कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यपहाडी लोकमार्ग : कतै धमाधम कालोपत्र, कतै पहिरै–पहिरो

ठेकेदारको बेवास्ताले कतिपय खण्डमा वर्षौंदेखि काम अलपत्र, कतिपय स्थानमा गुणस्तरमाथि प्रश्न

सुर्खेत, रुकुम पश्चिम, दैलेख — राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम खण्डको पीपलनेटा–माछ्मी सडकको खरखरे भीरमा झन्डै ६ सय मिटर दूरीमा ठूलो पहिरो खस्दा वर्षायामभरि गाडी चल्न सकेनन् । अहिले पहिरो पन्छाउने काम हुँदा पनि माथिबाट माटो–ढुंगा खस्ने क्रम रोकिएको छैन ।

मध्यपहाडी लोकमार्ग : कतै धमाधम कालोपत्र, कतै पहिरै–पहिरो

‘तलबाट घिउखोलाले माटो तानिरहेको छ,’ मध्यपहाडी लोकमार्गका एक इन्जिनियरले भने, ‘माथिको भूभाग कच्ची हुँदा पहाड पनि खसेको खस्यै छ, कसरी काम गर्ने ?’

खरखरेमा दिनहुँजसो पहिरो जान थालेपछि मध्यपहाडी लोकमार्ग भएर आवतजावत गर्ने धेरैजसो सवारीले धैरेनीचौरको वैकल्पिक सडक प्रयोग गरिरहेका छन् । लोकमार्गकै हाँसीबाङ–चौरजहारी खण्डमा पनि कालीखोलानजिकै दुई ठाउँमा करिब दुई सय मिटरमा पहिरो कतिखेर खस्छ, थाहै हुँदैन । ‘दिनहुँ पहिरो खस्छ, पहिरो पन्छाउँदै यात्रा गर्नुपर्छ,’ मुसीकोट–चौरजहारी खण्डमा गाडी चलाउने रूपलाल विष्टले भने, ‘कहिलेकाहीँ त पहिरोले गाडी नै पुर्छ कि भन्ने चिन्ता हुन्छ ।’

लोकमार्ग आयोजनालाई जाजरकोटको भन्काभीर फुटाउन पनि चुनौती छ । भन्काभीरको कडा चट्टानकै कारण उक्त खण्डमा अघिल्लो वर्ष मात्र ट्र्याक खुलेको हो । उक्त भीरमा अहिले पनि साढे चार मिटर मात्र ट्र्याक खोलिएकाले ठूला गाडी वारपार गर्न समस्या छ । ‘कडा चट्टान भएकाले फुटाउन समस्या भइरहेको छ,’ दैलेखस्थित योजना कार्यालयका प्रमुख अर्जुन बमले भने, ‘काम निरन्तर गरिरहे पनि प्रगति सुस्त छ ।’

योजना कार्यालयले रुकुम पूर्वको पातिहाल्नेदेखि अछामको मंगलसेनसम्मको ४ सय ४० किलोमिटर सडक निर्माण हेरिरहेको छ । अछामको ठूलासेनस्थित बेलखेतमा ८/१० ठाउँमा पनि पहिरो खस्ने समस्या उस्तै छ । यो वर्ष पहिरोले बेलखेतमा करिब ५ सय मिटर कालोपत्र बगाएको छ ।

अछाममा पर्ने १ सय ७ किलोमिटर सडकमध्ये करिब २० किलोमिटरमा कालोपत्र गर्न बाँकी छ । पहिरोकै कारण कालोपत्र गर्न समस्या देखिएको योजना प्रमुख बमले बताए । ‘एक त मध्यपहाडीको पूरै खण्ड नयाँ सडक हो, त्यसमा एकैपल्ट ठूला मेसिन प्रयोग गर्दा धरातल कमजोर भयो,’ उनले भने, ‘मान्छेबाट काम गराउन सम्भव छैन । ब्रेकर लगाउँदा जताततै पहिरोको जोखिम भयो ।’ ‘फ्रेस’ संरचनामा मेसिनको प्रयोग गर्दा जमिन ‘फ्य्राक्चर’ भई पहिरो जाने क्रम बढिरहेको हो । पहिरोको जोखिम कम गर्न ‘स्ट्रक्चर’ सँगै बायोइन्जिनियरिङलाई सँगै लैजान थालिएको उनको भनाइ छ । यसअनुसार सडक आसपासका क्षेत्रमा रूख रोपेर भूक्षय घटाउने आयोजनाको योजना छ ।

