कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

प्रदेशको आधारशिला तयार : मुख्यमन्त्री भट्ट

अर्जुन शाह

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारको आधारशिला तयार गरेको दाबी गरेका छन् । उनले दोस्रो कार्यकालमा आउने सरकारले पहिलो कार्यकालको आफ्नो नेतृत्वको प्रदेश सरकारले झेल्नु परेजस्तो समस्याहरू व्यहोर्नु नपर्ने बताए ।

प्रदेशको आधारशिला तयार : मुख्यमन्त्री भट्ट

प्रदेश संरचना स्थापना भएपछिको दोस्रो सरकार गठन हुने अघिल्लो दिन मंगलबार मुख्यमन्त्री भट्टले आफ्नो कार्यकालको प्रगतिहरू सार्वजनिक गरेका हुन् ।

उनले प्रदेश सरकार मातहतका कार्यालय स्थापना, अत्यावश्यक कानुन निर्माण, योजनाबद्ध विकासको सुरुआत, नीति तथा योजनाहरू बनाएको बताए । ‘अब आउने सरकारलाई हामीले सुरुआतमा ब्यहोरे जस्तो बजेट ल्याउन र कार्यान्वयन गर्न समस्या पर्ने छैन,’ उनले भने, ‘तर पनि काम गर्ने चिन्तनमा परिवर्तन जरुरी छ ।’ उनले पाँच वर्ष स्थिर सरकार रहने संविधानको मर्म र भावना सुदूरपश्चिममा कार्यान्वयन भएको बताए । ‘मेरो कार्यकाल अवधिमा संघमा गठित तीनवटै सरकारसँग समन्वय गरेर काम गर्ने अवसर मिल्यो,’ उनले भने, ‘प्रदेशमा कुनै विवाद नभई पहिलो कार्यकाल सम्पन्न गरेकाले हामी सफल भएका छौं ।’

मुख्यमन्त्री भट्टले आफ्नो सरकारले कार्यकालमा कृषि, पर्यटन, जडिबुटी र भौतिक संरचना निर्माणलाई मुख्य प्राथमिकतामा राखेर काम गरेको दाबी गरे । ‘भौतिक संरचना निर्माणतर्फ सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका छौं,’ उनले भने, ‘०७४ सम्म सुदूरपश्चिममा एक हजार किलोमिटरको पेरिफेरीमा मात्रै कालोपत्रे सडक निर्माण भएको अवस्थामा प्रदेश सरकारले ४१० किलोमिटर सडक कालोपत्रे थप गरेको छ ।’ उनले ७६९ किलोमिटर ग्राभेल र २ हजार ९२ किलोमिटर कच्ची सडक निर्माण गरिएको बताए । ५३ वटा सडक र झोलुंगे पुल निर्माण गरिएको सुनाए । उनले ६६ वटा सडक र पुलका योजना बहुवर्षीय ठेक्कामार्फत सञ्चालन भइरहेको बताए । त्यसबाट आगामी २ वर्षमा ७ देखि ८ सय किलोमिटर सडक कालोपत्रे हुने उनको दाबी छ ।

मुख्यमन्त्री भट्टले ७/७ मेगावाट दुई वटा जलविद्युत् आयोजनाको सर्भे र डीपीआर निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार १२ हजार ९४४ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याएको, एक सय ५७ किलोमिटर तटबन्ध निर्माण, २ हजार ९६० वटा निजी आवास निर्माण र ४ सय १७ सामुदायिक भवन निर्माण भएको छ । त्यस्तै, एक हजार ८६२ वटा संघीय ससर्त र ७२३ वटा प्रदेश खानेपानी योजना, एक हजार ९९२ कक्षाकोठाहरू र एक सय ९३ वटा विद्यालयका भवन निर्माण, २४५ वटा विद्यालयमा आईसीटी ल्याब निर्माण र ५३ वटा क्याम्पसको भवन निर्माण गरिएको बताए ।

प्रदेश सरकारले स्वास्थ्य सेवाको क्षेत्रमा प्रगति गरेको भन्दै उनले प्रदेशका सबै अस्पतालहरूमा विशेषज्ञ सेवा दिने व्यवस्था गरिएको बताए । ८८ वटै स्थानीय तहमा अल्ट्रासाउन्डको व्यवस्था, सबै अस्पतालमा आईसीयू र भेन्टिलेटरको व्यवस्था गरिएको उल्लेख गरे । ‘अस्पतालहरूका समस्याहरू घटाउन सफल भएका छौं,’ मुख्यमन्त्री भट्टले भने ।

पाँच वर्षको अवधिमा मुख्यमन्त्री कृषि कार्यक्रमबाट ३ सय परिवार लाभान्वित भएको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले कृषि कार्यक्रमबाट ७ हजार जनाले रोजगारी पाएको दाबी गरेका छन् । ‘कृषिका कार्यक्रम र अनुदानबाट ५ हजार युवालाई रोजगारी सिर्जना भएको छ,’ उनले भने, ‘प्रदेश

सरकारले प्रदेश निजामती कर्मचारी ऐन र प्रदेश प्रहरी ऐनलगायतका ६४ वटा ऐन कानुन निर्माण गरेका छौं ।’ पाँचवर्षे कार्यकाल पूरा गरी बिदा हुनै लाग्दा उनले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका हुन् । बिदा हुन लागेका अन्य मन्त्रीहरूले पनि मन्त्रालयको प्रगति विवरण सार्वजनिक गरेका थिए ।

प्रकाशित : पुस २७, २०७९ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×