२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

छात्रा बलात्कार आरोपमा दार्चुलाका शिक्षक पक्राउ

मनोज बडू

दार्चुला — दार्चुलाको नौगाड गाउँपालिकामा नाबालिग छात्रामाथि बलात्कार गरेको अभियोगमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

छात्रा बलात्कार आरोपमा दार्चुलाका शिक्षक पक्राउ

नौगाड गाउँपालिका–६ स्थित धुलिगडाका शिक्षक रामसिंह धामीलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार मालिकार्जुन आधारभूत विद्यालयमा कम्प्युटर विषय पढाउने शिक्षक धामीले सोही विद्यालयमा अध्यनरत १६ वर्षीया छात्रामाथि बलात्कार गरेको उजुरी परेको हो ।

गत फागुनमा बलात्कार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । अहिले उनलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीका डीएसपी प्रतिक विष्टले बताए ।

पीडित पक्षको बुधबार जबर्जस्ती करणीमा मुद्दा दर्ता भएकोले घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । पीडित छात्राले धामीविरुद्ध बलात्कार, हाडनाता र साइबर क्राइम अपराधमा जाहेरी दिएकी थिइन् ।

उनको उजुरीपछि प्रहरीले धामीलाई पक्राउ गरेको हो । पीडित किशोरी आरोपित धामीको छिमेकी र बहिनी नाता पर्ने पनि बताइएको छ । आफन्तका अनुसार ती शिक्षकले बलात्कार गरेपछि भिडिओ पनि बनाएको र त्यही भिडियो देखाएर ब्ल्याकमेल गर्दै पटक–पटक बलात्कार गरिएको अनुसन्धानमा देखिन्छ । आरोपित धामीले बनाएको भिडियो पनि अहिले सार्वजनिक भएको प्रहरीले जनाएको छ ।

डीएसपी विष्टका अनुसार पीडित छात्रा बुधबार प्रहरीकहाँ उजुरी दर्ता गर्न पुगेकी थिइन् । शिक्षकले बनाएको भिडियो गाउँमा एक/दुई हप्ताअघि सार्वजनिक भएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ ।

यही जेठ ६ गते आरोपित धामीले उक्त भिडियो आफ्नो एक जना साथीको पर्सनल म्यासेजमा पठाएका थिए । त्यसपछि उक्त भिडियो उनका साथीले अरु व्यक्तिहरुलाई सेयर गरेका थिए । यसरी सेयर हुँदै गएपछि भारतको बेङ्गलोरमा बस्ने एक जनाले फेसबुकमा सार्वजनिक गरिदिएका थिए । त्यसपछि उक्त घटना बाहिरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?