महाकाली सिँचाइ आयोजना : उद्घाटन नहुँदा नहरमा पानी दिइएन

भारतीय पक्षले उद्घाटनपछि मात्रै पानी सञ्चालन हुने जानकारी दिँदै आएको छ तर उद्घाटन कहिले गर्ने भन्ने टुंगो छैन 
भवानी भट्ट

कञ्चनपुर — महाकाली सिँचाइ आयोजनाअन्तर्गत करिब २८ किलोमिटरसम्म मूल नहर निर्माण भइसकेको छ । उक्त क्षेत्रमा २२ वटा शाखा नहर निर्माणको काम पनि सुरु भइसकेको छ । दुई वटा पुराना सिँचाइ कुलोलाई शाखा नहर बनाउने काम भइरहेको छ । असार १५ मा बेदकोट नगरपालिका–४ को बगुनमा सोही नहरबाट पानी ल्याएर रोपाइँ पनि गरियो । तर त्यसयता भने नहरमा पानी बन्द भएको छ । 

भारतको टनकपुर ब्यारेजबाट पानी आउने उक्त नहरको औपचारिक उद्घाटन हुन नसकेका कारण पानी सञ्चालन हुन सकेको छैन । भारतीय पक्षले उद्घाटनपछि मात्रै पानी सञ्चालन हुने जानकारी दिँदै आएको छ । तर दुवै देशको उच्च तहबाट हुने भनिएको उद्घाटन कहिले गर्ने भन्ने टुंगो छैन ।

‘भारतीय पक्षले उद्घाटनलाई नै बहना बनाएर पानी छाड्न मानेको छैन,’ महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भने, ‘उद्घाटनको भने अहिलेसम्म कुनै टुंगो छैन ।’ उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला नहरको उद्घाटन हुन सके नहरमा पानी सञ्चालन हुने बताए ।

फागुन पहिलो साता प्रधानमन्त्री दाहाल कञ्चनपुर पुगेका बेला पनि निर्देशक बमले उद्घाटनको विषय उठाएका थिए । टनकपुर ब्यारेजबाट नेपाल–भारत सीमासम्म १२ सय मिटर मूल नहर भारतीय पक्षले निर्माण गरेपछि असारमा उक्त नहरको परीक्षण गरिएको थियो । त्यही बेला नेपालतर्फ निर्माण भएको मूल नहरको पनि परीक्षण गरिएको थियो । असार १५ मा नहरकै पानीले बेदकोट नगरपालिका ४ बगुनमा रोपाइँ गरेर धान दिवस पनि मनाइएको हो । तर त्यसपछि बन्द भएको पानी हालसम्म सञ्चालन हुन सकेको छैन ।

एक वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले अनलाइनबाट संयुक्त रूपमा नहरको उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । भारतीय पक्षले टनकपुर ब्यारेजमा नहरको इन्टेक नजिकै उद्घाटनको सबै तयारी पनि गरेको थियो । कोरोना संक्रमण तीव्र भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित भएपछि उद्घाटन कार्यक्रम पनि रोकिएको थियो ।

आयोजना निर्देशक बमका अनुसार शुक्लाफाँटा नगरपालिकामा कालापानी सिँचाइसँगै दुई पुराना कुलाको सामान्य मर्मतपछि पानी सञ्चालन गर्न सकिनेछ । मूल नहर निर्माण भएको २८ किलोमिटर क्षेत्रमा २२ वटा शाखा नहर निर्माणको काम पनि सुरु भइसकेको छ । दुई वर्षभित्रै काम सक्ने गरी ठेक्का सम्झौता भएको हो ।

अहिले मूल नहरमा इन्टेक निर्माण भइरहेको आयोजनाको सिनियर डिभिजनल इन्जिनियर शम्भुराज पण्डितले बताए । उनका अनुसार इन्टेक निर्माणपछि शाखा नहर निर्माणको काम थालिनेछ ।२८ किलोमिटरदेखि ४८ दशमलव २६२ किलोमिटर (गोदावरी नदीसम्म) नहर निर्माणको प्रक्रिया पनि सुरु भएको छ ।आयोजना कार्यालयले टेन्डर आह्वान गरिसकेको छ ।

महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपालले सिँचाइका लागि बर्खायाममा १ हजार क्युसेक र हिउँदमा ३ सय क्युसेक पानी प्राप्त गर्नेछ । सिँचाइकै लागि नेपालले शारदा ब्यारेजबाट भने बर्खामा १ हजार र हिउँदमा डेढ सय क्युसेक पाउँदै आएको छ । आर्थिक वर्ष ०६३/०६४ मा निर्माण सुरु भएको आयोजनाको कामले सुरुका केही वर्ष मुआब्जा विवाद र बजेट अभावका कारण गति लिन सकेन । आयोजनाअन्तर्गत १५१ किलोमिटर मूल नहर निर्माण हुनेछ ।

प्रकाशित : चैत्र १८, २०७९ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्

संक्रमण बढेसँगै बुस्टर खोप लगाउन सुरु

कान्तिपुर संवाददाता

कञ्चनपुर — कोरोना संक्रमण देखा पर्न थालेपछि खोप दिने क्रम पनि सुरु भएको छ । अहिले ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, गर्भवती र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई बुस्टर डोजका रूपमा खोप दिन थालिएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक कुँवरका अनुसार अहिले बुस्टर डोजका लागि फाइजरको ५० हजार मात्रा आएको छ । पहिलो चरणमा ५५ वर्षमाथिका व्यक्ति, स्वास्थ्यकर्मी लगायतलाई खोप दिइनेछ । जिल्लाका सबै वडामा खोप अभियान सञ्चालन भइरहेको कुँवरले बताए ।

‘आवश्यकताअनुसार खोप आउने क्रम बढ्दै जानेछ,’ उनले भने, ‘दुई खोप लगाएकालाई तेस्रो र तीन खोप लगाएकालाई चौथो खोप दिइनेछ ।’ संक्रमण बढ्न थालेपछि पुनः खोप अभियान सुरु गरिएको हो ।

पछिल्लो समय भारतबाट घर फर्किनेहरूमा सक्रमण देखिन थालेको छ । कञ्चनपुरको सीमानाका गड्डाचौकीस्थित हेल्थ डेस्कका अनुसार पछिल्लो एक सातामा ६ जनामा संक्रमण देखिएको छ । हेल्थ डेस्कका एक स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको हेल्थ डेस्ककी इन्चार्ज प्रीति बोहराले बताइन् । उनका अनुसार बिहीबार र शुक्रबार मात्रै नाकामा घर फर्किनेमा संक्रमण देखिएको छैन ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा पहिलो मात्रा खोप लगाउनेको संख्या ४ लाख बढी छ । दोस्रो मात्रा लगाउनेको संख्या ३ लाख बढी छ । बुस्टर डोजका रूपमा तेस्रो मात्रा खोप लगाउनेको संख्या २ लाख पुगेको छ । पहिलो र दोस्रो मात्राको खोप लगाउनेको संख्या ८५ प्रतिशतभन्दा बढी भए पनि बुस्टर डोज लगाउनेको संख्या ४८ प्रतिशत मात्रै छ ।

‘खोपको अभावले संक्रमण कम हुँदा खोप लगाउन नआउनेका कारण मात्रा कम भएको हो,’ कुँवरले भने, ‘अब खोप आएसँगै बुस्टर डोज लगाउनेको संख्या पनि बढ्दै जानेछ ।’ कञ्चनपुरमा बिहीबारदेखि बुस्टर डोजका रूपमा फाइजरको खोप लगाउन थालिएको हो ।

कोरोना संक्रमणको पहिलो र दोस्रो लहरका बेला खोप लगाउनेको संख्या धेरै थियो । सुरुमा खोप लगाउन कम आए पनि दोस्रो लहरका बेला संक्रमणकै कारण धेरैको ज्यान गएपछि खोप लगाउनेको संख्या बढेको थियो । संक्रमण कम भएपछि खोप लगाउन आउनेको संख्या कम भएको थियो ।

प्रकाशित : चैत्र १८, २०७९ ०९:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×