कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस महाधिवेशन कतै मतदान, कतै मनोनयन

डडेलधुरा, धनगढी र कञ्चनपुर — सुदूरपश्चिमका नौमध्ये सात जिल्लामा कांग्रेस क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन प्रक्रिया सोमबारदेखि सुरु भएको छ । बझाङ र बाजुरामा दसैंअघि नै निर्वाचन सम्पन्न भइसकेको हो । सोमबारदेखि सुरु निर्वाचनमा कैलाली, कञ्चनपुर र अछामबाहेक एकमात्र निर्वाचन क्षेत्र भएका अन्य ५ जिल्लामा जिल्ला अधिवेशन पनि भइरहेको हो ।

कांग्रेस महाधिवेशन कतै मतदान, कतै मनोनयन

डडेलधुरामा मतदान सकियो

एक संसदीय निर्वाचन क्षेत्र रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सोमबार मतदान सकिएको छ । महाधिवेशन प्रतिनिधिमा प्रधानमन्त्री देउवापत्नी आरजुसहित चार महिला, एक दलित र एक जनजाति निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत योगेन्द्र बमले बताए ।

क्रियाशील सदस्यता विवादका कारण एक पक्षले बहिस्कार गरिरहेकै बेला डडेलधुरा सदरमुकाममा बाजागाजासहित नगर परिक्रमा गरी अधिवेशन सुरु गरिएको थियो । डडेलधुराबाट २६ जना महाधिवेशन प्रतिनिधिमध्ये ६ जना निर्विरोध भएका हुन् । सभापति कर्ण मल्ल पक्षले प्रत्यक्ष रूपमा निर्वाचनमा भाग नलिए पनि उनका समर्थकले सभापतिमा चूडामणि ठकुराठी र केहीलाई महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचनमा उतारेका छन् । प्रधानमन्त्री देउवाको समर्थनमा पर्शुराम नगरपालिका प्रमुख भीमबहादुर साउँदको नेतृत्वमा पूरै प्यानल निर्वाचनमा उत्रिएको छ ।

संस्थापनभित्रै गुट

कञ्चनपुरमा क्षेत्रीय समितिका पदाधिकारी र महाधिवेशन प्रतिनिधिका लागि सोमबार मतदान सम्पन्न भएको छ । क्षेत्रीय समितिका पदाधिकारीका लागि प्यानलसहित प्रतिस्पर्धा भएको छ भने महाधिवेशन प्रतिनिधिका लागि पनि ठूलो संख्यामा उम्मेदवारी परेको छ ।

कञ्चनपुर क्षेत्र नं. १ मा २४ महाधिवेशन प्रतिनिधिका लागि ५९ जना भिडेका छन् । क्षेत्रिय समितिका लागि संस्थापन पक्षका एनपी सावद र संस्थापनइतरका दिवानसिंह विष्टको संयुक्त प्यानल बनेको छ भने संस्थापन पक्षका अर्का नेता रमेश लेखकको छुट्टै प्यानल बनेको छ । क्षेत्र नं. २ मा पनि महाधिवेशन प्रतिनिधिका लागि ४६ जनाको उम्मेदवारी परेको छ । क्षेत्रीय समितिका लागि पनि संस्थापन पक्षकै साउद र लेखकको प्यानलबीच प्रतिस्पर्धा देखिन्छ । क्षेत्र नं. ३ मा महाधिवेशन प्रतिनिधिका लागि ७३ जनाको उम्मेदवारी परेको छ । क्षेत्रीय समितिको पदाधिकारीका लागि संस्थापन समूहबाटै नेता लेखक र साउदका छुट्टाछुट्टै प्यानल प्रतिस्पर्धामा छन् । तीनवटै निर्वाचन क्षेत्रमा सोमबार राति अबेरसम्म मतदान भइरहेको छ । मतगणना सोमबार राति नै वा मंगलबार हुने विषयमा टुंगो लागिसकेको छैन ।

कांग्रेस कैलालीमा पनि संघीय निर्वाचन क्षेत्रअनुसार क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । कांग्रेस जिल्ला प्रचार समितिका संयोजक नृपबहादुर सुनारका अनुसार कैलालीका ५ वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भई नेतृत्व छनोटका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

क्षेत्र नम्बर ४ मा क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिका लागि सोमबार मतदान सकिएको छ । अन्य ४ क्षेत्रमा मनोनयनको सकिए पनि मतदान मंगलबार हुनेछ । कैलालीमा देउवा पक्षकै दुई गुटमध्ये एउटा पक्षको नेतृत्व पूर्वजिल्ला सभापति दीर्घराज भाट र अर्को जिल्ला सभापति नरनारायण शाहको छ । संस्थापन इतरपक्षका केही जना दुवै समूहभित्र एक्लाएक्लै प्रवेश गरेर महाधिवेशन प्रतिनिधिमा आउने दाउमा छन् । बैतडीमा पनि जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि सोमबार मनोनयन भएको छ । मंगलबार बिहानदेखि मतदान हुने बताइएको छ । यसैगरी अछाम, डोटी र दार्चुलामा मंगलबारदेखि निर्वाचन प्रक्रिया सुरु हुँदै छ ।

प्रकाशित : मंसिर ७, २०७८ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?