
जुम्ला — जुम्लाको तातोपानी गाउँपालिका–४ गिडिखोलाको एक घरमा आगलागी भएको छ । आगलागीबाट लत्ताकपडाहरु, भाँडाकुडाहरु जलेर नष्ट भएका छन् । स्थानीयका अनुसार तातोपानी–४ का भरत नेपालीको घरमा बिहान ४ बजे देखि आगलागी भएको हो ।

गत साता भरतका भाइ मुकुन्दले गैरदलित समुदायकी केटी भगाएर घरमा लिएर आएका थिए । केटीका आफन्तहरुले नै घरमा आगो लगाएको आरोप नेपाली परिवारले लगाएका छन् ।
मुकुन्दले केटी ल्याएको चार दिनपछि घरमा आगो लागेको उनका माइला दाइ भरत नेपालीले बताएका छन् । 'भाइले अन्तारजातीय बिहे गर्नु र त्यसको चार दिनपछि आगो लाग्नु संयोग नभएर योजना हो,’ उनले भने, 'यो काम केटी पक्षका दाइले गराएको भनी किटानी दिने तयारी गरेका छौं ।'
तीन तलाको घर जलेर पूरै नष्ट भएको हाकु प्रहरी चौकीका इन्चार्ज राजेन्द्र गिरीले बताए । 'घर आगलागी भएको कुरा जिल्ला प्रहारी कार्यालयबाट आएपछि हामी यहाँ पुगेका हौं,’ उनले भने, 'क्षतिको विवरण निकाल्दैछौं । घटनाको अनुसन्धान भइरहेको छ ।'
दलित केटाले गैरदलित केटी भगाएको भन्दै घरमा आगजनी गरिएको भन्दै गाउँमा सर्वत्र विरोध हुन थालेको छ ।
प्रकाशित : असार १७, २०८० १२:२५