डोटीका भूकम्पपीडितलाई बेवास्ता

चिसोले गाउँमा सुत्केरी, ज्येष्ठ नागरिक र बालबालिकालाई समस्या
मोहन शाही

डोटी — ६ जनाको ज्यान जाने गरी भूकम्प आएको अढाई महिना बितिसक्दा पनि सरकारले पीडित परिवारको पुनःस्थापनाको काममा तदारुकता देखाउन सकेको छैन ।

सयौं घरहरू क्षतीग्रस्त हुँदा भूकम्पपीडित परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन् । सरकारले अहिलेसम्म क्षतिपूर्तिबारे विस्तृत तथ्यांकसमेत संकलन गर्न सकेको छैन । कठ्यांग्रिँदो चिसोमा त्रिपालमुनि ओत लगाएर बस्न बाध्य रहेको डोटीको पूर्वीचौकी गाउँपालिका– ३ काडामाडौका पदम बोहराले दुखेसो सुनाए ।

‘राहत ल्याउनेहरू लुगाफाटो र त्रिपाल बोकेर मात्र आउँछन्, टाउको निहुराउने घर पुनर्निर्माण गरिदिए सहयोग हुने थियो’, पूर्वीचौकी ३ गैरागाउँकी लक्ष्मी बोहराले दुखेसो गरिन्, ‘चिसोले गाउँमा सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिकालाई समस्या भइसकेको छ ।’

स्थानीय तहहरूले पठाएको प्रारम्भिक विवरणका आधारमा राहतका सामग्री वितरण भएपनि ती तथ्यांकहरूमा पूर्ण विश्वस्त रहन सक्ने आधार नरहेको सरोकारवाला बताउँछन् । ‘स्थानीयको दबाबमा जनप्रतिनिधिहरूले न्यून क्षति भएकालाई पनि पूर्ण क्षतिग्रस्तको सूचीमा राखेर पठाउँदा वास्तविक पीडित पहिचान गर्न कठिनाइ भएको छ’, एक गैरसरकारी संस्थाका पदाधिकारीले आरोप लगाए ।

पूर्वीचौकी गाउँपालिका, सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकामा कात्तिक २२ गतेको भूकम्पले बढी क्षति गरेको थियो ।

डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले क्षतिपूर्तिको विस्तृत सर्भेका लागि पुनर्निर्माण प्राधिकरणको प्राविधिक टोली घटनास्थल खटिएको बताइन् । निर्वाचनका कारण समयमै माथिबाट टोली आउन नसक्दा क्षतिपूर्तिको तथ्यांक संकलनमा ढिलाइ भएको श्रेष्ठको भनाइ छ । प्राधिकरणको टोलीले क्षतिग्रस्त ठाउँहरूको विस्तृत सर्भे गरेपछि मात्र वास्तविक पीडितको पहिचान हुन सक्ने बताइन् ।

केही दातृ संस्थाहरूले भने ढिलो गरी डोटीमा भूकम्पपीडितहरूका लागि अस्थायी घर निर्माण थालनी गरेका छन् । नेपाल रेडक्रस सोसाइटीले आउँदो महिनासम्म सम्पन्न हुने गरी २ सय अस्थायी घर बनाउने तयारी थालेको छ । रेडक्रस सोसाइटीका आवास अधिकृत विजय ढकालले पालिका र जिल्ला प्रशासनको अनुमति लिएर पीडितहरूको तथ्यांक संकलन गरी पूर्वीचौकी गाउँपालिका— ३ गैरामा अस्थायी घर बनाउन सुरु भएको बताए । १ कोठा, १ भान्सा र १ बरन्डा भएको अस्थायी घर बनाउन रेडक्रसले ९८ हजार रुपैयाँ पीडित परिवारलाई सहयोग गर्ने भएको छ ।

त्यस्तै, लुथरन दातृसंस्थाको सहयोगमा सामुदायिक विकास केन्द्र (सीडीसी) र उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्चले पनि अस्थायी घर बनाउने भएका छन् । सामुदायिक विकास केन्द्रका अध्यक्ष हेमराज जोशीले पीडितहरूको नामावली छनोट कार्य भइरहेको बताए । तर भूकम्पपीडितहरू ढिलो गरी बन्न लागेका अस्थायी घरहरूप्रति सन्तुष्ट छैनन् ।

