कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

कोटवाडा विमानस्थल ३८ वर्षमा उद्घाटन

स्थानीय भन्छन्, ‘देख्न पाइयो, अब चढ्न पनि पाइएला कि ?’
सातामा एक उडान गर्ने पर्यटनमन्त्रीको प्रतिबद्धता
तुलाराम पाण्डे

कालीकोट — कोटवाडा विमानस्थल उद्घाटन हुने खबर सुनेर नरहरिनाथ-८ लालुका ८० वर्षीय गोर्खबहादुर विष्ट आइतबार नै घरबाट हिँडे । रहगाड पारि योगी नरहरिनाथको जन्मथलो लालु गाउँबाट वारिको लोखडा अर्थात् कोटवाडा पुग्न उनलाई ६ घण्टा पैदल लाग्यो ।

कोटवाडा विमानस्थल ३८ वर्षमा उद्घाटन

‘बुढेसकालमा हिड्न सकिदैन भनेर काही (कतै) जान्या (जाने) मन लाग्दैन छियो (थियो), चिलगाडी आउन्या सुन्यार (सुनेर) घर बस्न्या (बस्ने) मनै लागेन,’ स्थानीय लवजमा विष्टले भने, ‘लठ्ठी टेक्दै सकिनसकी आया (आए) ।’

०४२ देखि ०५५ सम्म कोटवाडाको पाखो खनेर भैंसीको छालामा माटो बोकेको सुनाउँदै उनले सोमबार १५ मिनेटको फरकमा कोटवाडाको चिहानमाथि २ वटा जहाज उडेको देख्दा सपना झै लागेको बताए । ‘सुइना (सपना) हो कि जस्तो लाग्याको छ,’ उनले भने । तन्नेरी अवस्थामा यहीको विमानस्थलमा पसिना बगाएका लालुका ८१ वर्षीय कपुरसिंह विष्ट, ७१ वर्षीय लहबीरे विष्ट, ७२ वर्षीय कुलबहादुर विष्ट पनि सोमबार बिछट्टै खुसी थिए ।

विमानस्थल खन्न सुरु भएदेखिनै ज्यालामजदुरीमा काम गरेका स्थानीय ८० वर्षीय लालबहादुर विष्टलाई एकै पटक दुई जहाज कोटवाडा पुग्दा सपना जस्तो लागेको छ । ‘मान्ठसँग डराउन्या जुग (मानिससँग डराउने समय) गयो,’ सशस्त्र द्वन्द्वमा माओवादी र राज्य दुवै पक्षबाट सास्ती पाएको सुनाउँदै उनले भने, ‘यस्तो दिन आउँला भन्ने कल्पनै थिएन । खुशी हरायाको हाम्मा गाउँ हासो फर्कियो ।’ सुरुमा प्रतिदिन ७ रुपैयाँमा मजदुरी गरेको सुनाउँदै उनले ०५८ मा संकटकालका बेला ठेकेदारले प्रतिदिन ३ सय ज्याला दिएको बताए ।

कहिले बजेट अभाव, कहिले सशस्त्र द्वन्द्व । शान्तिपछि पनि उपभोक्ता समितिको ठगीले कामले गति लिन नसकेको कोटवाडा विमानस्थलको धावनमार्गको काम सकिएपछि ०७३ माघ २७ गते तत्कालीन पर्यटनमन्त्री जीवनवहादुर शाहीले तारा एयरको जहाज ल्याएर परीक्षण उडान गरेका थिए । त्यतिबेला उनले विमानस्थल पक्की गर्ने प्रतिबद्धताअनुसार एक वर्षअघि कालोपत्रे भएपनि उद्घाटन हुन ढिलाई भएको थियो ।


मिति तोकिदै सर्दै गरेको उद्घाटन सोमबार भने विशेष समारोह बीच भएको थियो । विमानस्थल उद्घाटनमा नेपाल वायुसेवा निगमको जहाज चढेर आएका पर्यटनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्मकमल दाहालले आफै आउन नसके पनि नियमित उडानको लागि निर्देशन दिएको सुनाए । ‘निगमसँग जहाजनै कम छन् । हप्तामा एकपटक कालीकोट–सुर्खेत उडान गर्नेछौं,’ उनले भने । उनले दुर्गमका विमानस्थल संचालन गर्न निगमले जहाज खरिद गर्न लागेको पनि बताए ।

सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने प्रचार गरिए पनि कार्यब्यस्तता जनाउँदै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विमानस्थलको उद्घाटन गरे । उनले कालीकोटका स्थानीय तहलाई विमानस्थलसँगको सडक संजालमा जोड्नु पर्नेमा जोड दिँदै आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता गरे । उनले कालीकोट र कर्णालीको समृद्धिको लागि सबै दल मिलेर जानुपर्नेमा जोड दिँदै १०/१५ वर्षमा कर्णाली सातै प्रदेशभन्दा उन्नत र विकसित बनाइने आश्वासन दिए ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विमानस्थल नियमित संचालन गर्न संघीय सरकारले विशेष योजना ल्याउनु पर्ने बताए । उनले कालीकोट सदरमुकाम मान्मबाट कोटवाडा जोड्ने केबुलकारका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा ५ करोड बजेट विनियोजन गरेर कार्यान्वयनको क्रममा रहेको जानकारी दिए ।

कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पालामा केबुलकार निर्माणका लागि प्रदेशबाट वर्षेनी २० करोड विनियोजन गरे पनि डिपिआर नहुदा फ्रिज गएको सुनाए । कांग्रेस नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले जहाज दुर्गमका गरिबले चढ्ने यातायात भएको तर्क गर्दै हप्तौं लाग्ने बाटो भएको कर्णालीमा हवाई यातायात नभइ नहुने धारणा राखे ।


कर्णाली प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्टले कोटवाडा विमानस्थल धार्मिक तथा पर्यटकीय विमानस्थल बन्न सक्ने तर्क गर्दै यही विमानस्थलबाट अछामको रामारोशन, बाजुराको बडिमालिका, रास्कोट सिप्टी, पचालझरना, रारा र मानसरोवर जाने यात्रुका लागि पायक पर्ने बताए । विमानस्थल बन्नै झण्डै चार दशक लागे पनि निर्माण सकिए पनि नियमित उडान गर्न सकिए कालीकोटबासीका लागि सुखद हुने बताउँदै विमानस्थल भएको नरहरिनाथ गाउपालिकाका अध्यक्ष नगेन्द्रवहादुर विष्टले पालिकाले यात्रु खोज्ने, आवश्यक सहयोग र पहल गर्ने बाचा गरे ।

विमानस्थल उद्घाटन गर्नै ७ पटक मिति सरेको सुनाउँदै नागरिक समाजका अगुवा वीरेन्द्रबहादुर बुढाले विमानस्थलल पुग्ने भरपर्दो सडक संजालमै जोड दिए । विमानस्थल खन्ने र पिच गर्ने काम सकिए पनि जहाज आउने ठेगान नहुदा निराश भएका कालीकोटबासी एकै दिन दुई वटा जहाज आएपछि आशावादी भएको विमानस्थल शिलन्यास गर्ने तत्कालीन जिल्ला पञ्चायत सभापति दिपबहादुर शाहीले प्रतिक्रिया दिए ।

उनलाई विमानस्थल बनाउन योगदान गरेवापत सम्मान पनि गरिएको थियो । ‘हाम्रै पालामा जहाज चढ्ने भनेर एर्पोट खन्न थालेका हौं,’ राप्रपाका कर्णाली प्रदेश अध्यक्षसमेत रहेका शाहीले भने, ‘व्यवस्था फेरिएपछि ३८ वर्ष लाग्यो । देख्न पाइयो, सबैले चढ्न कहिले पाउने हुन् ? अझै ठेगान छैन ।’

सशस्त्र द्वन्द्वमा धादिङ जोगीमाराका १७ सहित ३५ जना मजदुर मारिएपछि अवरुद्ध भएको निर्माणको काम लोकतन्त्र आएपछि पुन सुरु भएको थियो । कोटवाडा विमानस्थल निर्माण आयोजना प्रमुखकोरुपमा काम गरेका इन्जिनियर रत्नबहादुर श्रेष्ठले निर्माणमा समय लागे पनि कर्णालीका अन्य जिल्लाको भन्दा लामो र फराकिलो रहेको दाबी गरे । उनकाअनुसार विमानस्थलको लम्बाई ६ सय ९० मिटिर र चौडाई ४० देखि ६० मिटर छ । विमानस्थल निर्माणमा हालसम्म १ अर्ब बढी खर्च भइसकेको छ ।


