नेपाल-भारत जोड्ने दुई झोलुंगे पुल सञ्चालनमा

मनोज बडू

दार्चुला — महाकालीमा नेपाल–भारत जोड्ने दुई झोलुंगे पुल सञ्चालनमा आएका छन् । व्यास गाउँपालिका–६ बडूगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाकुमा निर्माण सम्पन्न भएका दुई पुल बिहीबार उद्घाटन गरिएको हो ।

सरकारको तुइन विस्थापन कार्यक्रम अन्तर्गत महाकाली नदीमा निर्माण गरिएका दुई वटा झोलुंगे पुल सञ्चालनमा आएसँगै स्थानीयको वारिपारिको यात्रा सहज हुने अपेक्षा गरिएको छ ।

नागरिकको सहजताका लागि निर्माण सम्पन्न दुवै पुलहरू नेपाल र भारतका अधिकारीहरुको उपस्थितिमा उद्घाटन गरिएको हो । एकै योजनामा निर्माण सम्पन्न सीमा पुल सञ्चालनमा ल्याउन यसअघि नै निर्णय भइसकेको हुनाले त्यसै कार्यक्रम अनुसार पुलहरु सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताए ।

महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्ने भनेर स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गत सस्पेन्सन ब्रीज डिभिजनले चार स्थानमा झोलुंगे पुल निर्माणको ठेक्का पाएको थियो ।

जसअन्तर्गत बडूगाउँ र बाकुमा गत फागुनमै झोलुंगे पुल निर्माण सम्पन्न भएका थिए । बाकुमा पुल बाहेक अन्य संरचना निर्माणमा लामो समय लागेको हुनाले संचालनमा ढिलाइ भएको जनाइएको छ ।

त्यस्तै व्यास गाउँपालिका–४ मडगाउँमा पनि नेपाल–भारत जोड्ने झोलुंगे पुल माघ तेस्रो साता निर्माण सम्पन्न भइसकेको छ । तर अन्य भौतिक संरचना निर्माण कार्य भइरहेका छन् । यस्तै व्यास गाउँपालिका–२ मालमा पुल निर्माणाधीन छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, भारतको पिथौरागढ जिल्ला अधिकारी आशिष चौहान, महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसीर, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी, व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामी, सुरक्षाकर्मी अधिकारीको उपस्थितिमा पुल सञ्चालनमा ल्याएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७९ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्

उदयपुरको त्रियुगामा कांग्रेसको अग्रता

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको त्रियुगा नगरपालिकामा दुई दिनयता मतगणना जारी छ । मतगणाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार वसन्त बस्नेतले अग्रता लिइरहेका छन् । 

मतदान विवादका कारण निर्वाचन सम्पन्न भएको ११ दिनपछि सुरु भएको मतगणनाको पछिल्लो नजिताअनुसार कांग्रेसका बस्नेतले ३ हजार ८ सय ३१ मत प्राप्त गरेका छन् । उनलाई नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार बलदेव चौधरीले ३ हजार ७ सय ८३ मतसहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार भागवत राउतले २ हजार ८ सय ३० मत प्राप्त गरेको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी उपमेयरमा कांग्रेसकी सरिता राईले ३ हजार ४ सय ८६ मत लिएर अग्रता स्थान कायम गरेकी छन् । उनी सुरुदेखि नै अगाडि नै थिइन् । एमालेकी महेश्वरी राईले ३ हजार १ सय २५ मतका साथ पछ्याइरहेकी छन् भने तेस्रो स्थानमा माओवादी केन्द्रकी गीता खड्का कार्कीले ३ हजार ७९ मत ल्याएकी छन् ।

१६ वडा रहेको त्रियुगा नगरपालिकामा अहिलेसम्म १, २, १४,१५ र १६ वडाको मतगणना सम्पन्न भई परिणामसमेत सार्वजनिक भइसकेको सहायक निर्वाचन अधिकृत दिलीप मगरले बताए । मतगणना स्रम्पन्न भएका वडामा क्रमश: मनोज चौधरी कांग्रेस, घमानसिंह खत्री एमाले, हिमराज मगर माओवादी, गणेशप्रसाद तिमल्सिना माओवादी र मानबहादुर राई माओवादी वडाध्यक्षमा निर्वाचित भएको सहायक निर्वाचन अधिकृत मगरले बताए ।

यहाँ ६० हजार मतदाता रहेकोमा ४१ हजार ८ सय ९८ मत खसेको छ । अहिलेसम्म १२ हजार १५ मतमात्रै गणना गरिसकिएको छ ।


प्रकाशित : जेष्ठ १२, २०७९ १८:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×