महाकालीमा झोलुंगे पुल सञ्चालन- सुदूरपश्चिम - कान्तिपुर समाचार

महाकालीमा झोलुंगे पुल सञ्चालन

साढे तीन वर्षअघि सँगै ठेक्का लगाइएका चारमध्ये दुई पुल निर्माण अलपत्र
मनोज बडू

दार्चुला — महाकाली नदीमा दुई वटा झोलुंगे पुल सञ्चालन भएपछि ब्यास गाउँपालिका–६ बडूगाउँ, मालिकार्जुन गाउँपालिका–६ बाकु र आसपासका बासिन्दाले तुइन र ट्युबबाट नदी तर्नुपर्ने बाध्यता हटेको छ । तीन महिनाअघि नै निर्माण पूरा भएको नेपाल–भारत जोड्ने झोलुंगे पुल बिहीबारबाट सञ्चालनमा आएको हो । 

बडूगाउँ र आसपासका बासिन्दा जिल्ला सदरमुकाम आउजाउ गर्नसमेत तुइनबाट महाकाली तरेर भारतीय बाटो प्रयोग गर्न बाध्य थिए । बाकुमा भने ट्युबका सहारामा महाकाली तर्नुपर्थ्यो । पुल सञ्चालन भएपछि बडूगाउँबाट भारतीय बाटो भएर एक घण्टामै गाडीमा दार्चुला सदरमुकाम पुगिन्छ भने नेपालको बाटो प्रयोग गर्दा कम्तीमा ५ घण्टा हिँड्नुपर्छ ।

साढे तीन वर्षअघि एकसाथ चारवटा पुलको ठेक्का लगाइएकामा अन्य दुई पुलको निर्माण भने अझै सकिएको छैन । सबै पुलको निर्माण सकेर एकसाथ हस्तान्तरण गर्ने योजनाका साथ बनिसकेका झोलुंगे पुल सञ्चालन गरिएको थिएन । स्थानीय बासिन्दाले नदी वारपारमा समस्या परेकाले बनिसकेका पुल सञ्चालन गर्नुपर्ने आवाज उठाउँदै आएका थिए । नवनिर्मित पुल दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, भारतको पिथौरागढ जिल्ला अधिकारी आशिष चौहान र स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा उद्घाटन गरिएको हो । पुलमा दुवै देशबाट अस्थायी रूपमा सुरक्षाकर्मीसमेत खटाइएको छ । राति भने सीमा पुल बन्द हुन्छ ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले तुइन विस्थापन कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा महाकालीमा चार वटा झोलुंगे पुलको ठेक्का लगाएको थियो । सञ्चालनमा आएका दुवै पुलको ठेक्का माल्लिका निर्माण सेवाले पाएको थियो । बडूगाउँको पुल १ करोड २० लाख र बाकुको पुल १ करोड ३५ लाख रुपैयाँमा निर्माण गरिएको हो । खम्पाचे/रुविना जेभि निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको ब्यास–४ मडगाउ र ब्यास–२ मालको झोलुंगे पुल निर्माण सकिन बाँकी छ । मडगाउँमा पुलको काम गत फागुनमै सकिए पनि अन्य संरचना बाँकी छ ।

मालमा झोलुंगे पुल बनिरहेको ठाउँनजिकै गत वर्ष साउन १५ मा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा स्थानीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएका थिए । उक्त घटनापछि मालस्थित पुल छिटो बनाउने दबाबसमेत परेको थियो । तर मालको पुल निर्माण अलपत्र छाडेर ठेकेदार प्रतिनिधि सम्पर्कविहीन रहेको व्यास–२ का वडाध्यक्ष धिरन बुढाथोकीले बताए । स्थानीयका अनुसार माथिल्लो क्षेत्रमा दार्चुला–टिंकर सडकको काम भइरहेकाले पुलमा काम गर्न नसकिने भन्दै डेढ महिना अगाडी ठेकेदार प्रतिनिधि साइट छाडेर हिँडेका थिए ।

सस्पेन्सन ब्रिज कार्यालयले ठेकेदारलाई पुसमै मालको पुल निर्माण सक्न निर्देशन दिएको थियो । मालमा पुलको पिलरसम्म बन्न सकेको छैन । ‘निर्माण सामग्री मालमा पुर्‍याउन भारतीय पक्षसित समन्वय गरेका छौं । ठेकेदारले काम गरे एक/डेढ महिनामै निर्माण भइसक्छ,’ वडाध्यक्ष बुढाथोकीले भने । दार्चुलाको सीमावर्ती महाकाली नदीमाथि यसअघि चारवटा पुल थिए । दुई पुलमा आउजाउ खुलेपछि खुसी लागेको स्थानीयले बताए ।

प्रकाशित : जेष्ठ १३, २०७९ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्

बाल संरक्षणका लागि प्रत्येक स्थानीय तहमा बाल कल्याण अधिकारी राखिने

कान्तिपुर संवाददाता

काठमाडौँ — अब प्रत्येक स्थानीय तहमा बालबालिकाको सम्मान, संरक्षण र संवद्र्ध तथा बाल संरक्षणको लागि स्थानिय बाल अधिकार समितिमा एक जना बाल कल्याण अधिकारी र स्थानीय तहमै पुन:स्थापना केन्द्रको व्यवस्था गरिने भएको छ ।

हालै सरकारले ल्याएको बालबालिका सम्बन्धि नियमावली ०७८ ले यो व्यवस्था गरेको छ । जोखिमपूर्ण श्रममा भएका बालबालिकाको उद्दार गर्ने, आश्रयमा रहेका अभिभावकविहिन बालबालिकाहरुको जन्म दर्ता नभएको हकमा स्थानिय बाल अधिकार समितीले तुरुन्तै जन्मदर्ता बनाइदिनुपर्ने व्यवस्था छ ।

बालगृह सम्बन्धित व्यवस्थामा बाल गृह सञ्चालनका लागि कम्तिमा २० जनाका लागि भौतिक पूर्वाधार हुनुपर्ने, बालक, बालिका र यौनिक तथा लैगिंक अल्पसंख्यक बालबालिकालाई सुरक्षितसँग छुट्टाछुट्टै राख्ने व्यवस्था गर्नुपर्ने नियमावलीमा तोकिएको छ । बालबालिका सम्बन्धी ऐन २०७५ मा ल्याइएको थियो । नियमावली जेठ ५ गते नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७९ १०:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×