‘आकाशबाट हिउँ खस्न थालिसकेको छ, चिसोले जीउनु न मर्नु बनाइसक्यो’, पूर्वीचौकी गाउँपालिका—५ का शंकर बोगटीले गुनासो गरे, ‘अहिलेसम्म अस्थायी घर बनाएर हामीलाई चिसोबाट बचाएको भए राहत हुन्थ्यो, चिसो छलिसकेपछि बनेका घरको के काम ?’ पीडितहरू अहिलेसम्म काम सुरु नभएको अस्थायी घर बनाउन फागुन महिना कट्ने तर्क गर्छन् । त्यो बेलासम्म चिसो हटिसक्ने भएकाले अस्थायी घरहरू प्रभावकारी नहुने माग राख्दै आएका छन् । पीडितहरूले स्थायी संरचना बन्ने गरी घर निर्माण गरिदिन सरकारलाई माग राख्दै आएका छन् । कतिपय परिवारले अस्थायी संरचना नचाहिने भन्दै अस्वीकारसमेत गरिसकेका छन् ।

प्रकाशित : माघ ५, २०७९ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्

सेयरमा महिला लगानीकर्ता

अनलाइन माध्यमबाट आईपीओ भर्न र सेयर खरिद–बिक्री गर्न मिल्ने भएकाले घर बसीबसी सेयर कारोबार गर्नेको संख्या बढ्दो
उत्तम अर्याल

वर्ष दिनदेखि सेयर बजारमा ‘बियरिस ट्रेन्ड’ का कारण निराश काठमाडौं कोटेश्वरकी प्रतिमा कोइराला नयाँ सरकार गठनसँगै केही उत्साहित छिन् । केही सातायता घटबढ हुँदै नेप्से परिसूचक यो साता करिब २२ सय अंकको नजिक पुगेको छ । गत वर्ष ३१ सय अंकसम्म पुगेको नेप्से परिसूचक घटेर १९ सयसम्म पुगेपछि उनले सेयर बिक्रीमा भन्दा खरिदमा ध्यान दिएकी थिइन् ।

‘अझै उत्साहित हुने अवस्था त आइसकेको छैन, अर्थतन्त्रमा सुधार नदेखिएकाले नेप्से पुरानै लयमा फर्किन केही समय लाग्ला,’ उनले भनिन्, ‘जोखिम आकलन गरेर अलिअलि सेयर किनिरहेको छु ।’ सेयर कारोबार उनको मूल पेसा होइन । उनी फुर्सदको समय सेयर किनबेच गर्छिन् । कलेज पढिरहेकी उनले करिब ३ वर्षदेखि सेयर खरिद–बिक्री गर्दै आएको बताइन् ।

इमाडोल बस्ने धनगढीकी निर्मला श्रेष्ठ धेरैजसो सेयर कारोबार अनलाइनमार्फत गर्छिन् । ‘कहिलेकाही‌ं कारोबार राफसाफ र बजारको अवस्था बुझ्न ब्रोकर कार्यालय पनि पुग्छु,’ उनले भनिन्, ‘अहिले सेयर बजारमा त्यति उत्साह छैन । त्यसैले कमै मात्र कारोबार गरिरहेको छु ।’ ३ वर्षअघि दोस्रो बजारमा छिरेकी उनी प्राथमिक सेयर (आईपीओ) भने पहिलेदेखि नै भर्थिन् । सेयर बजारमा लागेपछि आम्दानी पनि गर्दै आएको उनले बताइन् । सेयर बजारको उतारचढाव नबुझ्दा केही समय घाटामा पनि गएको उनको अनुभव छ । तर, नियमितजसो बजारबारे राख्ने चासो र वित्तीय साक्षरताका कारण आत्मविश्वास फर्किएको उनले बताइन् ।

