कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

स्वास्थ्य सेवा र स्वास्थ्य पुनर्स्थापनासम्बन्धी रणनीतिक कार्ययोजना सार्वजनिक

तृप्ति शाही

वीरेन्द्रनगर — कर्णालीमा स्वास्थ्य सेवा र स्वास्थ्य पुनर्स्थापना रणनीतिक कार्ययोजना तयार पारिएको छ । प्रदेशको सात वर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना र सात वर्षे स्वास्थ्य पुनर्स्थापना रणनीतिक कार्ययोजना तयार पारिएको हो । दुवै कार्ययोजना मंगलबार सार्वजनिक भए ।

स्वास्थ्य सेवा र स्वास्थ्य पुनर्स्थापनासम्बन्धी रणनीतिक कार्ययोजना सार्वजनिक

कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा पर्याप्त दक्ष जनशक्ति, पूर्वाधार, औषधि र उपकरणको अभावले स्वास्थ्य सेवामा सहज पहुँच पुग्न नसकेको, सेवाग्राहीको न्यून सचेतना, भौगोलिक कठिनता, लगानी बढी लाग्नेजस्ता समस्याहरु रहेकोले प्राथमिकता अनुसार त्यसलाई समाधान गर्न स्वास्थ्य क्षेत्र रणनीतिक कार्ययोजना तयार गरिएको जनाइएको छ ।

यस्तै, कर्णालीमा सडक दुर्घटना, भौगोलिक अवस्थाबाट अपांगता हुने क्रम बढेकोले सचेतीकरण तथा उपचार र पुनर्स्थापनाका लागि स्वास्थ्य पुनर्स्थापना रणनीतिक कार्ययोजना तयार गरिएको हो ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले रणनीतिक कार्ययोजनामा स्वास्थ्य नीतिले अंगिकार गरेका लक्ष्य प्राप्तिका लागि प्रदेश विशेष कार्यनीतिहरुको माध्यमबाट विभिन्न क्रियाकलापहरु तय गरिएको बताए । यसले उपलव्ध साधन स्रोत र अवसरहरुको अधिकतम उपयोग गरी दिगो विकास लक्ष्यले तोकेको सूचकहरुको उपलव्धीहरु हासिल गर्ने बताए ।

संघीयतापछि कर्णालीको स्वास्थ्य अवस्थामा क्रमश: सुधार आउँदै गरेको, प्रदेशका अधिकांश जिल्ला अस्पतालहरु निर्माणाधीन अवस्थामा रहेको, स्थानीय पालिकहरुमा पनि धमाधम अस्पतालहरु बनिरहेको, कर्णाली विशेष प्रोत्साहन भत्ता उपलव्ध भएकोले स्वास्थ्यकर्मीहरुको आकर्षण बढेको, महामारी रोकथाम, नियन्त्रण, निदानका लागि स्वास्थ्यजन्य औजार र उपकरणहरु उपलव्ध भएको, औषधि तथा उपकरणको सहज वितरणका लागि प्रादेशिक स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रको स्थापना भएको, प्रदेशका सवै जिल्लाहरुमा स्वास्थ्य वीमा कार्यक्रम लागू भएको महाशाखा प्रमुख शाहीले बताए ।

यति हुँदाहुदैं पनि सर्ने रोगका साथै नसर्ने रोगहरुको प्रकोप बढेको, कर्णालीमा भौगोलिक अवस्थाले प्राकृतिक विपद्, सडक दुर्घटना, रुख तथा भीरबाट खसेर घाइते भएकाहरुको पुनर्स्थापना हुन नसकेको, स्वास्थ्य क्षेत्रमा १० प्रतिशत पनि बजेट विनियोजन हुन नसकेको, खाद्य पदार्थमा अत्यधिक विषादिले मानव स्वास्थ्यमा बढी असर परेको जस्ता चुनौतीहरु पनि औंल्याइएको छ ।

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले स्वास्थ्य रणनीतिक कार्ययोजना तयार भएकोले अव प्राथमिकीकरण गरेर काम गर्न सहज हुने बताए । तयार कार्ययोजना अनुसार काम गर्न सके कर्णालीको स्वास्थ्य क्षेत्रमा थप सुधार आउने दावी पनि उनले गरे ।

प्रदेश स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले सीमित स्रोत साधनबाट धेरै लाभ लिनसक्ने योजनाहरु कार्ययोजनामा समावेश गरिएको बताए । कर्णालीको कठिन भूगोलले अपांगता हुने क्रम पनि बढिरहेकोले अपांगता तथा पुनर्स्थापनाको क्षेत्रमा पनि काम गर्न अति आवश्यक भएको उल्लेख गरे ।

प्रकाशित : चैत्र २०, २०८० १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×