कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकर संक्रान्ति मनाउन घर फर्कंदै

मनोज बडू

दार्चुला — हिउँदे खेती लगाएर यहाँका स्थानीय मौसमी मजदुरी गर्न भारत जाने गर्छन् । कात्तिक/मंसिरमा भारतका विभिन्न ठाउँमा गएका नेपाली नरहरी त्यार (माघे संक्रान्ति) मनाउन स्वदेश फर्किरहेका छन् । यहाँका सबै ठाउँमा नरहरि त्यार धुमधामसँग मनाउने चलन छ । यो पर्व मनाउन घरबाहिर रहेका मानिसहरू घर फर्कन थालेका छन् ।

मकर संक्रान्ति मनाउन घर फर्कंदै

स्वदेशमा रोजगारी नपाइने भएपछि मुख्य गरी भारतसित सीमा जोडिएका बस्तीका मानिस मजदुरीका लागि भारत जान्छन् । दुहु गाउँपालिका–२ का करनसिंह बडाल मंसिर पहिलो साता हिउँदे खेती भारतको खेलामा मजदुरीका लागि गएका थिए । उनीहरू नरहरी त्यारको खर्च जुटाएर शुक्रबार घर फर्केका छन् । करिब २ महिना मजदुरी गरेर चार महिनासम्मको सामान्य घर खर्च जोहो गर्न भ्याएका छन् । आफूसँगै मजदुरीमा गएका सबै गाउँ आएको उनले बताए ।

त्यस्तै, मार्मा गाउँपालिका–३ का अर्जनसिंह विष्ट तीन महिना भारतको हिमखोलाबाट मजदुरी गरी नरहरी मनाउन शनिबार गाउँ पुगेका छन् । दक्ष मजदुर भएकाले विष्ट दैनिक एक हजार ज्यालादारीमा मजदुरी गर्ने बताउँछन् । महिनाभरि मजदुरी गर्न पाए करिब ३० हजार रुपैयाँसम्म कमाउन सकिने उनको भनाइ छ । उनले वर्षमा करिब ६ महिना जति भारतमा दैनिक ज्यालादारीमा मजदुरी गर्ने बताए । खेतीपातीका बेलाबाहेक बाँकी समय भारतमै मजदुरी गर्ने उनको भनाइ छ ।

रोजगारीका लागि भारत गएका अधिकांश मानिस यतिबेला घर फर्किरहेका छन् । नरहरी त्यारलाई यहाँका ग्रामीण भेगमा सबैभन्दा बढी महत्त्वका साथ मनाइने महाकाली नगरपालिका–१ जमनसिंह कुँवरले बताए । यो सिजनमा अन्य समयभन्दा कामको चाप नहुने हुँदा चेलीबेटी माइत आउने गर्छन् । कामको खोजीमा मुग्लान गएकाहरू घर फर्कने समय भएकाले परिवारका सदस्यहरू खुसी छन् ।

केही दिनयता सीमा नाकाहरूमा दैनिक घर फर्कनेको संख्या बढ्दै गएको सीमा प्रहरी चौकीहरूले जनाएका छन् । नेपाल–भारत जोड्ने खलंगाको पुलघाट, दत्तु, जौलजीवी, तिग्रम, लाली, मल्घट्टे, मालका नाकाहरूमा दैनिक सयौंको संख्यामा घर फर्किरहेका छन् ।

प्रकाशित : माघ १, २०७९ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?