ललितपुरकी कल्पना खड्का गृहिणी हुन् । घरको काम सकेर उनी दिउँसो सेयर कारोबारमा ध्यान दिन्छिन् । आईपीओ भर्न थालेको २ वर्षपछि उनले दोस्रो बजारमा कारोबार गर्न थालेकी हुन् । ‘घर खर्चको बचतले आईपीओ भर्छु, दोस्रो बजारको सेयर किन्छु,’ उनले भनिन्, ‘सेयर बजारबारे धेरै जानकारी त छैन, श्रीमान् र साथीको सल्लाह लिन्छु ।’ पछिल्लो समय सेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश उत्साहजनक छ । त्यसमा पनि महिला सेयर लगानीकर्ताको सहभागिता झनै बढ्दो छ । प्रविधिमा पहुँच र अनलाइन माध्यमबाट आईपीओ भर्न र सेयर खरिद–बिक्री गर्न मिल्ने भएकाले पनि घर बसीबसी सेयर कारोबार गर्नेको संख्या बढेको हो । विगतमा विभिन्न पेसा व्यवसायमा आबद्ध महिला मात्र सेयर कारोबारमा संलग्न रहेकामा हाल भने विद्यार्थीदेखि गृहिणीसम्म आकर्षित भएका हुन् ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार हाल नेपालमा सेयर कारोबारका लागि आवश्यक डिम्याट खाता खोल्नेको संख्या ५५ लाख नाघिसकेको छ । यसमा महिला सेयर लगानीकर्ताको संख्या साढे २३ लाख र पुरुष साढे ३१ लाख रहेको सीडीएसका प्रवक्ता सुरेश न्यौपानेले बताए । गत वर्ष माघको यही अवधिसम्म कुल सेयर लगानीकर्ता ४८ लाख थिए, जसमा महिलाको संख्या साढे २० लाख थियो भने पुरुष साढे २७ लाख थिए । अघिल्लो वर्षको माघसम्म २७ लाख २० हजार कुल सेयर लगानीकर्ता रहेकामा महिलाको संख्या साढे १० लाख र पुरुषको संख्या करिब १७ लाख थियो ।

‘२ वर्षयता महिला सेयर लगानीकर्ताको संख्या ह्वात्तै बढेको छ,’ प्रवक्ता न्यौपानेले भने, ‘यसले सेयर बजारमा उनीहरूको आकर्षण बढेको स्पष्ट हुन्छ ।’ यद्यपि, दोस्रो बजारमा कारोबार गर्ने कुल लगानीकर्ताको संख्या भने १४ लाखको हाराहारीमा रहेको नेप्सेको तथ्यांक छ । उक्त संख्यामध्ये पनि दैनिक कारोबार गर्नेको संख्या अझै कम छ । नेप्सेले हालसम्म अनलाइन कारोबार गर्नेमध्ये लैंगिक रूपमा छुट्याएर तथ्यांक राख्ने गरेको भने छैन ।

सेयर बजारमा महिला लगानीकर्ताको उपस्थिति पछिल्लो समय उल्लेखनीय रूपमा बढेको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् । ‘म आफैंले पनि सेयर कारोबार थालेको १० वर्ष पुग्यो । पहिले महिला सेयर लगानीकर्ता अत्यन्त न्यून थिए,’ उनले भनिन्, ‘घर र बालबच्चालाई समय दिएर सेयर कारोबार पनि गर्न सकिने भएकाले महिलाको आकर्षण बढेको छ ।’ प्रविधि र सेयरसम्बन्धी चेतनाका कारण अहिले अन्य पेसामा रहेका बाहेक विद्यार्थी र गृहिणीको संख्या बढेको उनको बुझाइ छ ।