लोकमार्गको जाजरकोट खण्डअन्तर्गत ८३ किलोमिटर सडकलाई ७ खण्डमा विभाजन गरिएको छ । दुई ठाउँमा पुल निर्माण भइरहेको छ । जाजरकोटमा कालोपत्रका लागि गत वर्ष मात्रै आयोजना कार्यालयले ठेक्का खोलेको थियो । अहिलेसम्म १५ किलोमिटर खण्डमा कालोपत्रको काम सकिएको छ भने चालु आर्थिक वर्षभित्र थप ३० किलोमिटर सडक कालोपत्र गर्ने योजना कार्यालयको छ ।

रुकुम पूर्वमा ७० किलोमिटर र रुकुम पश्चिममा ५० किलोमिटर भाग यो लोकमार्गले छुन्छ । त्यसमध्ये अब पूर्वमा २० र पश्चिममा २२ किलोमिटर कालोपत्र गर्न बाँकी छ । रुकुममा सबैभन्दा अप्ठ्यारो मानिएको सेरीगाउँ–हाँसीबाङ सडकमा अघिल्लो वर्ष मात्र ठेक्का लागेको थियो । उक्त खण्डको १२ किलोमिटर सडक स्तरोन्नतिका लागि ४४ करोड रुपैयाँमा दिवा/यती जेभीले जिम्मा लिएको छ । २०७७ जेठ २८ मा निर्माण सम्झौता गरेको कम्पनीले २०७९ मंसिर २७ मा सडक कालोपत्र गरिसक्नुपर्नेछ । उक्त सडकको चौडाइ ९ मिटर हुनेछ भने साढे ७ मिटरमा कालोपत्र गरिनेछ ।

१३ वर्षमा २१ किमि मात्रै कालोपत्र

आयोजनाको दैलेख खण्डको १ सय २५ किलोमिटर सडकमध्ये अहिलेसम्म २१ किलोमिटर सडकमा मात्र कालोपत्र भएको छ । ट्र्याक खोलेको १३ वर्षमा आयोजनाले २१ किमिमा मात्रै कालोपत्र गरेको हो । नारायण नगरपालिका–२ जाहारकोट र वडा–७ किमुगाउँमा भने झन्डै ५ वर्ष मुआब्जा विवादका कारण सडक निर्माण रोकिएको थियो । जसका कारण ढिलो गरी ४ वर्षअघि मात्र ट्र्याक खुलेको हो । अन्य खण्डमा निर्माणले तीव्रता पाए पनि दैलेख बजारदेखि चक्रतासम्मको १९ किमिमा काम अलपत्र छ ।

उक्त सडकमा कन्काई/मोतीदान जेभीले दुई खण्डमा काम गर्ने गरी ७० करोड रुपैयाँमा सडक स्तरोन्नतिको ठेक्का लिएको थियो । उसले दुवै खण्डमा झन्डै ३५ प्रतिशत मात्र काम गरेको इन्जिनियर मनीष सिंहले बताए । कम्पनीलाई छिटो काम सक्न चार पटकसम्म पत्र पठाए पनि बेवास्ता गरिरहेको उनको भनाइ छ ।

