डोटीको केआईसिंहमा विशेषज्ञको नेतृत्वमा स्वास्थ्य शिविर

डोटी — डोटीको केआईसिंह गाउँपालिकाले विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शनिबार वडा नं. २ तिखात्तरमा विशेषज्ञ चिकित्सकसहितको टोलीले २ सयभन्दा बढी बिरामीहरुको परीक्षण तथा उपचार गरेको छ ।

स्वास्थ्य शाखा प्रमुख नविन माझीले शनिबार सञ्चालन भएको स्वास्थ्य शिविरमा २ सय ४० बिरामीहरुले उपचार गराएको बताए । उनले जनरल फिजिसियन डा. जुनु लावती, बालरोग विशेषज्ञ डा. ललित सुरी, मेडिकल अधिकृत इन्द्र माझीसहितको स्वास्थ्यकर्मीहरुको टोली शिविरमा खटिएको जानकारी दिए ।
शिविरमा स्वास्थ्य परीक्षण, मधुमेह, प्रजनन तथा स्त्रीरोग, बालरोग, नाक, कान, घाँटी, मुटु, पेट, छाती, श्वासप्रश्वास लगायतका रोगहरुको उपचार गरिएको थियो । उपचारका लागि परामर्श सेवा एवम् नि:शुल्क औषधिसमेत वितरण गरिएको थियो ।
फोक्सो र दम सम्बन्धी, हाडजोर्नी दुख्ने , ग्याष्टिक सम्बन्धी, ढाड तथा पेट दुख्ने, महिलाको तल्लो पेट दुख्ने, उच्च रक्तचाप र कान सम्बन्धी समस्या भएका बिरामीहरु शिविरमा उपचारका लागि आएको केआईसिंहका स्वास्थ्य शाखा प्रमुख नविन माझीले बताए । उनका अनुसार उपचारका लागि १ सय ७० महिला र ७० पुरुष आएका थिए । जसमध्ये ५१ बालबालिका रहेका छन् ।
लामो समयदेखि तल्लो पेट दुख्ने समस्याले पीडित तिखात्तरकी सोना परियारले गाउँमै उपचार पाउँदा खुसी लागेकोे बताइन् ।
नेपालमै पहिलोपटक पालिकाकै बजेटबाट स्वास्थ्य चौकीमा एमबीबीएस नियुक्त गरी सेवा दिने केआईसिंह गाउँपालिका पहिलो पालिका हो । चालु आर्थिक वर्षबाट भने वडामा नै मासिक रुपमा एमबीबीएस डाक्टरसहितको टोली खटाएर घुम्ती सेवा दिँदै आएको केआईसिंह गाउँपालिकाले यसपटक भने विशेषज्ञ चिकित्सक ल्याएर नि:शुल्क शिविर सञ्चालन गरेको छ ।
‘विभिन्न कारणले गाउँघरमा बिरामीहरु उपचार नगरेर रोग लुकाउन बाध्य छन्’, पालिकाका अध्यक्ष शाहीले भने, ‘त्यही कारण विशेषज्ञ चिकित्सक गाउँमै ल्याएर नि:शुल्क सेवादिने हाम्रो प्रणलाई आजबाट कार्यान्वयन गरेका छौं ।’
पहिलो चरणमा गाउँघर क्लिनीक, आधारभूत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुबाट नियमित बिरामीहरुको उपचार गर्ने, दोस्रो चरणमा वडा वडामा संचालन हुने एमबीबीएस डाक्टरको घुम्ती शिविरबाट उपचार हुने तथा तेस्रो चरणमा विशेषज्ञ डाक्टरबाट सेवा दिने नीति रहेको गाउँपालिका अध्यक्ष शाहीले बताए । आगामी आर्थिक वर्षबाट विशेषज्ञ स्वास्थ्य शिविरलाई थप प्रभावकारी हुने गरी कार्यान्वयन गरिने प्रतिबद्धता जनाए ।