विभिन्न पेसाका महिला लगानीकर्ता आफैंले कमाएको पैसाले सेयर खरिद–बिक्री गर्छन् तर गृहिणी र विद्यार्थीले भने बचत गरेर वा घर खर्चबाट जोगाएर सेयरमा लगानी गर्दै आएका छन् । नवप्रवेशीमा भने सेयर खरिद–बिक्रीबारे ज्ञान कम भएको अध्यक्ष पोखरेलले बताइन् ।‘सेयर बजारबारे जानकार महिला खरिद–बिक्रीबारे आफैं निर्णय लिन्छन् । उनीहरूले रिस्क मानिएका क्षेत्रमा पनि लगानी गर्दै आएका छन्,’ उनले भनिन्, ‘केही रकम जोगाएर लगानी गर्ने महिलाले भने विशेष गरी रिस्क कम हुने बैंकिङ क्षेत्रलाई रोज्दै आएका छन्, यस्तोमा उनीहरूले श्रीमान् तथा साथीको सल्लाह लिने गरेको पाइन्छ ।’ पोखरेलका अनुसार सेयर कारोबार र आम्दानीले महिलाको जीवनस्तर, निर्णय क्षमता र स्वतन्त्रतामा पनि ठूलो फरक पारेको छ । ‘आफैं कमाउन सक्ने र आत्मनिर्भर हुँदा उनीहरूमा आत्मविश्वास बढ्दै गएको छ,’ उनले भनिन् । सेयर बजारलाई राम्ररी बुझेर कारोबार गर्ने आफ्ना धेरै महिला साथीले यसैबाट घरजग्गा जोडेको उनको भनाइ छ ।

सेयर बजारबारे राम्रो ज्ञान नहुँदा लगानी डुब्ने जोखिम पनि उत्तिकै हुन्छ । कहिले ‘बुल’ त कहिले ‘बियरिस’ ट्रेन्डका कारण सेयर बजारमा उतारचढाव भइरहन्छ । बजारको यो प्रवृत्तिलाई लगानीकर्ताले बुझ्न अत्यावश्यक हुने विश्लेषकहरू बताउँछन् । उनीहरूका अनुसार नवप्रवेशीमा सेयर घट्दा आत्तिने र बढ्दा बढी नै उत्साहित हुने गरेको देखिन्छ ।

सेयर विश्लेषक भरतसिंह थापा ५ वर्षयता महिला लगानीकर्ताको संख्या १० गुणाले बढेको बताउँछन् । ‘लकडाउनपछि अनलाइन कारोबारका कारण यस्तो संख्या झनै बढेको छ,’ उनले भने । विद्यार्थीदेखि गृहिणीसम्म सेयर बजारमा आउनुलाई सकारात्मक पाटो मान्छन् उनी । आईपीओ, पुँजी बजार, दोस्रो बजार, सेयर बजारको ट्रेन्ड, बुल र बियरिस ट्रेन्डबारे उनीहरूलाई जानकारी हुनुपर्ने थापाको भनाइ छ । उनका अनुसार महिला लगानीकर्ताका लागि दुई चुनौती छन्, वित्तीय साक्षरता र लगानीमा पहुँच ।

वित्तीय साक्षरता नहुँदा लगानीकर्तामा स्थिरता हुँदैन, यसले सेयर बजारलाई नै असर पुग्छ । यस्तै, लगानी डुब्यो भने पारिवारिक रूपमै असर पुग्न सक्ने थापा बताउँछन् । ‘वित्तीय साक्षरताकै कमीका कारण लगानीका लागि घरका अरू पुरुषको भरमा पर्नुपर्ने समस्यामा पनि महिला छन्,’ उनले भने । लगानीमा महिलाको पहुँच नहुँदा आफूले रिस्क लिएर लगानी गर्न नसक्ने, चाहेजसरी सेयर खरिद–बिक्री गर्न नपाउने समस्या रहेको थापाले बताए । सरकार र सेयर लगानीकर्तासम्बन्धी संघसंस्थाले यी क्षेत्रमा काम गर्नुपर्ने उनको तर्क छ ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष पोखरेल सेयरमा लगानीका कारण महिला सशक्तीकरण बढे पनि अझै उनीहरूलाई पुँजी बजारबारे जानकारी दिन आवश्यक रहेको ठान्छिन् । ‘सेयरबाट उनीहरूले कमाएका मात्रै छैनन्, कतिको लगानी पनि डुबेको छ,’ उनले भनिन्, ‘सामान्यतया लगानी डुबेमा महिलाले अनुभव बाँडिहाल्दैनन् । त्यसैले उनीहरूलाई बढीभन्दा बढी वित्तीय साक्षरताको आवश्यक छ । सेयर बजारमा महिलाको लगानीकर्ताको दिगो सहभागिताका लागि धितोपत्र बोर्डलगायत संघसंस्थाले यस क्षेत्रमा काम गर्नुपर्ने देखिन्छ ।’

प्रकाशित : माघ ५, २०७९ १०:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×