‘एक साताभित्र काम सुरु नगरे कारबाही सुरु गरिनेछ,’ उनले भने, ‘सडकमा नाली, टेवा पर्खाल, ग्राभेललगायत काम अलपत्र छन् ।’ कालोपत्रपूर्वका सबै काम अलपत्र रहेकाले सडक कालोपत्रमा ढिलाइ भइरहेको उनले बताए । अहिलेसम्म १ सय १८ कमि ग्राभेल गरिएको दैलेख खण्डमा यो वर्ष झन्डै ५० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको सिंहले जानकारी दिए ।

दैलेखकै लोहोरे–मनघर खण्डमा आधा किलोमिटर कालोपत्र गर्न बाँकी छ । लोहोरे–सुयडा, लोहोरे–चक्रतालगायत खण्डमा अन्य काम सकिएर कालोपत्र गर्ने तयारी गरिएको छ । यो वर्ष पाउडे खोलामा पक्की पुल बनाउन ठेक्का लागेको सिंहले बताए । लोकमार्गले जिल्लाका ६ वटा स्थानीय तहलाई छुन्छ ।

सडक निर्माणको कामले गति नलिएकामा स्थानीयवासी निराश छन् । लोकमार्ग निर्माणमा यो वर्ष कुनै उपलब्धिमूलक काम हुन नसकेको भैरवीका गणेश थापाले गुनासो गरे । काम भएका ठाउँमा पनि गुणस्तरमाथि प्रश्न उब्जिएको छ । ‘सधैं वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा यात्रा गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘सबैतिर ठेकेदारको लापरबाहीले जोखिमपूर्ण यात्रा गर्नुपर्ने सास्ती भयो ।’ सामान्य ग्राभेल गरेर र नालामात्र गराएर सडक अलपत्र छाडिँदा गाडीमा यात्रा गर्नै डर लाग्ने गरेको उनले सुनाए ।

लोकमार्गमा अहिलेसम्म ५ अर्ब रुपैयाँ खर्च भएको छ । यस वर्ष ५ वटा जिल्लाका लागि १ अर्ब ६० करोड रुपैयाँ विनियोजन भएकामा अहिलेसम्म २९ करोड रुपैयाँ मात्र खर्च भएको योजना कार्यालयले जनाएको छ ।

९ वर्षदेखि पुल निर्माण अलपत्र

लोकमार्गअन्तर्गत जाजरकोट खण्डमा दुई वटा पुल निर्माणको काम भइरहे पनि भेरी नदीमा कुदु–चौरजहारी जोड्ने पुल लामो समयदेखि अलपत्र छ । २०६९ सालमा वाईपी कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिए पनि ९ वर्षदेखि निर्माण कार्य सुस्त छ ।

कम्पनीले १४ करोड रुपैयाँमा ९८ मिटर लामो र साढे ६ मिटर चौडाइको पुल निर्माण गर्ने गरी ठेक्का लिएको थियो । कोरोना महामारीको निहुँ देखाउँदै कम्पनीले निर्माणमा लापरबाही गरिरहेको योजना प्रमुख बमले बताए । ‘ठेकेदारलाई पटकपटक काम सक्न ताकेता गरे पनि असारपछि उसले कुनै काम गरेको छैन,’ उनले भने, ‘अब पत्रिकामा सार्वजनिक सूचना निकालेर कारबाही अघि बढाउँछौं ।’ अहिलेसम्म फाउन्डेसनको काम सकेर जाजरकोटतर्फको २ मिटर पिलरमात्र ढलान भएको छ । पुलको करिब ३३ प्रतिशत काममात्र सकिएको छ ।

जाजरकोट खण्डकै थलाह खोलामा निर्माण भइरहेको पुलमा भने चैतभित्र काम सक्ने गरी काम भइरहेको छ । सपना/जय बागेश्वरी जेभीले जिम्मा लिएको ४० मिटर लम्बाइ र ११ मिटर चौडाइको उक्त पुलको काम झन्डै ७० प्रतिशत सकिएको छ । अब पुलको ढलान गर्नमात्र बाँकी छ ।

प्रकाशित : मंसिर १३, २०७८ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?