डोटी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित - सुदूरपश्चिम - कान्तिपुर समाचार

डोटी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित 

कान्तिपुर संवाददाता

दिपायल — डोटी बहुमुखी क्याम्पसमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । विद्यार्थी संगठनहरुबीच विवाद हुँदा नेकपा चन्द समूह निकट अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थीहरुले क्याम्पसमा तोडफोड र मतपेटिकामा आक्रमण गरेपछि निर्वाचन स्थगित भएको हो ।

मतदाताको परिचयपत्रसम्बन्धी सामान्य विवादका क्रममा क्याम्पसमा तोडफोड गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरेको विज्ञप्ति प्रकाशन गरेको थियो ।

निर्वाचन समितिले ७५ प्रतिशत मतदान सम्पन्न भइसकेपछि निर्वाचन स्थगित गर्नुपरेको जनाएको छ । डोटी बहुमुखी क्याम्पसमा ८ सय ९ मतदाता रहेका छन् । स्ववियु निर्वाचनका लागि ३ वटा प्यानलले उम्मेदवारी दिएका छन् । जसमा नेविसंघ एक्लै निर्वाचनमा होमिएको छ भने एमाले र माओवादी निकट विद्यार्थी संगठनको एउटा तथा नेकपा चन्द समूह र राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठनको अर्को संयुक्त प्यानल रहेका छन् ।

निर्वाचन स्थगित गरेपछि नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय डोटी घेराउ गरेको छ भने डोटी बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । नेविसंघका जिल्ला अध्यक्ष दिपेन्द्र सिंहले सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको अवस्थामा मतदान केन्द्रमा प्रवेश गरेर मतपेटिकालगायतका निर्वाचन सामग्रीहरु तोडफोड गर्नेलाई कारबाही गरी मतदान पुनः सञ्चालन गर्नुपर्ने बताए ।

प्रकाशित : चैत्र ५, २०७९ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्

स्ववियु निर्वाचन : मतदान सकियो, साँझबाटै गणना

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका आंगिक र सामुदायिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आइतबारको मतदान प्रक्रिया सकिएको छ । मतदान सकिएका क्याम्पसहरुले साँझबाटै मतगणना प्रक्रिया सुरु गर्ने जनाएका छन् । 

निर्वाचन केन्द्रीय समितिले बिहान ८ देखि ४ बजेसम्म मतदानको समय तोकेको थियो । ढिला सुरु भएका र बीचमा अवरुद्ध भएका केही क्याम्पसले ४ बजेपछि पनि मतदान जारी राखेका थिए । समितिका सदस्य सचिव पशुपति अधिकारीले देशभरका क्याम्पसमा शान्तिपूर्ण निर्वाचन भएको जानकारी दिए ।

काठमाडौं उपत्यकाका २२ मध्ये ७ क्याम्पसमा आइतबार निर्वाचन हुन सकेन । त्यस्तै पोखराका ४ र चितवनका ३ क्याम्पसमा पनि आन्तरिक विवादका कारण निर्वाचन प्रक्रिया अवरुद्ध छ ।

प्रकाशित : चैत्र ५, २०७९ १७:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×