३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सिमीमा समृद्धि खोज्दै जुम्ली किसान

डीबी बुढा

जुम्ला — जुम्ला तिला १ का महेन्द्रबहादुर बुढाको गुजारा सिमी खेतीबाटै चल्छ । उनी सिमी उब्जनी गरेर बर्सेनि न्यूनतम १० क्विन्टल बेच्छन् । प्रतिकेजी २ सय २० रुपैयाँले बेचे । १० क्विन्टल बेच्दा उनले २ लाख २० हजार रुपैयाँ कमाए । सिमीबाट कमाएको रुपैयाँले घरको आवश्यकता पूरा गरे । उनले भने, ‘सिमी खेतीको राम्रो सम्भावना बोकेको क्षेत्र हो । यहाँका किसानको विकास सिमी खेतीबाट नै हुन्छ ।’

सिमीमा समृद्धि खोज्दै जुम्ली किसान

सिमीको दाल जुम्लाको हरेक घरमा पाक्छ । गेडागुडी त खोजीखोजी खाने गर्छन् । सदरमुकाम खलंगाका झन्डै आधा दर्जन ठाउँमा ‘गेडा चाउचाउ’ पकाएर खुवाउँछन् । जुम्लामा पाइने गेडा चाउचाउ ब्रान्ड बनिसकेको छ ।

सिमीको उत्पादन निकै कम हुँदा मूल्य आकासिएको छ । कालिकोटका व्यापारी ग्रामीण बस्तीमा पुगेर सिमी खरिद गरेर लैजान्छन् । जुम्ली सिमी कर्णालीका जिल्लालगायत सुर्खेत,नेपालगन्ज, काठमाडौं, पोखरा, चितवन, बुटवलको बजारसम्म पुग्छ ।

केही किसान मिलेर सिमी संकलन गरेर बजारसम्म लैजाने गरेका छन् । केहीले राम्रो मूल्य पाएको खण्डमा घरमै बेच्छन् । महेन्द्रले भने, ‘अहिले सिमी र यार्साको मूल्य उस्तै उस्तै लाग्न थालिसक्यो । यार्सा टिप्न पाटन जानुभन्दा घरमै बसेर मनग्गे सिमी उत्पादन गर्नुमा नै बढी फाइदा छ ।’

पछिल्लो समयमा सिमीको माग नेपाली बजारमा बढेको छ । सिमी उत्पादन धेरै हुँदा १६० रुपैयाँ प्रतिकेजीमा बिक्ने जुम्ली सिमी अहिले २२० सम्म पुगेको छ । सिमीले मूल्य पाउन थालेपछि बाँझो बारी सबैतिर सिमी छर्न थालिएको छ । किसानको सिमीप्रतिको लगाव देखेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई जुम्लाले यस क्षेत्रलाई सिमी जोनका रुपमा अघि बढाएको छ ।

सिमी खेती गर्ने किसानका लागि प्रतिकेजी सिमीमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । सिमी खेती प्रविधि, सिमी खेतीबाट हुने फाइदा र सिमी खेती गर्ने तरिका र सिमीको मूल्य तोक्नेलगायत विषयमा सजग गर्न थालिएको स्याउ सुपरजोन जुम्लाका कार्यालय प्रमुख गंगाकुमारी पोखरेलले जानकारी दिइन् ।

उनका अनुसार तिला १ र २ मा सिमी जोन कार्यक्रम सुरु भएको छ । व्यावसायिक रुपमा सिमी खेती गरेर किसानलाई आर्थिक रुपमा आत्मनिर्भर बनाएर जनजीवन सहज बनाउन लागि परेको उनले बताइन् ।

सिमी जोन क्षेत्रमा रातो, कालो, सेतो, गाढा रातो, छिप्रे, रातोसेतो, कालोसेता भएको सिमी उत्पादन हुन्छ । तर किसान स्थानीय जातको सिमी नै मन पराउँछन् । स्थानीय जातको सिमी तौल बढी भएको,उत्पादन धेरै दिने,स्वादिलो र पोषणको मात्रा पनि निकै बढि भएकाले किसानको रोजाइमा स्थानीय जातको सिमी परेको छ ।

स्याउ सुपरजोन कार्यालयले सिमी किसानलाई एकै ठाउँमा बोलाएर सिमीको मूल्य निर्धारणको काम गरेको छ । पहिलो पटक किसान आफैंले सिमीको मूल्य तोकेका छन् । गाढा रातो सिमी प्रतिकेजी १८० र अन्य सबैप्रकारको सिमी प्रतिकेजी २ सय रुपैयाँ मूल्य तोकिएको हो ।

सिमीमा लाग्ने रोगकिराको प्रकोपदेखि सिमी खेतीको प्रभावकारिताबारे समेत किसानलाई सहजीकरण गर्दै आइराखेको प्रमुख पोखरेल बताउँछिन् । अहिले जुम्ली सिमी सदरमुकाम खलंगामा खोलिएका हरेक कोसेली घरमा पाइन्छ । जुम्लामा सिमी खरिद गर्न आन्तरिक तथा बाह्य पर्यटकको भिड नै देखिन्छ ।

जुम्ला तिला १ मा सिमी जोन समन्वय समिति बनेको छ । समितिले सिमीको उत्पादन, बजारीकरण, मूल्य निर्धारण र रोगकिराको प्रकोप, समाधानका उपायबारे छलफल चलाउँछ । सुपरजोनका कार्यालय प्रमुख पोखरेलले सिमीमा किसानलाई आत्मनिर्भर बनाएर आयआर्जनका क्रियाकलापमा संलग्न गराउने लक्ष्य रहेको बताइन् ।

जुम्लाको एक नगरपालिकासहित ७ गाउँमा सिमी धेरै फल्छ । एक घरमा न्यूनतम ३ क्विन्टलदेखि २० क्विन्टलसम्म उत्पादन हुने गरेको छ । मौसममा किसानले एक बोरा सिमी दिएर दुई बोरा चामल साट्छन् । जुम्लामा सिमीको राम्रो सम्भावना छ । आर्थिक समृद्धिको बलियो आधार पनि सिमी नै हो ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार २१ हेक्टरमा सिमी खेती हुन्छ । प्रतिहेक्टर २ मेट्रिकटन सिमी उत्पादन हुन्छ । जुम्ली सिमी नेपालका सबै बजारसम्म पुग्छ । विदेशी बजारसम्म पुग्न सकिएको छैन । स्थानीय जातको कालो सिमीको उत्पादन धेरै हुन्छ । बर्सेनि ४ हजार मेट्रिकटन सिमी उत्पादन भएकोमा ३ हजार मेट्रिकटन सिमी जिल्ला बाहिर निर्यात हुने गरेको छ ।

जुम्लाको सिमी बाली उच्च मूल्यको बाली हो । कम खर्चमा धेरै उत्पादन गर्न सकिने बाली भएकाले किसान आकर्षित गर्न सकिने आधार छन् ।

प्रकाशित : जेष्ठ १७, २०७९ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?