कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

बैंकबाट बचतकर्ताको रकम अपचलन गर्ने एकजना पक्राउ

महेश केसी

रुकुम पश्चिम — आठविसकोट नगरपालिका–११ राडी बजारमा रहेको प्रभु बैंकबाट रकम अपचलन गरी फरार रहेका सोही बैंकका एक कर्मचारी पक्राउ परेका छन् । राडी शाखामा अप्रेशनल इन्चार्ज रहेका बखत् सो नगरपालिकाका भुकम्प प्रभावितका लागि भनेर आएको पहिलो किस्ता बापतको रकम खातामा जम्मा नगरी अपचलन गरेको आरोपमा सोही ठाउँका ३१ वर्षीय निरज बिक्रम शाहलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

बैंकबाट बचतकर्ताको रकम अपचलन गर्ने एकजना पक्राउ

उनी बैंकमा कार्यरत रहँदाको समयमा गत माघ ७ गते २९ लाख रुपैयाँ, माघ १७ गते ७८ लाख ७५ हजार रुपैयाँ र माघ १९ गते २३ लाख ५० हजार रुपैयाँका ३ वटा चेकको कुल रकम एक करोड ३१ लाख २५ हजार रुपैयाँ नगरपालिकाको खातामा जम्मा नगरी अनाधिकृत रुपमा अपचलन तथा दुरुपयोग गरी फरार रहेका थिए ।

त्यसयता फरार रहेका शाहलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । गत फागुन ९ गते प्रभु बैंक लिमिटेड कर्णाली प्रदेश प्रमुख शरदराज तिमिल्सिनाले प्रहरीमा दिएको जाहेरीका आधारमा शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताए ।

शाहलाई पक्राउ गर्न उच्च अदालत सुर्खेतबाट गत फागुन १२ गते पक्राउ अनुमति जारी भएपछि बाँके प्रहरीसँगको समन्वयमा बिहीबार नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट उनलाई पक्राउ गरिएको डिएसपी भट्टराईले जानकारी दिए ।

‘बैंक खाताबाट कानुन प्रतिकुल कार्य गरी बैंकिङ कसुर तथा सजाय ऐन विपरित काम गरेको भेटिएकाले शाहलाई पक्राउ गरिएको छ.’ उनले भने, ‘जाहेरीमा उल्लेखित रकम बाहेक पनि बिभिन्न सर्वसाधारणको बचत बापतको रकमसमेत अपचलन गरिएको हुनसक्ने बारेपनि हामी अनुसन्धान गर्दैछौँ। साथै यस घटनासँग जोडिएका अन्य पाटा-पक्षहरुबारे पनि अनुसन्धानपछि नै खुल्नेछ ।’

आठविसकोट नगरपालिकाले भुकम्प प्रभावितलाई पहिलो किस्ता वापत दिनुपर्ने रकम यसरी अपचलन भएपछि उक्त रकम बैंकले नगरपालिकालाई फिर्ता गरिसकेको प्रभु बैंक राडी शाखाका प्रवन्धक शरदराज तिमिल्सिनाले बताए । यो रकम आरोपीले नै अपचलन गरेको पुष्टि भएपछि जिल्ला प्रहरीमा जाहेरी दिएर बैंकले रकम फिर्ता गरेको तिमिल्सिनाको भनाइ छ ।

‘यसबाहेक पनि बिभिन्न व्यक्तिको बचत वापतको रकम खातामा जम्मा नगरी अनियमितता गरेको भन्ने गुनासोहरु आइरहेका छन् । यसमा अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘एउटा व्यक्तिको गल्तीका कारण बचतकर्ताको रकम दुरुपयोग हुन दिनुहुन्न भन्नेतर्फ बैंक सचेत छ ।’

बचतकर्ताको रकम अपचलनको यो घटनापश्चात प्रभु बैंकको उक्त शाखामा कार्यरत शाह सहित सबै कर्माचारीलाई तत्कालका लागि निलम्बन गरेर प्रदेश प्रमुख तिमिल्सिनाको नेतृत्वमा नयाँ टिमले सेवा दिइरहेको छ ।

प्रकाशित : चैत्र ९, २०८० १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×