ढाडार मष्टामा महापूजा सुरु

वसन्तप्रताप सिंह

बझाङ — खसआर्यहरूको कुल देवताका रूपमा चिनिने मष्टाको मूल मन्दिरमा महापूजा मेला सुरु भएको भएको छ । मष्टा गाउँपालिकाको ढाडारमा रहेको मष्टा देवताको मुख्य मन्दिरमा सप्ताहव्यापी चल्ने पूजामा सहभागी हुन विभिन्न जिल्लाबाट श्रद्धालुको ओइरो लागेको छ ।

चैत्र शुक्लपक्ष (घोडेजात्राको भोलिपल्ट) देखि रामनवमीका दिनसम्म हुने यो पूजामा सहभागी हुन बझाङ, बाजुरा, अछाम, जुम्ला, हुम्ला मुगु, जाजरकोट, दैलेख, सुर्खेत, कालिकोट, मुगु, हुम्ला लगायतका जिल्लाबाट मष्टाका आलीपाली (आस्थावान) श्रद्धालु आउने गर्छन् । यहाँ काठमाडौंमा हुने इन्द्रजात्राको दिन पनि भव्य मेला लाग्ने गर्छ । जसलाई ढाडारको जात भनिन्छ ।

यस वर्ष शक्ति सिंह सन्तान मष्टापूजन मूल समितिले मष्टा मन्दिरमा लक्ष्य होम, चण्डीपाठ र ६४ भोगसहितको पूजा आयोजना गरेकोले देशैभर छरिएर रहेका तत्कालीन बझाङी राजा शक्ति सिंहका सन्तानहरू पनि ठूलो संख्यामा मष्टा मन्दिरमा भेला भैरहेका छन् । ‘हामी बसेको ठाउँमा मष्टाको पूजा त सधैं गरिरहेका थियौं । यो वर्ष मूलथली (मुख्य मन्दिर) मै पुगेर भाकल पूरा गर्ने अवसर जुर्यो,’ सुर्खेतबाट आएका गोपालबहादुर सिंहले भने, ‘वर्षौंदेखिको सपना पूरा गर्न पाएकोमा धेरै खुसी लागेको छ ।’ उनले सुर्खेतबाट मात्रै दर्जनौंको संख्यामा श्रद्धालु यहाँ आएको बताए ।

मष्टो देवता इन्द्रपुत्र जयन्तको अर्को रूप मानिन्छ । रामायणकालमा इन्द्रको राज्य सुरक्षाका लागि उनले दानवहरूसँग युद्ध गरेको जयन्तले दानवसँग बहादुरीपूर्वक लडेर परास्त गरेको हुनाले उनलाई मष्टोको पदवी दिइएको किंवदन्तीहरूमा उल्लेख छ । पूजाका दौरान स्थानीय भाषामा इन्द्रपुत्र मष्टो भएको र उनी इन्द्रको दरबारबाट मर्त्यलोकमा आएका कथाहरू मंगलको रूपमा गाउने गरिन्छ ।

भातेखोलाको ढाडार गाउँमा मष्टोको पहिलो पटक उत्पत्ति भएको विश्वास गरिन्छ । यसर्थ मष्टो पुजकहरूले ढाडारको मष्टो मन्दिरलाई मष्टोको राजधानीको रूपमा मान्ने गरेका छन । ‘मष्टो मान्ने सबै समुदायका मानिसहरू आइरहेका छन् । यो वर्ष शक्ति सिंहका सन्तानहरूको सामूहिक पूजा भएकोले सबै जिल्लामा रहेका सिंहहरू बढी संख्यामा आएका हुन्,’ शक्ति सिंह सन्तान मष्टा पुजन मूल समितिका अध्यक्ष गगनबहादुर सिंहले भने, ‘अष्टमीको दिनसम्म विभिन्न जिल्लाबाट श्रद्धालुहरू आउने क्रम जारी रहन्छ ।’ उनले समितिले यस वर्ष मष्टा मन्दिरमा २५ किलोको घण्टी चढाउने कार्यक्रम रहेको बताए ।