कर्णालीका अन्य चार जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पाबासीले जहाज चढ्न पाए पनि कालीकोटबासीको वर्षौ पुरानो जहाज चढ्ने धोको बल्ल पूरा भएको राष्ट्रियसभा सदस्य विष्णुवहादुर विकले बताए । यहीको विमानस्थललाई निर्माण र संचालनको बाचा गर्दै दलिय उम्मेदवारले चुनाबी नारा बनाउदै आएका थिए । विमानस्थल निर्माणपछि दलहरुबीच श्रेय लिने होड चलेको छ । त्यसमा कांग्रेस र माओवादी अगाडी देखिन्छन् ।

बहुदलीय ब्यवस्थापछिको स्व. गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ०४८ मा कोटवाडा विमानस्थलको काम पुनः सुरु गरे पनि ०५२ देखिको सशस्त्र युद्धले काम प्रभावित बन्न पुगेको थियो । द्वन्द्वका बेला विमानस्थल निर्माणको नाममा हवाई विभाग र ठेकेदारको मिलेमतोमा लाखौ रकम अनियमितता भएको ०७० को संविधा सभा सदस्य तुलाराज विष्टको आरोप छ ।

विष्टकाअनुसार विमानस्थल निर्माणको लागि ०३६ मा तत्कालीन हवाई विभागले कालीकोटका १३ ठाउमा सर्भे गरे पनि कोटवाडाको सुनथराली र सिप्खानाको सिप्टी विसाली गरी दुई ठाउँलाई मात्र रन वे पुग्ने सिफारिस गरेको थियो । त्यतिबेला हालको सदरमुकाम रहेको मान्मको खाडाचक्र, ताडी विगारेचाखा, दहवन, चौर, दाहाको मोल्फा, राताडाव, जुविथाको हरिचौर, चिल्खाया, कोटवाडाको सुनथराली, सिप्खानाको सिप्टी विसाली, स्युनाको बड्डाला, फूकोटको थोल्म र रकुको लुसा दगडमा सर्वे भएको थियो ।

‘सर्भे रिर्पोटमा उचित मानिएका दुवै ठाउँको ०४२ सम्म टुंगो लाग्न सकेन,’ संविधानसभा सदस्य विष्टले सुनाए, ‘०४२ को जिल्ला परिषद्ले मतदानद्वारा सुनथरालीलाई मान्यता दियो ।’ उनकाअनुसार सुनथरालीको पक्षमा ६८ र सिप्टी विसालीको पक्षमा ८ मत परेको थियो ।


त्यसैवर्ष जिल्ला पञ्चायतले १ लाख रुपैयाँ विनियोजन गरेर कोटवाडा विमानस्थल निर्माणको काम सुरु गरे पनि कोटवाडाप्रति असन्तुष्ट रहेका धर्मदत्त उपाध्यायको पक्षले रकम दुरुपयोग भएको र दुई सय रुख काटिएको भन्दै भ्रष्टाचार निवारण आयोग र जिल्ला वन कार्यालयमा मुद्दा दायर गरेपछि काम रोकिएको थियो । दुवै मुद्दा जिल्ला प्रशासनमा आए पनि कुनै निर्णय नभएर तामेलीमा राखिएको विष्टले सुनाए ।

उनकाअनुसार ०४३ को राष्ट्रिय पञ्चायतको चुनावमा पुनः धर्मदत्त विजयी बनेपछि उनले आफ्नै गाउँनजिकको सिप्टी विसालीमा विमानस्थल कायम गराउन पहल गरे । पुनः विवाद भएपछि पंचायत कालमा कामले गति लिन सकेन । ०४६ को राजनैतिक परिवर्तनपछि बनेको सरकारले पुन सर्भे गरेर काम सुरु गरेको थियो ।

भौगोलिक विकटता, न्यून रकम विनियोजन हुनु र स्थानीय बासिन्दामा अपनत्वको भावना नहुनुजस्ता समस्यासँगै ०५२ देखि सुरु भएको सशस्त्र द्वन्द्वले विमानस्थल निर्माण ढिलाई भएको स्थानीयको भनाई छ । दलका उपभोक्ता समिति बनाएर परम्परागत औजारले विमानस्थल खन्दा काममा ढिलाई भएको स्थानीय माओवादी नेता अग्रबहादुर विष्टको भनाई छ । उनले दलको तर्फबाट विमानस्थल नियमित संचालनको लागि उपप्रधान तथा रक्षामन्त्री खड्का र पर्यटन मन्त्री किरातीलाई ज्ञापन पत्र पनि बुझाए ।

प्रकाशित : फाल्गुन १४, २०८० २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×