शारदा नगरपालिकाका वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु


सल्यान — शारदा नगरपालिका ९ सुनचौर का ८३ वर्षीय हर्कबहादुर बस्नेत वृद्धभत्ता लिनका लागि छोरा टेकबहादुर पनि सँगै लिएर जाने गर्थे । झन्डै दुई घन्टा हिँडेर जिल्लाको सदरमुकामस्थित मेघा बैंकमा आउनुपर्ने उनको बाध्यता थियो ।


बैंकमा भीडभाड हुँदा रकम लिनका लागि एक घन्टा बढी समय कुर्नुपर्थ्यो । घरसम्म पुग्ने सडक भए पनि नियमित गाडी नचल्दा र समयमै अटो नभेटिँदा घर फर्कन पनि सास्ती झेल्नु पर्थ्यो ।
शारदा नगरपालिका ८ मार्के बरगाँकी ६० वर्षीया अपांगता भएकी महिला कमला नेपालीको पनि समस्या उस्तै थियो । सडक भए पनि गाडी नचल्दा उनी बिहानै घरबाट हतार हातर निस्कने गर्थिन् । सदरमुकाम आउँदा २ घन्टाभन्दा बढी समय लाग्ने भएकाले उनलाई ठाउँठाउँमा सुस्ताउँदै आउनु पर्ने हुन्थ्यो । फर्कँदा रात पर्ने भएकाले कहिलेकाहीँ त उनी आफन्तकहाँ बास बस्ने गर्थिन् ।
शारदा नगरपालिकाका अरु अधिकांश जेष्ठ नागरिक र अशक्तहरू वडामै बैंक नभएर सदरमुकाम तथा श्रीनगर बजार जानु पर्दा विभिन्न सास्ती भोग्दै आएका थिए ।
घरबाट बैंकसम्म आउँदा करिब दुई घन्टा हिँड्नु पर्ने र भीडभाडका कारण बैंकमा लामो समय पालो कुर्नपर्ने बाध्यताको अहिले अन्त्य भएको छ । शारदा नगरपालिकाले वडाबाटै र अशक्तका लागि घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि यहाँका स्थानीयलाई सहज भएको छ ।
बैंकका कर्मचारी, वडाका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा वडाबाटै भत्ता पाउन थालेपछि अहिले नगरभित्रका अशक्त, अपांगता भएका र जेष्ठ नागरिकहरू सहज भएको बताउँछन् ।
यसअघि बैंकबाट भत्ता वितरण गरिएकोमा नवनिर्वाचित नगरप्रमुख प्रकाश भण्डारीले वडाबाटै भत्ता वितरण गर्ने व्यवस्था मिलाएका हुन् ।
शारदा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रकाश भण्डारीले अशक्त, अपांगता भएका नागरिक, जेष्ठ नागरिकलाई सास्ती भएको देखेपछि वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको बताए । उनले आगामी दिनमा टोल र घरघरमा गएर भत्ता वितरण गर्ने तयारी गरेको बताए । हाल यस नगरमा सामाजिक सुरक्षा भत्ता लिने ६ हजार १ सय ३० जना छन् ।
प्रकाशित : जेष्ठ १५, २०७९ १५:३२