मष्टाको पूजा गर्दा व्रत बसेर बेलुका भवानीको विशेष पूजा गरिन्छ । दियोबत्ती गरेर, शंखघण्ट बजाई पहिले भवानी, लाकुडा र लाटाहित पूजा गरिन्छ । शंख र घण्टको आवाजका साथै बाजाहरूका तालमा देवताको पोसाक लगाई धामीहरू काँप्ने गर्दछन् ।

२०६४ सालसम्म ढाडार मष्टाको पुजाका बेला नारायणहिटी राजदरबारबाट कालो बोका, भेटी र वस्त्रसहित दरबारका प्रतिनिधि पूजामा आउने प्रचलन थियो । देशमा गणतन्त्र स्थापना भइसकेपछि दरबारबाट भेटी आउन रोकिएको मष्टाका मूल पुजारी बल धामीले बताए ।

देशभरि छरिएर रहेका खस आर्यहरूले मष्टोलाई विभिन्न नाममा पूजा गर्ने गर्छन् । मष्टो देवताका बाह्र स्वरूप र तेह्र भाइ रहेको विश्वास गरिन्छ । दुधेमष्टो, लडेमष्टो, सत्वगुणी मष्टो, दाह्रे मष्टो आदि मष्टाका स्वरूप हुन् । बढमष्टो, थार्पा मष्टो, बाबिरा मष्टो, लिउडी मष्टो, कामत मष्टो, सिम मष्टो लगायत चाहिँ मष्टोका भाइ हुन । मष्टोलाई दुर्गा भवानीको भाइ मानिन्छ । यसर्थ हरेक मष्टोको मन्दिरनजिकै भवानीको स्थापना गरिएको हुन्छ ।

माटोका मालिक भएकाले मष्टोलाई मट्टे देवता, भूमि देवता वा भूमिया पनि भनिन्छ । डडेलधुरा, डोटीको केही भाग र बैतडीतिर मष्टोलाई भूमिराज देवता अथवा भूमेश्वरको नाममा पूजा गरिन्छ  । भारतको उत्तराखण्ड क्षेत्रका गढवाल, पिथौरागढको चण्डाक लगायतका स्थानहरूमा मष्टा देवताका नामबाट मष्टोको पूजा हुने गरेको मष्टो संस्कृतिका अध्येता श्यामबहादुर खड्काको भनाइ छ । ‘पाकिस्तानमा रहेको हिउलादेवीको मन्दिर र त्यसको आसपासमा बस्नेहरूले पनि मष्टोलाई बिबियानीका नामबाट पुज्ने गरेको उल्लेख पाइन्छ,’ उनले भने ।

आर्य संस्कृतिमा ऋषिको मूलथलो कैलाश मानसरोवर क्षेत्रलाई लिइन्छ र मष्टोको उत्पत्ति त्यही भएको जनविश्वास छ । मष्टो देवता शान्त, दयालु, क्षमाशील र चाँडै खुसी हुने शिव अंश मानिने मूलतः सात्विक देवता हुन् । तर पनि रक्तबलि मागे दिने र दुर्गा भवानीका सान्निध्यमा रहने हुनाले यिनलाई रक्तबलि भोग लिने गरेको बताइन्छ । पूजाका दौरान दाह्रे मष्टोका धामीले दाँतले काटेर बोकाको बलि लिने गर्छन् भने दुधे मष्टोलार्ई अक्षता, फूलपाती, दूध, दशी, घिउ र बाबर चढाइन्छ ।

प्रकाशित : चैत्र १३, २०७९ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्

बिसुको मुखमा भारततिर

मोहन बुडाऐर

धनगढी — नयाँ वर्षका दिन सुदूरपश्चिममा बिसु पर्व परिवारका साथ धुमधामले मनाउने चलन छ । यतिबेला भारतलगायत घरबाहिर भएका रहेका परिवारका सदस्यसमेत बिसु मनाउन घर फर्किने चलन छ । मुखैमा आएको बिसु पर्व (नयाँ वर्ष) लाई छोडेर अछाम बयलपाटाका जगन्नाथ कोली भने परिवारसहित शनिबार भारत पसेका छन् । उनीसँगै आफ्ना दुई छोरी र श्रीमतीसहित भारत पसेका हुन् ।

