइएको छ,’ राईले भने ।


गत वर्षको जेठमा पर्सा प्रहरीले भारतबाट अवैध रूपमा नेपाल ल्याइएका १ सय १३ वटा कछुवासहित कलैय

संरक्षणकर्मी तथा ग्रिनहुडका निर्देशक कुमार पौडेल नेपालमा पाइने अधिकांश कछुवा साइटिस अनुसूचीमा सूचीकृत प्रजाति छन् । तिनको अवैध व्यापार नियन्त्रण नगरे लोप हुने जोखिम छ । अवैध व्यापार नियन्त्रण र संरक्षणका कार्यक्रममा कछुवाले प्राथमिकतामा पाउन नसकेको उनले बताए । ‘संरक्षित क्षेत्र र केही ठूला स्तनधारीमा नेपालले पाएको सफलतालाई कछुवाजस्ता संकटमा परेका तथा अपेक्षित वन्यजन्तुसम्म पुर्‍याउन जरुरी छ,’ उनले भने ।

अध्ययन न संरक्षण

मुलुकमा सरकारी तहबाट कछुवाको अध्ययन र संरक्षणमा निकै थोरै काम भएका छन् । अनुसन्धाता राईका अनुसार गत वर्ष नेपालका लागि नयाँ प्रजाति ब्ल्याक सफ्टसेल टर्टल मोरङको बेतनाबाट अभिलेख भएको छ । यो प्रजातिको कछुवा यसअघि भारत र बंगलादेशमा मात्रै अभिलेख गरिएको थियो । अर्की अनुसन्धाता श्रेष्ठले सन् २०२० मा लुम्बिनीमा इन्डियन आइड टर्टल (मोरेनिया पेटर्सी) प्रजाति फेला पारिन् । उक्त कछुवा हरैया खोलानजिक भेटिएको थियो । यो प्रजातिको अनुसन्धान निकै कम भएको उक्त आलेखमा उल्लेख छ । झापाको कोरोबारीस्थित चैनी सिमसारमा पाइने मयूरप्वाँखे कछुवा पनि लामो समयदेखि देखिन छाडेको छ ।

लाम्चे भनिने ठोटरी (इलंगेटेट इन्डोस्टुडो टर्टोइस) अति संकटापन्न मानिन्छ । साइटिस अभिसन्धिको अनुसूची–२ मा सूचीकृत यो कछुवा तराईदेखि चुरे क्षेत्रसम्म पाइन्छ । सालको जंगलमा पाइने यसलाई पहेंलो कछुवा पनि भनिन्छ । यो जमिनमा मात्रै बस्छ । कतिपयले समुदायले कछुवालाई रोग निको पार्ने, धेरै पोषणयुक्त भन्दै खाने गरेकाले संरक्षणमा चुनौती छ । पहेंलो कछुवा लजालु स्वभावको हुने र वन क्षेत्रमा लुकेर बस्ने श्रेष्ठले बताइन् ।

पहेंलो कछुवाका शोधार्थी परमानन्द राजवंशीले रूपन्देही र पाल्पा जिल्लामा १३ वटा प्राकृतिक बासस्थानमा फेला पारेका थिए । उनले ३ प्रजातिका १९ वटा कछुवा भेटेका थिए । कछुवा सिमसारको संरक्षणमा सहयोगी जीव मानिन्छ । तर यसमा अध्ययन, अनुसन्धान सरकारी प्राथमिकतामा छैन । ठूला जीवहरूको संरक्षण गर्दा साना जीवहरू आफैं जोगिने राज्यको मान्यता देखिन्छ । ठूला वन्यजन्तुलाई प्राथमिकतामा राखेर योजना निर्माण गरिन्छन् । साना जीव र वन्यजन्तुको क्षेत्रमा लगानी न्यून छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक महेश्वर ढकाल वन्यजन्तुको स्रोत नखुलाई कसैले पनि घरमा पाल्न नपाइने बताए । ‘जंगली कछुवा पाल्न विभागले कसैलाई पनि अनुमति दिएको छैन । यदि कसैले पालेको भए त्यो अवैध हो,’ उनले भने, ‘कछुवा घरमा पालिएको छ भने कानुनी कारबाही हुन्छ ।’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले अनुमतिबिना कछुवालगायतका वन्यजन्तुको ओसारपसार वा पालन निषेध गरेको छ । संरक्षित वन्यजन्तुको अवैध ओसारपसार वा पालन गरेमा ५ देखि १० लाख रुपैयाँ जरिवाना वा ५ देखि १५ वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था ऐनमा छ ।

के हो कछुवा ?

