कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

जैविक मार्ग आसपास बाघको त्रास

भारतको दुधवा नेसनल पार्कलाई जोड्ने जैविक मार्गमा वन्यजन्तु आवागमन बढेसँगै बाघ पनि आउन थालेका छन्
मोहन बुडाऐर

धनगढी — मोहना–लालझाडी जैविक मार्गको बस्ती छेउको जंगलमा मेलापात गर्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भयो । कञ्चनपुरको पुनर्वास पचगडिया सबडिभिजन कार्यालयका सहायक वन अधिकृत दिनेशकुमार यादवका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० मदन टोल बस्ने ३२ वर्षीया कलशा सार्कीको शुक्रबार बिहान बाघको आक्रमणमा मृत्यु भएको हो ।

जैविक मार्ग आसपास बाघको त्रास

सार्कीर् स्थानीयसँग बिहान भारतको दुधुवा नेसनल पार्क र नेपालको मोहना लालझाडी जैविक मार्गलाई जोड्ने जंगलमा मेलापात गर्न गएकी थिइन् । अहिले भारतीय सुरक्षाकर्मीसँगै नेपाल प्रहरी, सबडिभिजन वन कार्यालय पचगडियाका सहायक वन अधिकृत यादव र वडा प्रतिनिधि घटनास्थल पुगेर शव आफन्तलाई बुझाएका छन् ।

यसअघि मोहना–लालझाडीसँग जोडिएको धनगढी उपमहानगरपालिका–३ मा पर्ने सामुदायिक वनमा पनि दुई डमरुसहित बाघलाई स्थानीयले देखेको वडा ३ का अध्यक्ष राजबहादुर ऐरले बताए । ‘शुक्रबार बेलुका भन्सार मसान टोलमा बाघ कराउँदै गरेको सुनियो,’ ऐरले भने, ‘बाघ कराएको सुनेपछि राति स्थानीय त्रसित भई आगो बालेर जागासमेत बसे ।’ उनले मोहना लालाझाडी जैविक मार्गमा बाघ देखिन थालेपछि जंगलछेउका बाटोमा स्थानीय ओहोरदोहोर गर्नसमेत डराइरहेको बताए ।

पछिल्लो समयमा भारतको दुधवा नेसनल पार्कलाई जोड्ने जैविक मार्गमा वन्यजन्तु आवागमन बढेसँगै बाघ पनि आउन थालेका छन् । कैलालीको मोहना–लालझाडी जैविक मार्गमा एक सातादेखि दुई डमरुका साथमा पाटे बाघ बस्दै आएको छ । अँध्यारो भएपछि बस्तीछेउ नजिकै आएर कराएर त्रसित पारेको स्थानीय राजमती चौधरीले बताइन् । ‘घाँस दाउराका लागि वनभित्र पस्नसमेत स्थानीय डराइरहेका छन्,’ चौधरीले भनिन्, ‘यसअघि राति खोर र गोठभित्रका बाख्रा, बंगुर र गाईगोरु खाइदिएको पनि छ ।’

पुनर्वासमा महिलामाथि शुक्रबार आक्रमण गर्ने बाघ भएमा झन् खतरा भएको सबडिभिजनका सहायक वन अधिकृत यादवले बताए । ‘मान्छेको रगत खान लागेको बाघ बढी आक्रामक हुन्छ,’ उनले भने, त्यसमाथि त्यो बच्चासहितको बाघ हो । यो बढी उग्र हुन सक्छ ।’ बाघबाट बच्न एक्लै जंगलभित्र नजानु नै सुरक्षित हुने प्रमुख उपाय भएको उनले बताए ।

यादवका अनुसार भारतको दुधवा नेसनल पार्क र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कञ्चनपुरका बाघ पछिल्लो समयमा डमरु हुर्काउन आउने गरेको छ । ‘यो साता मोहना जैविक मार्गमा देखिएको बाघसँग पनि दुई वटा बच्चा छन् भन्ने सुनियो,’ उनले भने, ‘यसअघि पनि मोहना लालझाडी र वसन्ता जैविक मार्गभित्र डमरुसहितको बाघ देखिएको सुनिँदै आएको छ ।’

पछिल्लो समयमा बाघका लागि आहारा हुने वन्यजन्तुसमेत बढेका छन् । ठाउँठाउँमा पानीको सुविधासहित झाडी र जंगलको विकासले बाघ डमरु हुर्काउन आउने गरेको उनको भनाइ छ । दुधवा र शुक्लाफाँटामा बाघको संख्या बढेको छ । अर्को बाघको आक्रमणबाट बच्नसमेत पछिल्लो समयमा नयाँ बासस्थानको खोजीमा मोहना लालझाडी र वसन्ता जैविक मार्गमा बाघ आउने गरेको यादवले बताए । वसन्ता र लालझाडी मोहना जैविक मार्गले दक्षिणमा दुधुवा र उत्तरमा चुरेसम्म जोडेको छ ।

प्रकाशित : चैत्र १२, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×