कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुम्लामा लागूऔषध नियन्त्रण अभियान

डीबी बुढा

जुम्ला — पछिल्लो समय लागूऔषध प्रयोग तथा ओसारपसारका घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय जुम्लाले यसको नियन्त्रणका लागि विशेष अभियान सुरु गरेको छ । अभियानमा स्थानीय तह, नागरिक समाज, राजीनितक दल, शिक्षक, बुद्धिजीवीहरु साथै विद्यार्थीहरूले ऐकवद्धता जनाएका छन् ।

जुम्लामा लागूऔषध नियन्त्रण अभियान

अभियान उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले लागूऔषध दुर्व्यसनीका क्रियाकलाप रोक्न सबै पक्ष जिम्मेवार भएर एकजुट हुनुपर्ने बताएका थिए ।

‘जुम्ला लागूऔषधको दलदलमा फसिसक्यो । अब सबै मिलेर लागूऔषध मुक्त जिल्ला बनाउने अभियानमा जुटौं । त्यसका लागि जिल्ला प्रहरी कार्यालय जुम्लाले थालेको यो अभियान नै काफी छ । मात्र साथ र सहयोगको खाचो छ,’ आचार्यले भने ।

'हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाली प्रहरी' मूल नाराका साथ शान्तिपूर्ण र सुरक्षित सामाजका लागि लागूऔषध नियन्त्रण विशेष अभियान सुरु भएको जिल्ला प्रहरीले जनाएको छ । शनिबार लागूऔषध विरुद्धको नाराजुलुस लगाउँदै बालमन्दिरदेखि सुरु भएको र्‍याली विजयनगर, बसपार्क हुँदै उद्योग बाणिज्य संघको हलमा पुगेर समापन गरिएको थियो ।


नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थीहरु नागरिक समाज, जनप्रतिनिधिहरु, शिक्षक र बुद्धिजीवीहरू र्‍यालीमा सहभागी थिए । जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांक अनुसार गत वैशाखदेखि हालसम्म १२ वटा लागूऔषधका मुद्दा दर्ता भइसकेका छन् । ६३ जना पक्राउ परिसकेकोमा ९ जना अझै फरार रहेको प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए ।

उनका अनुसार १८ वर्षदेखि ४० वर्षसम्मका व्यक्तिहरु लागूऔषध कारोबार र सेवनमा संलग्न छन् । स्थानीय तहहरुले कानुन कार्यविधि बनाएर लागूऔषध विरुद्धको अभियानमा साथ दिने प्रबितद्धता जनाएको डीएसपी प्रह्लाद कार्कीले जानकारी दिए । यसअघि चन्दननाथ ६ का जनप्रतिनिधिहरुले सबै घरका किशोरकिशोरीलाई एकै थलोमा ल्याएर लागूऔषध विरुद्धको सचेतना दिएका थिए ।

अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाले सादा पोशाकका प्रहरीहरु सम्भावित स्थानहरुमा परिचालन गरेको छ । डीएसपी कार्कीले भने, ‘लागूऔषधका कारोबारी र प्रयोगकर्ताहरु बढेका छन् । उनीहरुको खोजी गरेर लागूऔषध कुन माध्यमबाट भित्रिन्छ भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’


प्रकाशित : असार १६, २०८० १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?