‘निको खान पाया, निको लाउन पाया पछारी बिसु बन्या । खानलाई नभया बिसु भनी घर बस्नु क्या अद्दु,’ (राम्रो खान र लगाउन पाए पो बिसु बन्छ । खानलाई नै नभए बिसु भनेर घर बसेर के गर्नु ?) कैलालीको नेपाल–भारत गौरीफन्टा नाकामा भेटिएका उनले स्थानीय लवजमा उनले भने । गाउँमै बिसु मनाउन १५ दिन पनि पर्खन नसकेर कामको खोजीमा भारत पसेका हुन् । यतिखेर भारतमा काम गरिरहेकाहरू बिसु मनाउन गाउँघर फर्किने भएकाले उता काम पाउन सजिलो हुने उनले बताए ।

कोलीका अनुसार अहिले भारतमा पनि काम पाउन गाह्रो भइरहेको छ । कुनै नेपालीले काम छोडेर घर आएको बेला त्यो ठाउँमा काम पाइने भएकाले मौका छोप्न आफू बिसुपर्व अगाडि जान लागेको हर्क साउदले सुनाए । ‘यो वर्ष म तीन पटक इन्डिया गए, राम्रो जागिर पाएन, घर खर्च निकाल्दै फर्किए,’ साउदले भने, ‘यतिबेला बिसु मनाउन कसैले राम्रो काम छोडेर घर आउने भएकाले आफू जान लागेको हुँ ।’ कैलालीको त्रिनगर गौरीफन्टाबाट दिनहुँ भारत जानेको संख्यामा खासै कमी नआएको सीमा सुरक्षा पोस्ट त्रिनगर गौरीफन्टा नाकाका असई चेतेन्द्र मल्लले बताए ।

असई मल्लका अनुसार दैनिक तीन सय जनाको हाराहारीमा नेपाली भारतका विभिन्न सहरमा काम गर्न गइरहेका छन् । घर आउनेको संख्या त्यत्तिकै रहेको उनले बताए । ‘कोरोना महामारी अगाडि यो सिजनमा कामका लागि भारत जाने संख्या नगण्य हुन्थ्यो,’ सीमा क्षेत्रमा बस चलाउँदै आएका यातायात शिवराज भण्डारीले भने, ‘अहिले कोभिडपछि निरन्तर भारत पस्नेको भीड उस्तै देखिन्छ ।’ पछिल्लो समय चाडबाडमा पनि नेपालीहरू घर फर्केको कमै देखिने गरेको स्थानीय व्यवसायी बताउँछन् । ‘नयाँ वर्ष र दसैंतिहारमा घर फर्कने नेपालीले बसमा ठेलमठेल हुन्थ्यो,’ धनगढी बसपार्कमा होटल व्यवसाय गर्ने विमल स्वाँरले भने, ‘कसैले टिकट नपाएर एक रात धनगढीमै बस्नुपर्थ्यो ।’ उनका अनुसार बिसुमा घर फर्कनेहरूले गर्दा धनगढीका बसपार्कका होटल भरिभराउ हुन्थे ।

भारतको बैंग्लोरमा १५ वर्षदेखि काम गर्दै आएका कैलाली पण्डौनका दीपबहादुर सारुमगरले कोरोनापछि भारतमा रोजगारको ग्यारेन्टी नभएको बताए । ‘कोभिडपछि जतिबेला पनि कम्पनीले मेनपावर थपघट गर्न थाल्यो,’ उनले भने, ‘जसले गर्दा अधिकांश नेपाली श्रमिक मारमा परेका हुन् ।’ उनले तीन महिनापछि काम नपाएर घर फर्कनुपरेको बताए । पहिलको जस्तो चाडबाडका बेला फर्कने तालिकामा परिवर्तन आएको उनको भनाइ छ । उनी भने निरन्तर एउटै कम्पनीमा चौकीदारको काममा रहेको बताउँछन् ।

प्रकाशित : चैत्र १३, २०७९ ०९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×