कछुवा शरीरमा खपटो भएको एकमात्र मेरुदण्डीय जीव हो । बोहराको सन् २००८ मा प्रकाशित अनुसन्धानात्मक आलेखअनुसार कछुवा मानवीय अतिक्रमणका कारण सबैभन्दा पहिले लोप हुने ढाड भएका जीवको सूचीमा छ । धेरै प्रजातिका कछुवा सिमसारमा आश्रित छन् । सिमसार क्षेत्र अतिक्रमणले कछुवा संकटमा परेको छ ।

टर्टल ट्याक्सोनो वर्ल्ड ग्रुपले सन् २०२१ मा प्रकाशित गरेको प्रतिवेदनअनुसार विश्वमा ३ सय ५७ प्रजातिका कछुवा छन् । तीमध्ये ६२.४ प्रतिशत प्रजाति लोप हुने खतराको सूचीमा छन् । नेपालमा इलंगेटेट टर्टोइस (लाम्चे कछुवा, ठोटरी) र तीन धर्के कछुवा (ट्राइक्यारिनेटा) जमिनमा पाइन्छन् । तराई क्षेत्र कछुवाको उपयुक्त बासस्थान हो । केही पानीको स्रोतनजिक, कुनै पानीभित्रै र दलदलमा बस्ने हुन्छन् । पर्यावरणीय दृष्टिले पनि कछुवाको विविध महत्त्व छ । यसले सिमसार र पानीमा पाइने वनस्पति खाएर अन्य जीवका लागि बासस्थान बनाइदिन्छ । पानीका वनस्पतिको उत्पादकत्व बढाउन सघाउँछ ।

सबैजसो कछुवाले प्रायः नदी तथा समुद्र किनारमा अण्डा पार्छन् । कछुवाको अन्डा केही जीवका लागि आहारा बन्छ । अन्डाले सामुद्रिक क्षेत्रमा उत्पादकत्व बढाउन भूमिका खेलेको हुन्छ । अन्डामा भएको करिब ८२ प्रतिशत ऊर्जा जमिनमा मिल्ने र त्यसमा रहेका क्याल्सियमजस्ता पौष्टिक तत्त्वले तटीय क्षेत्रमा घाँस एवं वनस्पति फैलाउन, कटान कम गर्न सघाउने मोसको सन् २०१७ मा प्रकाशित अनुसन्धानमा उल्लेख छ । कछुवाले समुद्र र जमिनबीचको पौष्टिक चक्रमा पनि प्रभाव पारेको अनुसन्धानले देखाएका छन् । कछुवाले परागसेचनमा पनि भूमिका खेल्छन् ।

कछुवाको शारीरिक वृद्धि पनि ढिलो हुन्छ । पाचन प्रक्रिया र कोषको वृद्धि ढिलो हुने भएकाले कछुवा धेरै वर्षसम्म बाँच्छन् । अन्डाबाट भाले निस्कन्छ कि पोथी, त्यो तापक्रमले निर्धारण गर्छ । औसत तापक्रमभन्दा केही बढी हुँदा पोथी र कम हुँदा भाले निस्कने गर्छ । कछुवाले बच्चा रेखदेख गर्दैन । अन्डाबाट निस्किएपछि बच्चाले बाँच्न आफैं संघर्ष गर्नुपर्छ । केहीलाई अन्य जीवले खाइदिन्छन् । कछुवाका बच्चा सर्वाहारी हुन्छन् । वयस्क हुँदै गएपछि शाकाहारी हुन्छन् ।

लामो समय बाँच्ने जीव भएकाले यिनको प्रजनन ५० वर्षसम्म हुने गरेको पाइएको छ । फिमेल फल्स म्याप टर्टल २ देखि ३ वर्षको उमेरमा वयस्क बन्छ भने मड टर्टल ३ देखि ४ वर्षमा । कमन स्न्यापिङ टर्टल १० देखि १२ वर्ष, मेक्सिकन टर्टोइस १४ देखि १५ वर्ष र अस्ट्रेलियाको ग्रेट बेरियर रिफमा पाइने कछुवा ४० वर्षमा प्रजननयोग्य बन्छन् । कछुवा गोहीभन्दा अघिदेखि अस्तित्वमा आएको जीव मानिन्छ । मानवीय अतिक्रमणसँगै यो जीव संकटमा परेको छ । सहरी क्षेत्रमा कछुवालाई घरपालुवा जीवका रूपमा राख्ने प्रचलन बढ्दै छ । यस्ता कछुवा अधिकांश बासस्थानबाटै चोरेर ल्याइएका छन् । अन्य मुलुकमा पाइने रातो काने कछुवा अहिले ‘एक्वारियम’मा राख्ने गरिएको छ । काठमाडौंको टौदहमा पनि अहिले यस्ता कछुवा ल्याएर छाडिएको पाइएको छ । नेपालका लागि यो कछुवा ‘मिचाहा प्रजाति’बन्दै गएकाले पारिस्थितिकीय प्रणालीलाई असर गर्ने निश्चित छ ।

१० वर्षअघि क्यारोन नेपालले गरेको अध्ययनले सुनसरी, कपिलवस्तु, रूपन्देहीमा बढी मात्रामा कछुवाको बेचबिखन हुने गरेको देखाएको छ । त्यस्ता कछुवा केही मासुका लागि, केही पाल्न र केही अन्य प्रयोजनले सहरमा पठाउने गरिएको उल्लेख छ । कछुवालाई हिन्दु धर्मावलम्बीले विष्णुको अवतारका रूपमा लिन्छन् । नेपाल र भारतका कैयौं मन्दिरमा विभिन्न प्रजातिका कछुवा राख्ने गरिएको छ ।

घरमा पनि आयातित प्रजातिका कछुवा पाल्ने चलन बढेको छ । कछुवा पाल्दा शुभ हुने धारणाका कारण पनि चोरीसिकार बढेको अनुसन्धानकर्मीको भनाइ छ । सरकारी तबरबाट चितवन र बर्दिया निकुञ्ज तथा सामुदायिक स्तरबाट झापामा केही पहल गरिए पनि त्यो पर्याप्त छैन ।

कछुवाबारे अनभिज्ञ सेलिब्रेटी

सिने कलाकार ऋचा शर्माले आफ्नो युट्युब च्यानलमा घरमा पालिएको कछुवा देखाएकी थिइन् । कछुवा पालिएको विषयलाई लिएर उनीमाथि प्रश्न उठेपछि शिवपुरी जंगलमा छाडिदिएको उनले बताइन् । ‘हाम्रो घरमा कछुवा पालेका थियौं । यसको महत्त्व र संरक्षणको हिसाबले कुनै जानकारी थिएन,’ शर्माले कान्तिपुरसित भनिन्, ‘यसको महत्त्व र कानुनी प्रावधान बुझेपछि घरमा काम गर्ने सहयोगीलाई भनेर शिवपुरीमा छाडिदिन भन्यौं ।’

कछुवाको भिडियो युट्युबमा हालेपछि धेरैले प्रश्न उठाएका थिए । त्यसको एक सातापछि कछुवालाई प्राकृतिक बासस्थानमा छाडिदिएको उनको भनाइ छ । कछुवा छाडेको बारेमा सामाजिक सञ्जालमा नहालेको उनले बताइन् । ‘मलाई पनि थाहा थिएन जब थाहा पाएँ त्यसपछि अरूलाई पनि यो जीवबारे भन्न थालें,’ उनले भनिन् ।

नायिक रेखा थापाले पनि घरमा कछुवा पालेकी थिइन् । धार्मिक महत्त्वको हिसाबले पालिए पनि आफू विपश्यना गएर फर्केपछि कछुवालाई प्राकृतिक अवस्थामा छाडिदिएको बताइन् । उनले भनिन्, ‘मैले पनि घरमा पालेको थिएँ जब मलाई जीवजन्तुलाई घरभित्र एक्वारियममा कैद गरेर राख्नु हुँदैन भन्ने लाग्यो त्यसपछि मैले कछुवालाई प्राकृतिक अवस्थामा नै छाडिदिएँ ।’ त्यस्तै पूर्वमन्त्री एवं जलस्रोत विज्ञ दीपक ज्ञवालीले गत वर्ष घरमा पालेको कछुवाको तस्बिर ट्वीट गरेका थिए । सामाजिक सञ्जालमा कानुनले कछुवा पालन वर्जित गरेको प्रतिक्रिया आएपछि उनले तत्कालै वन कार्यालयलाई फिर्ता गरेका थिए ।

प्रकाशित : जेष्ठ ९, २०८० ११:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×